निजामती ऐन जारी गर्न मागसहित कर्मचारीहरु सिंहदरबार नछिर्ने, गठबन्धन निकटकाले हात झिके – Nepal Press

निजामती ऐन जारी गर्न मागसहित कर्मचारीहरु सिंहदरबार नछिर्ने, गठबन्धन निकटकाले हात झिके

काठमाडौं । संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै नेपाल निजामती कर्मचारी संगठनले सिंहदरबार प्रवेशमा रोक लगाएको छ ।

वैशाख १९ बाट जारी आन्दोलन अन्तर्गत  संगठनमा आबद्ध कर्मचारीहरू आज सिंहदरबार नछिर्ने भएका हुन् ।

यसअघि नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, मधेशी निजामती कर्मचारीले संयुक्त रूपमा प्रवेश नगर्ने बताएपनि अन्तिममा अरु संगठनले हात झिकेको संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले बताए ।

गठबन्धन दलमा आबद्ध संगगठनहरुले आजका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

यसैबीच नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी संघका सचिव झविन्द्र पोखरेलले विधेयकमा के-के विषय छन् भन्ने आधिकारिक रुपमा नआएको र सरकारले उच्चस्तरीय वार्ता टोली गठन गरेका कारण तत्काललाई आन्दोलनका कार्यक्रम स्थगित भएको बताए । उनले आफूहरूको माग र अडान भने यथावत रहेको जानकारी दिए ।

यसअघि वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो ।

वैशाख २० गते बुधबार पनि प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन, कानून न्याय तथा संसदीय मामिलासहित अर्थ मन्त्री, राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई देश भरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइसकिएको उनले बताए ।

तस्बिरहरु : उमेश कार्की

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *