उपचुनावको हिसाबकिताब: रास्वपा नाफामा, जनमतले मत बढाउँदा कांग्रेस-एमालेको कति घट्यो ? – Nepal Press

उपचुनावको हिसाबकिताब: रास्वपा नाफामा, जनमतले मत बढाउँदा कांग्रेस-एमालेको कति घट्यो ?

काठमाडौं । प्रतिनिधिसभाको ३ वटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भएको छ । जसमध्ये दुइटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जीत हासिल गरेको छ । एउटा क्षेत्रमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार निर्वाचित भएका छन् ।

२०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत ल्याएर निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रेकर्ड रास्वपाका सभापति रवि लामिछानेले उपनिर्वाचनमा तोडेका छन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ मा ५२ हजार ३१९ मत ल्याएका थिए । बैशाख १० मा भएको उपनिर्वाचनमा रास्वपाका अध्यक्ष लामिछानेले ५४ हजार १७६ मत ल्याएका छन् ।

मतान्तरमा पनि लामिछानेले नै रेकर्ड राखेका छन् । मंसिर ४ गते ३४ हजार ३१२ मतान्तरले प्रतिस्पर्धीलाई पराजित गरेका उनले उपनिर्वाचनमा ४२ हजार ९६२ मतान्तरको कीर्तिमान राखेका छन् ।

चितवन २ को उपनिर्वाचनमा घट्यो एमाले र कांग्रेसको मत

चितवन क्षेत्र नम्बर २ मा गएको मंसिर ४ गते भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याएका थिए । उपनिर्वाचनमा कांग्रेसकै उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार ३१४ मतमात्रै ल्याएका छन् । जुन अघिल्लोभन्दा ३ हजार ७७७ मत घटी हो ।

यस्तै अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले १४ हजार ६५२ मत ल्याएका थिए । उपनिर्वाचनमा एमालेकै उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । जुन ३ हजार ७१६ मतले कम हो ।

तनहुँ १ मा एमालेको मात्रै साढे ११ हजार मत गायब !

तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका स्वर्णिम वाग्ले राष्ट्रपति रामचन्द्र पौडेलको भन्दा साढे ९ हजार बढी मत ल्याएर विजयी भए । पौडेलले २५ हजार ३६१ मत ल्याएका थिए । उपनिर्वाचनमा रास्वपाका वाग्लेले ३४ हजार ९१९ मत ल्याएका छन् ।

यसअघि पौडेलका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९८१ मत ल्याएका थिए । जसको मतान्तर ५ हजार ३८० थियो । उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत ल्याए । जुन स्वर्णिमसँगको मतान्तर १४ हजार ७९७ हो ।

अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा कांग्रेकाका उम्मेदवारले ५ हजार २३९ कम मत पाएका छन् । त्यस्तै यसअघि एमालेका उम्मेदवारले १९ हजार ९८१ मत ल्याएका थिए । तर, उपनिर्वाचनमा एमालेका उम्मेदवार पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालले ८ हजार ४८८ मतमात्रै ल्याए । जुन अघिल्लो निर्वाचनभन्दा ११ हजार ४९३ मत घटी हो ।

यहाँ अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए । उपनिर्वाचनमा राप्रपाकै शोभा गुरुङले जम्मा २१८ मत पाइन् । जुन अघिल्लोभन्दा ५ हजार ८२६ मत कम हो ।

बारा २ मा जनमतको छलाङ

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भए । गत निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत सँग दोब्बरभन्दा बढी मतान्तरले पराजित यादव उपनिर्वाचनमा जनमत पार्टीकै उम्मेदवारसँग ५ हजार मतान्तरले निर्वाचित भएका छन् ।

उपनिर्वाचनमा यादवले २८ हजार ४१५ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जनमतका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत पाएका छन् । उनीहरुबीच ५ हजार ८१ मतान्तर देखिएको छ ।

गत निर्वाचनमा जसपाका रामसहाय प्रसाद यादवले १३ हजार ८२२ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए । त्यति वेला मतान्तर ३५४ मात्रै थियो ।

त्यस वेला जसपा र नेकपा एमालेबीच चुनावी गठबन्धन भएको थियो । अघिल्लोपटक माओवादीबाट उम्मेदवार बनेका कुशवाहा उपनिर्वाचनअघि जनमत पार्टी प्रवेश गरेका थिए । जनमतबाट टिकट पाएका कुशवाहले अघिल्लो निर्वाचनमा भन्दा उपनिर्वाचनमा ९ हजार ८६६ बढी मत ल्याएका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा जनमतका उम्मेदवार राजेश साहले २ हजार ७२५ मत ल्याएर छैटौं स्थानमा रहेका थिए । यस पटक जनमतले २० हजार ६०९ मत बढाएको देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर