अर्घाखाँचीबाट काठमाडौं फर्किँदै रायमाझी, प्रहरीले समन्वय नगरेको गुनासो – Nepal Press

अर्घाखाँचीबाट काठमाडौं फर्किँदै रायमाझी, प्रहरीले समन्वय नगरेको गुनासो

‘चेक राखेर झोलामा राखे कि के गरे थाहा भएन, छोराले लिएको छैन’

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेपछि पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझी अर्घाखाँचीबाट काठमाडौं फर्किँदै छन् । गृहजिल्ला अर्घाखाँचीको एक विद्यालयको हिरक महोत्सवमा उनी विशेष अतिथिका रुपमा सहभागी भएका थिए ।

काठमाडौं फर्कने क्रममा नेपाल प्रेसको सम्पर्कमा आएका रायमाझीले आफूलाई प्रहरीले अहिलेसम्म कुनै पनि सोधपुछ र समन्वय नगरेको बताए । पक्राउ पूर्जी जारी भएको आफूले सुने पनि आधिकारिक जानकारी कतैबाट नआएको उनको भनाइ छ ।

‘कसरी र किन पक्राउ पूर्जी जारी भयो भन्ने मलाई पनि थाहा छैन’, उनले भने, ‘काठमाडौं फर्किँदैछु, प्रहरीसँग बुझ्ने प्रयास पनि गर्दैछु ।’

नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि लागेको थियो । उनको छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ । सांसद रायमाझी भने यो काण्डमा आफूहरु निर्दोष रहेको बताउँछन् ।

‘चार वर्षअघि चेक काटिएको भनेर आएको छ । नाम हेर्दा मेरै छोराको छ । तर, त्यस्तो कुनै चेक साट्नु त परै जाओस्, उसले लिएको समेत छैन । साटेको भए छापसाप हुनुपर्ने हो । छोराका नाममा चेक काटेर झोलामा राखे कि कता के गरे हामीलाई थाहा हुने कुरा भएन । चेक काट्ने व्यक्तिलाई मेरो छोराले त चिन्ता पनि चिन्दैन’, उनले भने ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका प्रमुख व्यक्तिसँग रायमाझीको घुमघामको तस्वीरसमेत सार्वजनिक भएको थियो । उनले यसलाई स्वीकार गरेका छन् ।

‘तस्वीरमा भएका केही व्यक्तिहरु मेरो चिनजानका हुन् । त्यो घुम्न जाँदाखेरिको फोटो हो । साथीभाइसँग चियापानी, घुमघाम त भइ नै हाल्छ । तर, को मान्छेले कस्तो हो, के काम गर्छ भन्ने सबै त कसरी थाहा हुन्छ ?’, उनले प्रश्न गरे ।

तपाईंविरुद्ध आएको समाचार गलत थियो भने किन खण्डन गर्ने वा कानूनी प्रक्रियामा जाने काम गर्नुभएन त ? भन्ने नेपाल प्रेसको प्रश्नमा रायमाझीले जवाफ दिए, ‘फेक समाचारको पछि लागेर साध्यै हुँदैन । खण्डन गर्ने, मानहानीमा जाने भनेको यसलाई अझै तन्काउने हो भनेर चुप बसेको थिएँ । अहिले एकाएक पक्राउ पूर्जीको कुरा सुन्दा अचम्ममा परेको छु ।’

के आफूविरुद्ध कुनै राजनीतिक षडयन्त्रको महसुस गर्नुभएको छ ? भन्ने प्रश्नमा उनले यसबारे केही थाहा नभएको बताए ।
उनले भुटानी शरणार्थीको समस्या हल गर्नुपर्छ भनेर भन्दै आए पनि नक्कली भुटानी बनाएर नेपालीलाई विदेश पठाउने कुराको कहिल्यै समर्थन नगरेको उल्लेख गरे । प्रहरीले आफूसँग कुनै समन्वय नगरी एकाएक पक्राउ पूर्जि लिएकोमा उनको गूनासो छ ।

‘पक्राउ पूर्जी आएको भनिएको छ । आधिकारिक हो कि अनाधिकारिक हो थाहा छैन । समाचार पनि हेर्न पाएको छैन । संसदजस्तो मान्छेलाई… फोन गरेर बोलाएको भए गएर आफ्नो कुरा राखिहाल्थेँ,’ उनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर