वायुसेवा निगम खाने खुम्ले कीरा त मन्त्री नै पो रहेछ : सुदन किराँती – Nepal Press

वायुसेवा निगम खाने खुम्ले कीरा त मन्त्री नै पो रहेछ : सुदन किराँती

निगम सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने सुविधाभोगी भए, पैसै चाहिने भए व्यापार गर्नू

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगम खाने खुम्ले कीरा मन्त्रीहरू नै रहेको बताएका छन् । उनले नयाँ मन्त्री आएपछि निगमका कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा रकम असुल्ने गरेको टिप्पणी गरे ।

नेवानीको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले भने, ‘म मन्त्री भएको सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ । यति भन्दैमा फेरि निगमको कर्मचारीहरू चै चोखो छन् भन्ने हैन । नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यवसायिक कार्ययोजना हैन पैसा असुल्ने नै कार्ययोजना बनाउँछन् ।’

आफूलाई पैसा मन नपर्ने भन्दै कामसँग मात्र सरोकार राख्ने उनले बताए ।

‘म वर्ग र जातपात हेर्दिनँ, मेरो सम्बन्ध कामसँग हुनेछ । म व्यवहारमा नरम र नितिमा कठोर मान्छे हो । अरु मन्त्रीलाई जस्तो मलाई पैसा हैन, एउटा चक्लेट पनि चाहिँदैन । किन कि मलाई मृत्यू थाहा छ म मरेपछि जम्माजम्मी पशुपतिमा अलिकति धुवाँ बन्छु । म मरेपछि पनि सधैँ सबैले सम्झिरहने गरी अजम्बरी हुन चाहन्छु त्यसैले मसँग लोभ छैन । विगत जे भयो अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिन ।’

निगमलाई सुधार्न आफू जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै उनले आफूलाई कुनैपनि दबाब र प्रभावले फरक नपर्ने प्रष्ट्याए ।

कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिँदै मन्त्रीले भने, ‘तपाँईलाई यो काम गर्ने अवसर हो म अब तपाँईलाई कारबाही गर्छु तपाइँले क-कसलाई कारबाही गर्ने हो गर्नुस् । यदि काम गर्न सक्नु भएन भने सल्लाह गरेर नै छाडेर जानुस तपाँइँलाई सौहार्द ढंगले नै बिदाई गर्नेछौँ । तर, आज तपाँईले जसरी मुखले प्रतिबद्धता गर्नुभयो सोही अनुसार काम गर्नुहोला । बाहिर शक्तिको ढोका न चहार्नुहोला राम्रो काममा सधैँ मेरो तपाईँप्रति सहयोग र संरक्षण रहने छ ।’

मन्त्री किराँतीले निगमको बोर्ड सदस्यलाई समेत बाँकी राखेनन् । निगमलाई सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने सदस्यहरू सुविधाका लागि होडबाजी गर्ने पाएको उनले बताए ।

‘निगमलाई सुधार्छु भनेर राजनीतिक नियुक्ति खाने अनि सुविधाको लागि मरिमेट्ने हो भने उमेर हुनेले जागिर खाँदा भयो हैन भने पैसा कमाउन व्यापार गरे हुन्छ सुविधाको लागि झगडा गर्ने बोर्ड सदस्यहरूलाई अब बाँकी राखिन्न ।’

उनले थपे, ‘म परीक्षामा छु यो परीक्षामा पास गराउने जिम्मा तपाँईहरूको हो । अब वायुसेवा निगमलाई पुरानो अवस्थामा ल्याउनुपर्छ । घडी हेरेर प्लेन हेर्ने हैन निगमको जहाज हेरेर मानिसहरू आफ्नो घडी मिलाउन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर