फ्लाई दुबईको उडानमा छैन समस्या, कन्ट्री म्यानेजरलगायतमाथिको कारबाही कहिले हुन्छ फिर्ता ? – Nepal Press

फ्लाई दुबईको उडानमा छैन समस्या, कन्ट्री म्यानेजरलगायतमाथिको कारबाही कहिले हुन्छ फिर्ता ?

काठमाडौं । विनाप्रमाण गलत सूचना फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका कन्ट्री म्यानेजरसहित २ जनालाई हिजो कारवाही ग¥यो । प्राधिकरणले उनीहरुलाई त्रिभुवन विमानस्थल प्रवेशमा रोक लगाएको हो ।

फ्लाई दुबईका अन्य कर्मचारीहरुले भने काम गरिरहेका छन् । कारबाहीमा परेका दुई अधिकारीले पनि विमानस्थल बाहिरबाट काम गरिरहेका छन् ।

तर फ्लाई दुबईको उडान के हुन्छ ? जहाजको टिकट काटेकाहरु धेरैले चासो व्यक्त गरेका छन् ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले फ्लाई दुबईले गलत सूचना प्रवाह गरेकाले त्यसका कन्ट्री म्यानेजरसहित २ जनालाई विमानस्थल प्रवेशमा मात्रै रोक लगाएको बताए ।

उनले नेपालप्रेससँग भने, ‘विमानस्थल प्रवेशमा मात्रै रोक लगाइएको हो । उनीहरुले बाहिर बसेर पनि काम गर्न सक्छन् । फ्लाई दुबईका २ जनाबाहेकका अन्य कर्मचारीले विमानस्थलभित्र बसेर काम गरिरहेका छन् । उडानहरु भइरहेको छ ।’

उनीहरुमाथिको कारबाही कहिले फिर्ता हुन्छ भन्ने नेपालप्रेसको प्रश्नमा निरौलाले भने, ‘अब फ्लाई दुबईले आधिकारिक रुपमा किन रोक लगाएको प्रश्न गर्छ । अनि हामीले किन चरा ठोकिएको भनेर गलत सूचना फैलाएको भनेर सोध्नेछौं । फ्लाई दुबईले दिएको उत्तर चित्त बुझ्दो भएमा कारबाही फिर्ता हुन्छ । कति दिनमा फिर्ता हुन्छ भनेर दिन नै तोकेर भन्न सकिँदैन ।’

गत सोमबार राती ९ः२० बजे त्रिभुवन विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाजमा चरा ठोकिएको कम्पनीले जनाएको थियो । काठमाडौंको कोटेश्वर, जडिबुटीतिरका जनताले उडिरहेको जहाजमा अस्वाभाविक आवाजसँगै आगोको झिल्को देखेका थिए ।

विमानस्थल स्रोतका अनुसार उडेको एक मिनेटपछि नै पाइलटले जहाजको बायाँ इन्जिनमा समस्या आएको जानकारी एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *