मुस्तफासँगको ‘टसल’बारे आसिफ शेख भन्छन्- क्रिकेटमा यस्तो सामान्य हाे, जे भयाे सकियाे – Nepal Press

मुस्तफासँगको ‘टसल’बारे आसिफ शेख भन्छन्- क्रिकेटमा यस्तो सामान्य हाे, जे भयाे सकियाे

‘हिजो उसले मलाई नराम्रो गाली दियो, तर बाहिर राम्रो मान्छे हो’

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत हिजो भएको प्रतिस्पर्धात्मक फाइनल खेल जति रोमाञ्चक थियो, उति तनावपूर्ण पनि । यूएईले दिएको झिनो लक्ष्य पछ्याउने नेपाल सुरुमै लड्खडाएपछि खेलमा रौनक आएको थियो ।

यस्ता तनावपूर्ण खेलमा दुई पक्षका खेलाडीहरुले एक-अर्कामाथि हावी हुन अनेक उपाय लगाउँछन् । राम्रो खेलेर मात्रै नपुगेपछि विपक्षी खेलाडीहरुलाई हियाउने, अपमानित गर्ने र गालीगलौजसमेत गर्न बाँकी राख्दैनन् । कहिलेकाहीँ त हात हालाहाल समेत हुन्छ । यस्ता हर्कतलाई ‘स्लेजिङ’ भन्ने गरिन्छ ।

हिजोको फाइनलमा पनि नेपाल र यूएईका दुई खेलाडीहरु स्लेजिङमा उत्रिए । नेपालका ओपनिङ ब्याट्सम्यान आसिफ शेख र यूएईका अलराउन्डर रोहन मुस्तफाबीच दुईपटक टकराव भएको थियो, एउटा खेलका दौरान र अर्को खेलपछि टिम ह्यान्डसेकका क्रममा ।

आसिफ नेपालका भलाद्मी क्रिकेटरका रुपमा चिनिन्छन् । उनले हालैमात्र आइसीसीबाट स्पिरिट अफ क्रिकेटको अवार्डसमेत जितेका थिए । अर्कोतर्फ मुस्तफा भने अन फिल्डमा सँधै विपक्षी खेलाडीहरुसँग लफडा गरिरहन्छन् । यसअघि विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालका सन्दीप लामिछानेसँग उनको नोकझोक भएको थियो । यसपाली आसिफमाथि उनी खनिए ।

टेलिभिजनमा मैदानको सबै दृष्य देखिए पनि खेलाडीहरुले बोलेको अवाज नसुनिने भएकाले उनीहरुबीच के कुरामा विवाद भएको थियो भन्ने स्पष्ट हुन सकेन । यस विषयमा आज हामीले आसिफलाई नै सोध्यौं । आखिर उनीहरुबीच विवादको कारण के थियो ?

आसिफले ठूलो कुरा केही नभएको बताए । क्रिकेटमा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिनुपर्ने उनको भनाइ छ ।
‘त्यो बेला स्लेजिङहरु भइरहेको थियो । उसले मलाई नराम्रो गाली दियो । त्यसले गर्दा अलिकति डिस्कसन भएको हो । क्रिकेटमा यस्तो भइराख्छ । पार्ट अफ क्रिकेटकै रुपमा लिनुपर्छ,’ उनले भने ।

आसिफ यस्तो घटनाले खेलाडीहरुसँगको सम्वन्धमा दिगो असर नपार्ने बताउँछन् । उनले मैदानबाहिर मुस्तफा राम्रो मान्छे भएको बताए ।

‘उसँग मेरो राम्रो सम्वन्ध छ । मैदानमा जस्तो भए पनि बाहिर उ राम्रो मान्छे हो । हिजो जे भयो, त्यो सकियो । अहिले सबै ठीक भइसक्यो,’ आसिफले थपे ।

यूएईका खेलाडीहरुमा बढी आक्रामकता रहेको उनले स्वीकारे ।

‘उनीहरु त्यसरी नै खेल्छन् क्रिकेट । उनीहरुको वे अफ क्रिकेट त्यही नै हो । त्यसमा पनि मुस्तफाको एग्रेसन अरुको भन्दा बढी नै छ । ग्राउन्डमै त्यो देखिन्छ । तर, अफ द फिल्ड झगडालु मान्छे होइन । हाम्रो कुराकानी भइरहेको हुन्छ ।’

नेपालले फाइनल जितेसँगै दाजु आरिफसँगै आसिफ वीरगञ्जस्थित आफ्नो घर पुगेका छन् । दुई साता घरमा आराम गरेर काठमाडौं फर्किने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर