धरान-इटहरीकाे सीमा विवाद : कानूनी उपचार खाेज्ने हर्क साम्पाङकाे भनाईमा हेमकर्णकाे यस्ताे चेतावनी – Nepal Press

धरान-इटहरीकाे सीमा विवाद : कानूनी उपचार खाेज्ने हर्क साम्पाङकाे भनाईमा हेमकर्णकाे यस्ताे चेतावनी

विराटनगर । धरानका मेयर हर्क साम्पाङले इटहरीले भोग चलान गर्दै आएको क्षेत्रमा राखेको बोर्ड हटाएको विषयमा कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

उनले स्टाट्स लेख्दै आफूले राखेको बोर्ड सीमा क्षेत्रभित्र राखेको बोर्ड हटाएको भन्दै युवा सङ्घका कार्यकर्ताहरूलाई कारबाही लागि उजुरी दिने लेखेका छन् । उनले कारबाही गर्ने प्रतिक्रिया दिएसँगै इटहरीका मेयर हेम कर्ण पौडेलले कसैलाई कारबाही गरे यसको परिणामको जिम्मा लिन चेतावनी दिएका छन् ।

इटहरी उपमहानगरपालिकाले भोग चलान गर्दै आएको क्षेत्रमा मेयर हर्क साम्पाङले सीमा प्रारम्भ भएको बोर्ड राखेका थिए । उनले धरानले भोग चलान गर्दै आएको सेउती खोला भन्दा ५ किलो मिटर दक्षिण धरानको सीमा प्रारम्भ भएको बोर्ड आइतबार राखेका थिए । उनले बोर्ड राखेसँगै युवा सङ्घ इटहरीका कार्यकर्ताहरूले बोर्ड उखालेर फालेका थिए ।

धरानका मेयरले भोग चलन गर्दे आएको भन्दा ५ किलोमिटर दक्षिण सिमाना सारेपछि इटहरी उप महानगरपालिकाले पत्रकार सम्मेलन गर्दे संवादबाट समाधान खोज्न आग्रह गरेको थियो । तर साम्पाङले भने कारबाही गर्न उजुरी दिने प्रतिक्रिया सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । उनले धरानको युवा सङ्घ कहाँ छ भन्दै खोजी समेत गरेका छन् ।

यस अघि २०७६ सालमा पनि सीमा विवाद भएको थियो । सो बेला आपसी सहमतिमा समस्या समाधान गर्ने सहमति भएको थियो । धरानका कार्यबहाक मेयर मञ्जु भण्डारी इटहरीका तत्कालीन मेयर द्धवारीकलाल चोृैधरी र उप मेयर लक्ष्मी गौतमसँगको छलफलमा सहमति गर्ने भनिए पनि त्यसपछि आवश्यक प्रक्रिया भने खोजिएको छैन । समाधानको प्रयास नहुँदा कोशी प्रदेशका दुई उप महानगरपालिका बिचमा सीमा विवाद बढ्दै गएको छ ।

कारवाहीको प्रक्रियामा जाने बताएपछि इटहरीका मेयर पौडेलले मंगलबार जिल्ला प्रशासन कार्यालय सुनसरीलाई माग पत्रमार्फत बोर्ड हटाएको विषयमा युवा सङ्घ इटहरीमा आबद्ध कोही कसैलाई कारबाही नगर्न माग गरेका छन् । ‘यदि कारबाही गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितीको सामाना धरानका मेयर साम्पाङ र कारबाही गर्ने निकायले बेर्होनुपर्नेछ,’ मागपत्रमा भनिएको छ ।

जिल्ला प्रशासनलाई पठाएको माग पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमि व्यवस्था एवम् सहकारी मन्त्रालय, धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय इटहरीलाई पठाइएको छ।

सीमा विवादलाई वार्ता मार्फत समाधान गर्न इटहरीका मेयर पौडेलले धरानका मेयर साम्पाङलाई आग्रह पनि गरेका छन् । ‘संवेदनशील र गम्भीर विषयलाई अन्तर पालिकाको साझा समस्याहरू आपसी संवाद, सहमति र सहकार्यबाट गर्न इटहरी तयार छ,’ पौडेलले भनेका छन् ।
विवाद पालिकाका प्रमुखहरूमा मात्रै होइन नागरिक तहमै आएको छ । धरान र सुनसरीका स्थानीयले साम्पाङकाे कदमको विरोध र समर्थन गर्ने क्रम बढेको छ । धरानका स्थानीयले साम्पाङको समर्थन गरेका छन् भने इटहरीवासीले विरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर