झापा घटनाबारे प्रधानमन्त्रीसँग जवाफ माग्दै गोकुल बाँस्कोटाले भने- ओलीको हत्या गराउन खोजेको हो ? (भिडिओ) – Nepal Press

झापा घटनाबारे प्रधानमन्त्रीसँग जवाफ माग्दै गोकुल बाँस्कोटाले भने- ओलीको हत्या गराउन खोजेको हो ? (भिडिओ)

घटनाबारे जानकारी हुँदासमेत गृहमन्त्री र रक्षामन्त्री मौन बसेको दाबी

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीको हत्या गर्न खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले झापा घटनाबारे गृहमन्त्रीलाई समेत जानकारी रहेको दाबी गरे ।

उनले भने, ‘गृहमन्त्रीले झापा घटनाको बारेमा संवेदनशील भएको जनाउँ त दिनुभयो । तर, सोध्न चाहन्छु त्यो घटना हुँदैछ भनेर गृहमन्त्रीलाई थाहा छ । सभामुखको च्याम्बरमा प्रतिपक्षी दलले आफूले पाएको सूचना शेयर गरेको छ । सरकारको नियत र उद्देश्य के ?’

उनले प्रदेश १ को नामकरण ओलीले नभएर प्रदेशसभाले गरेको प्रष्ट पारे ।

‘केपी ओली एमालेको अध्यक्षमात्र होइन । यो मुलुकको दुई–दुईपटकको पूर्वप्रधानमन्त्री हो । उहाँको ऐतिहासिक योगदान छ’, उनले भने, ‘अब यो देशको अर्को मान्छेले चीनसँग अर्को सम्झौता गर्नुपर्दैन । त्यसका निम्ति अर्को कदम उठाउनु पर्दैन । के उहाँको हत्या गराउन खोजेको हो ?’

प्रधानमन्त्रीको पार्टीले मान्छेले अन्तर्राष्ट्रिय जाति हुनेछ भनेर गीत गाउँदै हिँडेको टिप्पणी गरे ।

उनले भने, ‘बाहुन भेटे बाम्सालिङ, तामाङ भेटे ताम्लासिङ, नेवार भेटे नेवाः, गुरुङ भेटे तमुवान भन्दै हिँडेको परिणाम आज आफ्नै कार्यकर्ता सम्हाल्न सक्नुभएन । नेपाल बहुभाषिक, बहुसांस्कृतिक देश हो । हिजो धतुरो रोप्नुभएको थियो, आज सुन्तला फलेन ।’

उनले झापा घटनाको जवाफ गृहमन्त्रीले दिन नसकेकाले प्रधानमन्त्रीबाटै आउनुपर्ने माग गरे । गृहमन्त्री र रक्षामन्त्रीलाई समेत घटनाबारे जानकारी हुँदै मौन बसेको उनले आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर