भाँडा किन्ने बहानामा पसलमा पसेका थिए आरोपी, दोस्रोपटक आएर गरेका थिए हत्या (भिडिओ) – Nepal Press

भाँडा किन्ने बहानामा पसलमा पसेका थिए आरोपी, दोस्रोपटक आएर गरेका थिए हत्या (भिडिओ)

काठमाडौं । सरस्वतीनगरकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्मा एक्लै जिम्मेवार रहेको प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरी प्रहरीले अहिलेसम्मको अनुसन्धानबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार झापामा बाउन्सरको काम गर्ने विश्वकर्मा घटनाको एक हप्ताजति अगाडि काठमाडौं आएर लोकन्थलीमा साथीको घरमा बसेका थिए ।

घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरा आचार्यको पसलमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का एसएसपी दिनेश आचार्यले बताए ।

आचार्यका अनुसार सुरुमा पसलमा गएर उनले भाँडाको मोलमोलाइ गरेका थिए । केही भाँडाहरु रोजिसकेपछि पैसा निकालेर ल्याउने बहानामा पसलबाट निस्किएको उनले जानकारी दिए ।

‘पसलबाट निस्किएएर १०/१५ मिनेटपछि दिउँसो २ः४४ मा फेरि फर्केर आक्रमण भएको देखिएको छ’, उनले भने । विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेका थिए । उनले कुनै हतियार लगेका थिएनन् । हत्यापछि उनी त्यहीँ लुगा फेरेर निस्किएको र  टेम्पु चढेर भागेको प्रहरीले जनाएको छ ।

आचार्यका अनुसार विश्वकर्माले निरुले लगाएको करिब एक ताेलाकाे सिक्रीका साथै पसलको ड्रयरबाट ११/१२ सय रुपैयाँ लुटेका छन् । लुटेकाे सिक्री उनले सुन पसलमा बेच्न भ्याइसकेका थिए । प्रहरी उक्त सिक्री पनि फेला पारेकाे छ ।

विश्वकर्माले अपराध स्वीकार गरिसकेको आचार्यले जानकारी दिए । आफू ऋणमा रहेकाले पैसाकै लागि लुटपाट गरेको विश्वकर्माले बयान दिएका छन् । उनको घरमा श्रीमती हुँदाहुँदै अन्यत्र अफेयर रहेको पनि खुलेको छ ।

मृतक र उनको परिवारसँग विश्वकर्माको कुनै सम्बन्ध र चिनजान देखिएको छैन । उनी झापाबाट हत्याकै नियतले भने नआएको एसएसपी आचार्यले जानकारी दिए । हत्यामा लुटपाट भन्दा अर्काे उद्देश्य नभेटिएकाे उनकाे भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *