गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : पृथ्वीसुब्बा गुरुङ – Nepal Press

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : पृथ्वीसुब्बा गुरुङ

रुपन्देही । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेताभन्दा नीति प्रधान भएको बताएका छन् ।

रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपाल लुम्बिनीको आयोजना र प्रेस चौतारी नेपाल रुपन्देही शाखाको संयोजनमा भएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन तालिमलाई सम्बोधन गर्दै उनले नीति भन्दा नेता ठूलो मान्ने प्रवृत्ति हावी भइरहेकोप्रति इंगित गर्दै नेता प्रधान नभइ नीति प्रधान भएको बताएका हुन् ।

नेकपा एमालेले मिसन ग्रासरुट अभियानको उदेश्यभित्र पनि नीतिलाई प्रधान मानेर अभिमुखीकरण गरिएको उनले बताए । यस्तै उनले संख्याभन्दा ठूलो बिचार भएको बताए । ‘नेता प्रधान होइन, नीति प्रधान हो’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको बिरोधी हाम्रा वर्ग दुस्मन हुन् ।’

यस्तै उपमहासचिव गुरुङले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताए । ‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो’, उनले भने, ‘हाम्रोविरुद्ध पूँजीवादी मिडियाले गलत बिम्ब खडा गरेका छन् । यो बिम्ब तोड्न सबै लाग्नुपर्छ ।’

एमाले र एमाले नेतृत्वको विरुद्धमा गलत बिम्ब बनाउने काम भएको भन्दै त्यो बिम्ब तोड्न पार्टीपंक्तिले भूमिका खेल्नुपर्ने धारणा राखे । यस्तै, उनले पार्टीका नेताहरुको आचरण र व्यवहार भने सच्चिनुपर्ने बताए ।

विचार निर्माणमा पार्टीले ध्यान दिएको जानकारी दिए । ‘पार्टीले नवौं महाधिवेशनपछि र नेकपा हुँदा विचार निर्माणको अवस्था शून्यतामा पुग्यो । हामीले पार्टीलाई नयाँ जीवन दिन बिचार निर्माण गर्ने अभियान थाल्यौं’, उनले भने, ‘पार्टीको राजनितीक कार्यदिशा र कार्यनीति के हो ? नयाँ पुस्तासम्म पु¥याउन सक्नुपर्ने छ ।’

जनताको बहुदलीय जनवाद नै उपयुक्त सिद्धान्त भएको चर्चा गर्दै उनले त्यसैको जगमा मुलुक अघि बढेको उनले बताए । कम्युनिस्ट पार्टी जनताको विचमा रहेको भन्दै पुरानो शैली र व्यवहार छाडेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने गुरूङको भनाइ छ ।

प्रेस चौतारी लुम्बिनीका अध्यक्ष शोभाकर पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेशभित्रका जिल्ला शाखाका पदाधिकारी यो राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन तालिमा सहभागी भएका थिए ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारको क्षमता अभिवृद्धिमा ध्यान दिइएको र देशभर प्रशिक्षण अभियान थालिएको जानकारी दिए ।

कार्यक्रममा चौतारीका उपाध्यक्ष राजेश राइले प्रशिक्षण दिएका थिए । प्रेस चौतारी रुपन्देही जिल्लाका अध्यक्ष लक्ष्मण पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव निरु गौतमले गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर