असारसम्ममा कोशीमा एमाले सरकार ढल्छ: कार्की – Nepal Press

असारसम्ममा कोशीमा एमाले सरकार ढल्छ: कार्की

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार असारअगावै परिवर्तन हुने दाबी गरेका छन् ।

सुनसरीको इनरुवामा सोमबार देवानगञ्ज ठूलो मदरसाबाट बाबिया हुँदै हनुमान चौक सडक स्तरोन्नति शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका कार्कीले असारसम्ममा कोशीमा एमाले नेतृत्वको सरकार ढल्ने बताएका हुन् ।

उनले सत्ता गठबन्धन पूरै पाँच वर्षसम्म कायम रहने दाबीसमेत गरे । पुष्पकमल दाहाल नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले गठबन्धन सरकार गठन हुने चर्चा परिचर्चा हुने गरेको भन्दै नेता कार्कीले केन्द्र र प्रदेशमा वर्तमान गठबन्धन दलको सरकार पाँच वर्षसम्म कायमै रहने बताए ।

मुलुकमा अस्थिरता रहिरहोस् भन्ने एउटा तत्त्व रहेको र त्यसलाई परास्त नगरी देश समृद्धितर्फ अघि बढ्न नसक्ने उनको भनाइ थियो ।

भारतीय सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट सदरमुकाम इनरुवा जोड्ने २३ किलोमिटर सडकमध्ये १० किलोमिटर सडकको नेता कार्कीले शिलान्यास गरेका हुन् । कुल ३२ करोड ८३ लाखमा महावीर इञ्जिनियरिङ एन्ड कन्ष्टक्सनले ठेक्का पाएको उक्त सडकको तीन वर्षभित्र स्तरोन्नति गरिसक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर