कतारलाई नेपाली बलरको कडा जवाफ, १३ ओभरमै ६ विकेट ढाले – Nepal Press

कतारलाई नेपाली बलरको कडा जवाफ, १३ ओभरमै ६ विकेट ढाले

सोमपाललाई ३, सन्दीपलाई दुई विकेट

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगतको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य कतारका लागि पहाड बनेको छ । १३ ओभरभित्रै कतारका ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल १५७ रनमै अलआउट भएको थियो । १० औं नम्बरमा आएर सन्दीप लामिछानेले अविजित ४२ रन बनाएपछि नेपालले १५० को स्कोर पार गरेको हो ।

दोस्रो इनिङमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । नेपालील बलरहरुको सामना गर्न नसकिरहेको कतारले ४१ रनमा नै ६ विकेट गुमाइसकेको छ । नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछानेले २ र ललित राजवंशीले एक विकेट लिए । खासगरि सन्दीपको कसिलो बलिङमा कतारका ब्याट्सम्यानहरुले सामना गर्न सकिरहेका छैनन् ।

कतारले २.२ ओभरमा १४ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ललित राजवंशीले कमरान खानलाई दिपेन्द्रसिंह ऐरीको हातबाट क्याचआउट गराएका थिए । दोस्रो विकेटका रुपमा ३० रनको अवस्थामा सोमपाल कामीले इमाल लियानागेलाई बोल्ड गरे । त्यसपछि विकेटका चाङ लागेको छ ।

१५ रन बनाएर खेलिरहेका जाहिर इब्राहिमलाई सन्दीप लामिछानेले आउट गरे । मोहम्मद तनविरलाई सोमपालले बोल्ड गरे । सोमपालले नै करामुल्लाह खानलाई भिम सार्कीको हातबाट आउट गराए । खानलाई आउट गर्ने क्रममा भिमले एक्रोब्याटिङ क्याच लिएका थिए ।

छैटौं विकेटका रुपमा कतारले कप्तान मोहम्मद रिजलानलाई गुमाएको हो । उनलाई सन्दीपले आसिफ शेखको हातबाट क्याचआउट गराएका छन् ।

यो समाचार लेख्दासम्म कतारले १४ ओभरमा ४३ रन बनाएर खेलिरहेको छ । अहिलेसम्म जाहिर इब्राहिमले मात्रै दोहोरो अंकमा रन बटुल्न सफल भएका छन् । क्रिजमा खुराम सहजाद र आमिर फारुक छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *