रगतको मूल्य तोक्ने निर्णयप्रति प्रदेश प्रमुखको आपत्ति – Nepal Press

रगतको मूल्य तोक्ने निर्णयप्रति प्रदेश प्रमुखको आपत्ति

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले रगतको मूल्य तोकेर सर्वसाधारणबाट निःशुल्क लिएको रगत बेच्न नपाइने बताएका छन् ।

शनिवार बुटवलमा नेपाल स्वयंसेवी रक्तदाता समाजको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै शेरचनले आफू जिम्मेवार पदमा हुँदासमेत निःशुल्क रगतलाई बेच्ने काम रोक्न नसकेको दुःखेसो गरे ।

यसअघि प्रदेश स्वास्थ्य मन्त्रालयले नै यहाँका अस्पतालमा तीनथरी मूल्य कायम गरेपछि यसको आलोचना भएको थियो । अस्पतालको अवस्थालाई हेरेर ९२५, ७२५ र ७५० गरी तीनथरी मूल्य कायम गरेपछि यसको व्यवस्थापन गरेको रेडक्रस सोसाइटीप्रति समेत धेरैले औँला ठड्याएका छन् ।

प्रदेश प्रमुख शेरचनले सर्वसाधारणले निःशुल्क दान गरेको रगतको मूल्य लिनु गलत काम भएको बताउँदै सामुदायिक अस्पतालमा अझै पनि शुल्क लिने काम हुनु लज्जास्पद भएको धारणा राखेका छन् ।

उनले निःशुल्क रगतलाई पैसा कमाउने माध्यमको रूपमा विकास भएको प्रणाली गलत भएको बताउँदै तुरुन्त सच्चाउन आग्रह गरे । शेरचनले रक्तदानप्रति जनचेतनालाई बढाउने गरी कार्यक्रमहरू चलाउन जरुरी रहेको बताए ।

रक्तदान–मानव जीवनमा अतुलनीय, अनुकरणीय काम नारासहित सुरु भएको महाधिवेशनमा हाम्रो रगत नामक पुस्तक विमोचन, हाम्रो रगत गीत सार्वजनिक गरिएको छ ।

संघका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रत्येक स्वास्थ्य व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व÷कर्तव्य हो भने निःशुल्क रगत पाउनु नैसर्गिक अधिकार हो भन्ने मूल नारालाई सफल बनाउने गरी देशभर अभियान सफल हुँदै गएको बताए ।

शतक रक्तदाताको परिचय बनाएका अध्यक्ष कर्माचार्यले १ सय ७३ पटक रक्तदान गरेका छन् । सरकारबाट २५ बेडसम्मका अस्पतालले ब्लड बैक खोल्न पाउने भनिए पनि त्यो कार्यान्वयन हुन नसकेको उनले दुःखेसो गरे ।

कार्यक्रममा बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेलले रगत दिने काम पुरानो भएको भन्दै नयाँ प्रविधि भित्राउनुपर्ने बताए । प्लेटलेस मात्र वितरण गर्न सके एउटा रक्तदातालाई न्याय हुने र उसले ३ हप्तामा पुनः वितरण गर्न सकिने उनले बताए ।

समयअनुसार नयाँ मेशिनहरू भित्राउन जरुरी रहेको उनले बताए । समयसापेक्ष प्रविधिको प्रयोग गरी रगत वितरणलाई स्मार्ट रूपमा लैजान जरुरी रहेको उनले सुझाव दिए ।

समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निःशुल्क रगतको अभियान गाउँगाउँमा पुर्‍याउन सकिने सम्भावना रहेको बताए । सरकार यस विषयमा चासो नदिँदा बिरामीहरू पीडित हुनुपरेका उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीलाई एकलौटी रूपमा ब्लड बैंकको जिम्मा दिनु गलत भएको भन्दै स्थानीय स्वास्थ्य पालिकाहरूमा ब्लड बैंक खोल्न सकिने उनको दाबी छ ।

स्वयंसेवी रक्तदाताहरुको योगदानप्रति सरकारको चासो नदिनु दुखदायी भएको भन्दै जनप्रतिनिधिहरू थोरै भएपनि रगत अभियानमा लाग्न सुझाव उनले दिए । अबको सरकारले रगत निःशुल्क नगरे बजेट पछि आफू अनसन बस्ने थपलियाको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दीपक थापा (क्षेत्री) ले ३१ हजार पिन्ट यो वर्ष रगत वितरण गरेको दाबी गरे । देशभर नै रुपन्देहीबाट रगत वितरण गर्ने काम भएको र निःशुल्क रगतको अभियान थालेको बताए ।

रुपन्देही जिल्लाका १४ पालिकाहरूमा सम्झौता भएर निःशुल्क रगत दिने काम शुरु गरेको बताए । परिचयपत्रको आधारमा निःशुल्क रगत दिने काम गरेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर