तीनदिने विशेष कार्यक्रमसहित बुद्ध जयन्तीको तयारी, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरु आउँदै (भिडिओ) – Nepal Press

तीनदिने विशेष कार्यक्रमसहित बुद्ध जयन्तीको तयारी, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिहरु आउँदै (भिडिओ)

रुपन्देही । २५६७ औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ । लुम्बिनी विकास कोषले तीन दिनको विशेष कार्यक्रम गरेर बुद्ध जयन्तीको तयारी गरेको जनाएको छ ।

वैशाख २२ गते अर्थात बुद्ध पुर्णिमाका दिन आयोजना हुने मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रम तय भएको छ ।

निर्धारित कार्यक्रम अनुसार २१ गते साँझ मायादेबी मन्दिरमा दिप प्रज्वलनसहित महापरित्राण हुनेछ भने बैशाख २२ गते बिहान ६ बजे पूर्णिमा पाठ पुजा, ७ बजे ५ नम्बर गेटबाट अन्तर्राष्ट्रिय सभा हलसम्म शोभा यात्रा र सम्मेलन केन्द्रमा मूल समारोह हुने छ ।

मूल समारोहलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् । २२ गते मध्यान्ह कोषको तर्फबाट भोजन दानको कार्यक्रम राखिएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहका साथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल ब्यवस्थापन समिति र विभिन्न उप-समितिहरु गठन गरी तयारी गरेको जानकारी दिए ।

उनले समारोहमा सहभागी हुन विभिन्न देशका राजदूतहरुलाई आमन्त्रण गरिएको जनाउँदै बिहीबारसम्ममा कार्यक्रममा सहभागी हुने राष्ट्रका राजदूतहरुको नाम आउने बताए ।

उनले बुद्ध पुर्णिमाकै दिनबाट लुम्बिनी परिषरभित्र हर्न निषेध योजना कार्यान्वयन गरिने बताउँदै लुम्बिनी परिषर प्रवेश पछि सबै सवारीले हर्न बजाउन नपाउने गरि निर्णय भएको जानकारी दिए ।

त्यसैगरि समारोह समापनलगत्तै सांस्कृतिक कार्यक्रम, सांस्कृतिक संस्थानबाट बुद्ध जीवनीमा आधारित पटाचार तथा स्थानीय भेषभूषामा साँसकृतिक कार्यक्रम हुने कोषले जनाएको छ ।

वैशाख २२ गते नै पण्डितपुरबाट रामग्रामसम्म अस्थिधातु यात्रा हुने कोषको सदस्य सचिव सानुराजा शाक्यले बताए । २१ गतेको दिप प्रज्वलन र पाठमा लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेतृत्व गर्नेछन् भने २२ गतेको अस्थिधातु यात्राको नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला श्रीपालीले गर्ने कार्यक्रम तय भएको शाक्यले बताए ।

शाक्यका अनुसार २३ गते तिलौराकोटमा हुने मायादेबी शोभायात्राको नेतृत्व कृषि तथा पशुपंछी विकास मन्त्री बेदुराम भुसालले गर्नेछन् । बोधिसत्व सिद्धार्थलाई तिलौराकोट भित्राउँदै गरेको प्रतिक स्वरुप मायादेबी शोभायात्र गरिने सदस्य सचिव शाक्यले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *