चितवन र तनहुँमा जनलहर ल्याएको रास्वपा बारामा किन बन्यो कमजोर ? – Nepal Press

चितवन र तनहुँमा जनलहर ल्याएको रास्वपा बारामा किन बन्यो कमजोर ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन र तनहुँमा भएको उपनिर्वाचनमा एकलौटी ढंगले भोट बटुल्दा बारामा भने बलियो चुनौती दिन सकेन । जबकि बारा २ मा पनि रास्वपाले रमेश खरेल जस्ता लोकप्रिय र सशक्त उम्मेदवार उठाएको थियो ।

यस क्षेत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुँदा खरेल चौंथो स्थानमा रहे । उनलाई २ हजार ८२९ मतमात्र आएको छ । गत मंसिर ४ गते भएको चुनावमा रास्वपाले यस क्षेत्रमा उम्मेदवारी दिएको थिएन । समानुपातिकतर्फ पार्टीलाई एक हजार ४५५ मत आएको थियो । पार्टीले समानुपातिकमा पाएको मतको दुई गुणा अहिले खरेलले ल्याएका छन् । उनले सान्त्वना लिनसक्ने ठाउँ यही हो ।

मधेस बहुल क्षेत्रमा मतदाताहरुले मधेसी उम्मेदवार नै रोज्ने प्रवृत्ति पछिल्ला चुनावहरुमा बढिरहेको छ । विश्लेषकहरुको नजरमा खरेल पछाडि पर्नुको सबैभन्दा पहिलो र प्रमुख कारण यही हो । बारा २ मा गैरमधेसी मतदाता अत्यन्तै न्यून (पाँच हजार हाराहारी) छन् । त्यसैले यो क्षेत्रमा चुनाव जित्नु खरेलका लागि फलामको च्यूरा चपाउनुसरह थियो ।

रास्वपा र खरेल स्वयंका लागि यो परिणाम अनपेक्षित होइन । तर, योभन्दा धेरै बढी मतको आशा पार्टीले राखेको थियो । खरेलको व्यक्तित्वका कारण उनले मुख्य प्रतिस्पर्धीहरुलाई चुनौती दिनसक्ने आँकलन पार्टी बाहिर पनि गरिएको थियो । उनलाई ‘एसपी खरेल’ का रुपमा ब्रान्डिङ गर्न खोजिएको थियो । तर, मधेसी जनताको आकर्षण उनीतिर देखिएन । अर्कोतर्फ पहाडी समुदायको थोरै भोट पनि तितरबितर भएर बाँडियो ।

एमालेले प्रभावशाली नेता पुरुषोत्तम पौडेललाई उठाउनु पनि खरेलका लागि प्रतिकूल बन्यो । यदि एमालेको उम्मेदवार कमजोर भएका भए उनको भोट बढ्न सक्थ्यो । आमजनता पार्टीबाट उठेका अरुणकुमार ज्ञवालीले पनि खरेलकै हाराहारी भोट ल्याए । अघिल्लो चुनावमा कांग्रेसबाट बागी उम्मेदवारी दिएर ७ हजार ६९८ भोट ल्याएका ज्ञवालीले उपचुनावमा २ हजार ७३८ भोट ल्याएका छन् । अन्य उम्मेदवारहरुको भोट १२० भन्दा कम छ ।

खरेल निर्वाचनको मुखैमा उपचुनाव लड्ने हेतु रास्वपा प्रवेश गरेका हुन् । यसअघि उनी आमनिर्वाचनमा काठमाडौं १ बाट उम्मेदवार बनेका थिए । त्यसबेला आफैंले गठन गरेको सुशासन पार्टीबाट उम्मेदवारी दिएका खरेल ३ हजार १२१ भोट ल्याएर पाँचौं बनेका थिए । यसरी उनले ६ महिनाभित्रै दुईपटक हार खेप्नुपरेको छ ।

खरेल स्वयं भने बारा २ को निर्वाचन परिणाम सकारात्मक रुपमा लिन्छन् । ‘जनताले आफ्नो मत अभिव्यक्त गरेका छन् । फ्रि एन्ड फेयर चुनाव भयो । मैले सकारात्मक रुपमा लिएको छु । अरु के कस्ता हतकण्डा अपनाइएका थिए भन्ने त यहाँहरुलाई थाहा नै छ नि’, खरेलले भने ।

अरु क्षेत्रमा रास्वपाको उभार आउँदा बारामा कमजोर हुनुको कारणबारे प्रश्न गर्दा उनले जवाफ दिए, ‘यो कुरा मैले बुझेको छैन । तपाईंहरुले नै पत्ता लगाउनुहोला । मैलै भन्दा पूर्वाग्रही हुन सक्छ ।’

प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियार भने बारामा आफ्नो पार्टीको मेहनत नपुगेको बताउँछन् । ‘हामीले त्यहाँ जति मेहनत गर्‍यौं, त्यो पर्याप्त भएन भन्ने मेरो बुझाइ हो’, उनले भने ।

चितवन र तनहुँमा गरेको मेहनत बारामा किन नगरेको त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘त्यसो होइन, हामीले मेहनत त तीन वटै क्षेत्रमा उत्तिकै गरेका हौं । तर, बारामा चाहिँ अलि बढी गर्नुपर्ने थियो भन्ने महसुस भएको छ ।’

परियारले बाराको भूगोल र बस्ती चितवन र तनहुँको भन्दा फरक रहेको बताए । त्यसको मेसो नपाउँदा पार्टी चुकेको उनको बुझाइ छ ।

‘तर, जति जनमत हामीलाई बारामा आएको छ, त्यो हाम्रो लागि धेरै ठूलो कुरा हो । अब हाम्रो पार्टीले बारालगायत मधेसमा निकै काम गर्नेछ’, उनले थपे ।

केन्द्रीय राजनीति र भूराजनीतिले समेत बारामा प्रभाव पारेको परियारले विश्लेषण गरेका छन् । ‘जसरी पनि उपेन्द्र यादवलाई जिताउनैपर्छ भन्ने हिसाबले सत्ता गठबन्धनले सबै शक्ति लगायो’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर