भारतको अर्घेल्याइँले एसिया कपमाथि संशय, बीसीसीआईले पाँच देशको अर्कै टुर्नामेन्ट गर्ने दाबी – Nepal Press

भारतको अर्घेल्याइँले एसिया कपमाथि संशय, बीसीसीआईले पाँच देशको अर्कै टुर्नामेन्ट गर्ने दाबी

एसीसी बन्यो बीसीसीआईको पिछलग्गु

काठमाडौं । नेपाली क्रिकेट टीम यस वर्षको एसिया कपमा आफ्नो स्थान सुरक्षित बनाउने संघारमा पुगेको छ । भोलि यूएईलाई हराएको खण्डमा वा म्याच रद्द भएको खण्डमा नेपाल दोस्रोपटक यो प्रतियोगिताका लागि छनोट हुनेछ । तर, पाकिस्तानमा हुने भनिएको एसिया कपका बारेमा अनिश्चितताहरु बढिरहेका छन् ।

सेड्युलअनुसार एसिया कपको १६ औं संस्करण आगामी सेप्टेम्बरको सुरुमा पाकिस्तानमा आयोजना हुनुपर्ने हो । तर, क्रिकेटको प्रभुत्वशाली राष्ट्र भारतले खेलमा राजनीति घुसाएर पाकिस्तानमा आफ्ना खेलाडी नपठाउने भन्दै खोचे थापिरहेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले पाकिस्तानमा एसिया कप खेल्न जान आफ्नो टीमलाई अनुमति दिएको छैन ।

बीसीसीआईले दुई देशबीचको खराब सम्बन्ध तथा त्यहाँको कमजोर सुरक्षाको बहानामा आफ्नो क्रिकेट टीम पाकिस्तान पठाउन नमानेको हो । भारतको यस्तो नाजायज अडानप्रति एसियाली क्रिकेट काउन्सिल (एसीसी) लाचार देखिएको छ । एसीसीको तटस्थतामा प्रश्नचिन्हहरु उठिरहेका छन् । अरु देशले यदि यस्तो अडान लिएको अवस्थामा एसीसीले कारबाहीसमेत गर्थ्यो । तर, भारतलाई उसले कारबाही होइन, उल्टै पक्षपोषण गरिरहेको छ ।

त्यसो त एसीसी नै एकप्रकारले भारतीय नियन्त्रणमा छ । एसीसीका अध्यक्ष जय साह भारतीय क्रिकेट बोर्डका सचिवसमेत हुन् । उनी बहालवाला भारतीय गृहमन्त्री अमित साहका आफ्नै छोरा हुन् । एउटा देशको क्रिकेट बोर्डमा जिम्मेवार पदमा रहेका व्यक्ति एसीसी जस्तो तटस्थ निकायको नेतृत्वमै रहेका छन् ।

भारतीय क्रिकेट बोर्डले पाकिस्तानबाट एसिया कप अन्यत्र नसारिएको खण्डमा भागै नलिने बताएको छ । भारतको सहभागिताविना एसिया कप आयोजना गर्ने ल्याकत एसीसीसँग छैन । बरु उसले प्रतियोगिता पाकिस्तानबाट स्थानान्तरण गर्ने उपायहरु खोजिरहेको छ । पाकिस्तानको क्रिकेट बोर्ड भने प्रतियोगिता आफ्नै देशमा हुनुपर्ने अडानमा छ ।

पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले मध्यमार्गी उपायका रुपमा ‘हाइब्रिड मोडल’ प्रस्ताव गरेका थिए । भारतले खेल्ने म्याचहरु कुनै ‘न्यूट्रल भेन्यू’ मा गर्ने र अन्य खेलहरु पाकिस्तानमै गर्ने उनको प्रस्ताव थियो । एसीसीका अध्यक्ष साहले सुरुमा सो प्रस्तावमाथि रुचि देखाएका थिए । तर, भारत फर्किएपछि उनको भाका फेरियो । उनले पाकिस्तानको प्रस्तावमा असहमति जनाएका छन् ।

एसीसीले अहिले अन्य एसियाली राष्ट्रहरुलाई पाकिस्तानको अडानविरुद्ध उचाल्ने रणनीति बनाएको छ । दुई साताअघि साहले एसिया कपका लागि स्थान टुंगो लगाउन अन्य सहभागी राष्ट्रहरुबाट ‘इनपुट’ को प्रतीक्षा गरिरहेको बताएका थिए । त्यसपछि श्रीलंका र बंगलादेशले पाकिस्तानलाई एसिया कप अन्यत्र सार्न मनाउने प्रयास गरे । तर, पाकिस्तान मानेन । अहिले श्रीलंका र यूएईका क्रिकेट बोर्डले आआफ्ना देशमा एसिया कप आयोजना गर्न इच्छा व्यक्त गरेका छन् ।

पाकिस्तानी बोर्डले भने यदि भारतले आफ्नो देशमा आएर एसिया कप नखेलेको खण्डमा २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा पनि समस्या उत्पन्न हुन सक्ने भनेर चिन्ता व्यक्त गरेको छ । साथै भारतीय टीम पाकिस्तान नआउने हो भने आफ्नो टीम पनि यसै वर्षको अक्टोबरमा एकदिवसीय विश्वकप खेल्न भारत नजाने बोर्डको अडान छ । तर, बीसीसीआई टसमस भएको छैन ।

क्रिकेट पाकिस्तान डटकमले स्रोतको हवाला दिँदै यदि हाइब्रिड मोडलको अडानबाट पाकिस्तान पछि नहटेको खण्डमा एसिया कप यस वर्ष आयोजना हुन नसक्ने समाचार प्रकाशित गरेको छ ।

यसैबीच भारतीय क्रिकेट बोर्डले एसिया कपको ठाउँमा अर्को प्रतियोगिता गर्ने योजना बनाइरहेको समाचार केही अनलाइनहरुमा आउन थालेका छन् । एसिया कप हुने भनिएकै समय पारेर आफ्नै देशमा पाँच देशको प्रतियोगिता गर्ने तयारी बीसीसीआईले गरेको समाचारमा जनाइएको छ । मूलधारका सञ्चारमाध्यममा भने यो समाचार प्रकाशित भएको पाइँदैन । पाँच देशको प्रतियोगितामा कुन कुन देश रहने भन्ने पनि कतै उल्लेख भएको छैन ।

प्रत्येक दुई वर्षमा हुने एसिया कपमा ६ राष्ट्र सहभागी हुन्छन् । आईसीसीका फुल मेम्बरहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसहित थप एउटा एसोसियट राष्ट्रले एसिया कपमा भाग लिन पाउँछन् । नेपालमा भोलि हुने फाइनलबाट यूएई र नेपालमध्ये कसले स्थान बनाउने भन्ने टुंगो लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर