यूएईको आक्रमण स्पिनमा केन्द्रित, टीममा छन् पाँच स्पिनर – Nepal Press

यूएईको आक्रमण स्पिनमा केन्द्रित, टीममा छन् पाँच स्पिनर

खराब कन्डिसनमा नेपाली ब्याट्सम्यानको संघर्ष, गुल्शन झाको काउन्टर अट्याक

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनलमा नेपाललाई ११८ रनको झिनो लक्ष्य दिएको यूएईले आफ्नो बलिङ आक्रमण स्पिनरमा केन्द्रित गरेको छ । यूएईका स्पिनरविरुद्ध नेपाली ब्याट्सम्यानहरु कठिन संघर्ष गरिरहेका छन् ।

खराब ब्याटिङ कन्डिसनको फाइदा उठाउँदै यूएईका स्पिनरले सस्तैमा नेपालका सुरुवाती तीन विकेट चट्काए । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखसहित कप्तान रोहित पौडेल सिंगल डिजिट स्कोरमै आउट भएपछि नेपाल दबाबमा आएको छ । अहिले क्रिजमा दुई युवा ब्याट्सम्यान गुल्शन झा र भीम सार्कीले नेपालको इनिङ अगाडि बढाउने प्रयास गरिरहेका छन् ।

यूएईले सुरुबाटै स्पिनरलाई उतारेको थियो । अयान फैजल खान र रोहन मुस्तफाले यूएईको बलिङ सुरु गरेका थिए । दोस्रो ओभरमै मुस्तफाले कुशल भुर्तेललाई एलबीडब्लु धरापमा पारे । उनले एक रन मात्रै जोडेका थिए । छैटौं ओभरमा आसिफ शेख ८ रनमा आउट भए भने कप्तान पौडेल पनि एक रन जोडेर पेभिलियन फर्किएका छन् ।

अहिलेसम्म यूएईले खान र मुस्तफासहित बसिल हमिदलाई बलिङमा उतारेको छ । टीमसँग स्पिन बलिङ गर्न सक्ने थप दुई खेलाडी कार्थिक मेइयाप्पन र आर्यन लाक्रा रहेका छन् । फास्ट बलरका रूपमा जाहूर खान र जुनैद सिद्दकी रहेका छन् । उनीहरूलाई अहिलेसम्म बलिङमा ल्याइएको छैन ।

नेपालले आज तेस्रो नम्बरमा ब्याटिङ गर्न अलराउन्डर गुल्शन झालाई पठाएको छ । यो प्रयोग अहिलेसम्म सफल देखिएको छ । झाले काउन्टर अट्याक गर्दै ३ छक्का प्रहार गरिसकेका छन् । उनी २९ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर