विरोधी पनि पगाल्ने रविको सीप, अब पनि लेख्लान् समर्थकले ‘रिप’ ? – Nepal Press

विरोधी पनि पगाल्ने रविको सीप, अब पनि लेख्लान् समर्थकले ‘रिप’ ?

काठमाडौं । महात्मा गान्धीको एउटा चर्चित भनाई  छ- यदि तपाईंलाई कसैले एउटा गालामा थप्पड हान्यो भने अर्को गाला थापिदिनू । यद्यपि, यो भनाइलाई व्यवहारमा उतार्ने मानिसहरू समाजमा कमै पाइन्छन् । राजनीतिमा त झन् दुर्लभ नै हुन्छ ।

नेपाली राजनीतिको कुरा गर्ने हो भने विभिन्न पार्टीका नेताहरू सदैव एक-अर्कालाई गालीगलौज गर्न र धारेहात लगाउनमै तल्लीन देखिन्छन् । आलोचना सुन्ने र पचाउने क्षमता निकै कम नेताहरूमा छ । आफ्नो आलोचनाको ढाकछोप गर्ने मात्र होइन, आलोचकहरूलाई नै विभिन्न लाञ्छना लगाएर आफू ओभानो बन्न खोज्ने प्रवृत्ति हाबी छ । यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अलिकति फरक देखाउन खोजेका छन् ।

चितवन २ को उपनिर्वाचन अगाडि एक किशोरी सामाजिक सञ्जालमा भाइरल भइन् । उनले एउटा युट्यूव च्यानललाई रवि लामिछानेको विरोध गर्दै अन्तर्वार्ता दिएकी थिइन् । कांग्रेसलाई समर्थन गर्ने ती किशोरीले रविलाई ‘टुरिस्ट उम्मेदवार’ को संज्ञा दिएपछि रविका समर्थक आगो भएका थिए । किशोरीमाथि ‘रिप’ को वर्षा भएको थियो ।

क्रिश्चियन समाजमा मृत्यु भएको मान्छेलाई श्रद्धाञ्जलीका लागि प्रयोग गरिने छोटकरी शब्द RIP (Rest in peace), आजकाल नेपालीहरूले सामाजिक सञ्जालमा अत्यधिक प्रयोग गर्छन् । तर, कसैलाई श्रद्धाञ्जली दिनभन्दा पनि गाली गर्नका लागि यो शब्दको दुरुपयोग हुने गरेको छ । जिउँदो मान्छेलाई ‘रिप’ लेखेर आफ्नो तुष मेट्ने प्रवृत्ति निकै झांगिएको छ । यी किशोरीमाथि पनि चौतर्फीरूपमा ‘रिप’ को वर्षा भएपछि रवि लामिछानेले सार्वजनिकरूपमा नै माफी मागेका थिए ।

चितवनमा आयोजिन चुनावी सभामा उनले समर्थकहरूले गरेको गालीका निम्ति किशोरीसँग क्षमायाचना गरेका थिए । उनले आफ्ना कसैलाई पनि अमर्यादित गाली नगर्न समर्थकहरूलाई आग्रह पनि गरे । त्यसपछि सामामाजिक सञ्जालमा ‘रिप’ को साटो ‘गुड लक रवि दाइ’ ट्रेन्ड हुन थाल्यो । विपक्षी नेताहरूका भाषण र जुनसुकै समाचारमा पनि गुड लक रविदाइ लेख्ने होड नै चल्यो । अन्ततः रविले चुनाव पनि जिते । त्यो पनि कीर्तिमानी मत ल्याएर ।

चुनावपछि रविले आफ्ना समर्थकहरूको गाली पाएकी किशोरीलाई सम्झिए । उनले हिजो किशोरीको घरमै पुगेर उनीसमक्ष क्षमायाचना गरेका छन् । रविले घुँडा नै टेकेर किशोरीसँग माफी मागेका थिए ।
‘तपाईंमाथि भएको गालीगलौजले म एकदमै दुखी छु, तपाईंकाे गल्ती केही पनि थिएन,’ रविले भने ।

किशोरीका बुबाआमा भन्दै थिए, ‘हामीलाई नसोधी यसले अन्तर्वार्ता दिइछे । त्यस्तो भन्नु हुँदैनथ्यो ।’

तर, रविले भने, ‘उनले केही पनि गल्ती बोलेकी छैनन् । आफूलाई लागेको कुरा बोल्ने हो । अझै बोल । गालीगलौज आयो भनेर हतोत्साही हुनु पर्दैन ।’

निसन्देह रविको यो व्यवहारले किशोरी सहजै पग्लिइन् । त्यो उनको अनुहार र हाउभाउबाटै देखिन्थ्यो । आफ्नो छोरीको उमेरकी चेलीसँग रविले जसरी झुकेर माफी मागे, त्यो नेपाली राजनीतिमा यसअघि नदेखिएको दृष्य पनि हो । जनताले नेताहरूबाट चाहेको संस्कार पनि यस्तै नै हो । कसैलाई त यो पनि स्टन्ट लाग्न सक्ला । तर, स्टन्ट नै मान्ने हो भने पनि यसले समाजलाई सकारात्मक सन्देश नै दिनेछ ।

महात्मा गान्धीको ‘थप्पडवाला’ भनाइको स्पिरिटलाई रविले व्यवहारमा अँगालेका छन् । सम्भवत अब उनका समर्थक/कार्यकर्ताले कसैलाई रिप लेख्नुअघि १० पटक सोच्नेछन् । किनकी उनीहरूले लेख्ने रिपले उनीहरूका लिडरलाई कसैसामु फेरि घुँडा टेकाउन सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर