विराटनगर-धरान ६ लेन सडककाे तरहरा-सेउती खण्डको काम तीन दिनभित्र थालिने – Nepal Press

विराटनगर-धरान ६ लेन सडककाे तरहरा-सेउती खण्डको काम तीन दिनभित्र थालिने

विराटनगर । चीन र भारत जोड्ने त्रिदेशीय ‘लिङ्क’ रोडको रूपमा रहेको इटहरीको तरहरादेखि धरानको सेउतीसम्मको सडक निर्माण तीन दिनभित्र थाल्ने सहमति भएको छ ।

रानी-विराटनगर-इटहरी-धरान-किमाथाङ्का व्यापारिक मार्गअन्तर्गत रोकिएको काम तीन दिनमा सुरु गर्ने सहमति भएको हो ।

ठेकेदार कम्पनीले सो खण्ड सडकको काम रोकेको थियो । रोकिएको सडकको काम थाल्न इटहरी उपमहानगरले पटकपटक ताकेता गर्दा पनि कम्पनीले अटेर गरेको थियो । ठेकेदार कम्पनी, इटहरी उपमहानगरपालिका र ६ लेन सडक आयोजनाबीच बुधबार तीन दिनभित्र सडकको काम थाल्ने लिखित सहमति भएको हो ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा ५.३ किलोमिटर सडक निर्माण बाँकी छ । निर्माण कम्पनीले काममा सुधार नगरेको जनाउँदै उपमहानगरपालिकाले शुक्रबार एउटा सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

त्यसबेला उपमहानगरले सडक निर्माण सुस्त हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको भन्दै अब काम सक्ने समय सीमासहितको लिखित प्रतिबद्धता सार्वजनिक गर्न तीनदिने अल्टिमेटमसमेत दिएको थियो ।

निर्माण कम्पनीका ठाकुर कँडेलले केन्द्रीय ल्याबबाट कालोपत्रे गर्न रिपोर्ट आउन ढिला भएकाले काम रोकिएको बताए । उनले धुलो सफा गरेर कालोपत्रेको तयारी थालिने जानकारी दिए ।

‘इष्टमेटभन्दा ५० लाख बढीको काम भयो’, उनले भने, ‘कोरोनापछिको आर्थिक समस्याले गर्दा पनि केही ढिलाइ हुन पुग्यो ।’

कँडेलले असार मसान्तसम्म सानोतिनो कामबाहेक मुख्य काम सक्ने प्रतिबद्धता जनाए ।

विराटनगर-धरान सडक खण्डअन्तर्गत तरहरादेखि धरानको सेउतीसम्म सडक निर्माण हुन बाँकी छ। सडक हिमधुङ् थोकर एन्ड प्यासिफिक जेभी कम्पनीले ठेक्का लिएको हो ।

‘निर्माण कम्पनीकै कारणले तरहरादेखि सेउतीसम्मको सडक निर्माणमा ढिलाइ भएको हो’, ६ लेन सडक विस्तार आयोजनाका प्रमुख दानबहादुर शाक्यले भने, ‘निर्माण कम्पनीले इच्छाशक्ति देखाए तोकिएको समयमा काम पूरा हुनेछ । चाँडो काम सुरु गरेरएक लाइनमात्र भए पनि कालोपत्रे गरेमा सहज हुनेछ ।’

पछिल्लो समय सडक निर्माणको समय २०८० सम्म थपिएको छ । इटहरीका मेयर हेमकर्ण पौडेलले अब निर्माण कम्पनीले लिखित प्रतिबद्धता व्यक्त गरेको समयमा सडक पूरा हुने विश्वास गरे ।

२०६९/०७० बाट सुरु भएर सात वर्षभित्रमा ६ लेन सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पूरै सडक निर्माण गर्दा सुरुमा १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *