पूर्वगृहमन्त्री खाणकाे वडामा विद्युत आगलागी हुँदा स्थानीय आंतकित, सिंगो गाउँ र विद्यालय जोखिममा (भिडिओ) – Nepal Press

पूर्वगृहमन्त्री खाणकाे वडामा विद्युत आगलागी हुँदा स्थानीय आंतकित, सिंगो गाउँ र विद्यालय जोखिममा (भिडिओ)

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ प्रदीपनगरमा विद्युत लाइनमा आएको समस्याका कारण पटक पटक आगलागी भएपनि सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

सोमबार पनि यहाँ यस्तै समस्या दोहोरियो । यस्तो गम्भीर समस्या समाधानका लागि स्थानीयले पटक पटक आग्रह गरेपनि चासो नराखिएको गुनासो छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा तिलोत्तमाका मेयर रामकृष्ण खाणको आफ्नै वडामा भएर पनि वेवास्ता गरिएको उनीहरुको भनाइ छ ।

योगीकुटी–धकधई ३३ केभीए प्रशारण लाइन अन्तर्गत पर्ने विद्युत लाइनमा यस्तो समस्या आएपछि अण्डरग्राउण्डका लागि छलफल भएपनि केही स्वार्थी व्यक्तिका कारण रोकिएको स्थानीय टोपराश शर्माको भनाइ छ । पटक पटक आगलागीका घटना हुन थालेपछि स्थानीय आतंकित हुँदा पनि वेवास्ता गरिएको उनले बताए ।

सोमबार बिहानै स्थानीय डिल्लीराज भण्डारीको घरसंगै रहेको पोलको हाइटेन्सन तार पड्किंदा सडक पारिपट्टी टोपबहादुर केसीको घरसंग जोडिएको पोलको केबल तारमा आगलागी भएको छ ।

प्रसारण लाइन पड्केको कारण स्थानीय देविराम खनालको फ्रिज पड्केर आगलागी भएको छ भने अन्य दुई घरको विद्युत वायरिङमा क्षति भएको छ ।

प्रशारण लाइनमा बारम्बार एक्कासी बम पड्के जसरी पड्किने र त्यसबाट आगोका झिल्का निस्केर विद्युत पोलका इन्टरनेट र केबल तारहरुमा आगलागी हुने गरेपछि वस्ती नै आगलागीको जोखिममा परेको छ ।

उक्त ठाउँमा जनभावना मावि समेत रहेकाले विद्यालय, झण्डै एक हजार विद्यार्थी र शिक्षक कर्मचारी समेत आगलागीको दुर्घटनाको जोखिममा परेका छन् ।

चार दिन अघि पनि सोही ठाउंमा हाइटेनसन लाइन पड्केर केबल तार आगलागी भएको थियो ।

‘धन्न दिउसो र बिहानमा आगलागी भएकाले गाउंलेहरु जम्मा भएर आगो निभाउन सकियो यदि रातिमा भएको भए जे पनि हुन सक्थ्यो’, स्थानीय डिल्लीराज भण्डारीले भने–‘३३ केभीएको डबल प्रशारण लाइन विद्यालय अगाडि र वस्तीको बीचमा पोलबाट नलैजाऔं अण्डरग्राउण्ड गरौं भनेर शुरुमा भन्दा जबरजस्ती गरियो, अहिले सिंगो गाउं नै आगलागीको दुर्घटनाको जोखिममा छ ।’

स्थानीयले विद्यालय अगाडिको हाइटेन्सन लाइनलाई अण्डरग्राउण्ड गर्न वडाअध्यक्ष र नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । अण्डरग्राउण्ड नगर्ने हो भने सयौं विद्यार्थी र वस्तीका बासिन्दाको जीवन कुनै पनि बेला खतरामा पर्ने भन्दै तत्काल अण्डरग्राउण्ड गर्ने ग्यारेन्टी नभए उक्त क्षेत्रमा विद्युत प्रशारण हुन नदिने स्थानीयले चेतावनी दिएका छन् ।

चट्याङ पर्दा, मौसम खराबी हुँदा र हाइ भोल्टेज आउँदा हाइटेन्सन लाइन पड्किने र यसले आगलागी जस्ता दुर्घटनाको जोखिम हुने विद्य्त प्राधिकरणका कर्मचारीहरु बताउंछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर