विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघद्वारा विविध कार्यक्रम – Nepal Press

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकार महासंघद्वारा विविध कार्यक्रम

काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गर्दै नेपालमा पनि मनाइएको छ ।

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेअनुसार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउँदै आइएको छ ।

नेपाल पत्रकार महासंघले प्रभातफेरी आयोजना गर्‍यो । सञ्चार ग्राममा आयोजना गरेको कार्यक्रममा पत्रकार स्तम्भमा माल्यार्पण गरिएको छ । सञ्चारमन्त्री रेखा शर्मा पनि कार्यक्रममा उपस्थित थिइन् ।

प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरिएको छ । कार्यक्रमा महासंघका अध्यक्ष विपुल पोखरेलले प्रेसलाई आक्रमण गर्ने र आफ्नो अनुकूल बनाउने प्रवृत्ति जारी रहेकाले प्रेस जगत सुरक्षित छ भन्ने अवस्था नरहेको बताए । प्रेस जगतमाथि आक्रमण गर्नेलाई कानूनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा महासंघ रहेको उनको भनाई थियो ।

विभिन्न चुनौतीबीच निरन्तर नागरिकलाई सूचना प्रवाह गर्ने, राज्यलाई खबरदारी गर्ने आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता निरन्तर लागिपरिरहेको अवस्था रहेको पोखरेलले बताए ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले कुनैपनि बहानामा प्रेसमाथि अंकुश लगाउन नहुने बताए । प्रेस जगतले निष्पक्ष, स्वतन्त्र र मर्यादित भई घृणायुक्त अभिव्यक्तिबाट पृथक भएर काम गर्नुपर्ने उनको भनाई थियो ।

यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ ।

तस्बिरहरू : रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *