उपनिर्वाचनमा ठूला दलको कन्तबिजोक : घण्टीलाई एमालेको मत, कांग्रेसले पाएन गठबन्धनको भोट – Nepal Press

उपनिर्वाचनमा ठूला दलको कन्तबिजोक : घण्टीलाई एमालेको मत, कांग्रेसले पाएन गठबन्धनको भोट

काठमाडौं । तीन क्षेत्रमा भएको उपनिर्वाचनमध्ये चितवन २ र तनहुँ १ को अन्तिम मतपरिणाम आइसकेको छ । बारा २ मा मतगणना जारी छ ।

चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ मा रास्वपाकै स्वर्णिम वाग्ले विजयी भए । उनीहरु नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराएर जीत निकाल्न सफल भए ।

चितवन २ लामिछाने नै गत मंसिर ४ गतेको निर्वाचनमा विजयी भएको क्षेत्र हो । उनले गत मंसिरको भन्दा धेरै मत ल्याएर दोस्रो पटक जीत निकाले । लामिछानेले ५४ हजार १७५ मत ल्याएर जिते ।

मंसिरको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याएका थिए । उनले यस पटक पहिलेको भन्दा ४ हजार ८७५ मत बढी ल्याए । मंसिरको निर्वाचनमा रास्वपाले समानुपातिकर्फ भने ३५ हजार ९४५ मत ल्याएको थियो । लामिछानेको लोकप्रियताकै कारणले प्रत्यक्षमा धेरै मत आएको छ ।

तर, कांग्रेसले आफ्नो मतको रक्षा गर्दा एमालेले भने मंसिरमा आएको आफ्नै मतसमेत जोगाउन सकेन । कांग्रेसलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित साना दलको पनि साथ थियो । कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले मंसिरको निर्वाचनमा १४ हजार ९८३ मत ल्याएका थिए ।

तर, अहिले उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार ११४ मतमात्रै ल्याए । प्रत्यक्षतर्फ कांग्रेसले गत निर्वाचनभन्दा यस पटक ३ हजार ८६९ मत कम पायो ।

गत निर्वाचनको समानुपातिकतर्फ कांग्रेसले ११ हजार ९१४ मत ल्याएको थियो । त्यसैले अहिले कांग्रेसको आफ्नो भोट नघटे पनि सत्ता गठबन्धन दलबाट मत नआएको देखिन्छ ।

उपनिर्वाचनमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । गत निर्वाचनमा कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत पाएका थिए । उपनिर्वाचनमा एमालेको प्रत्यक्षतर्फ ३ हजार ७३१ मत घटेको देखिन्छ ।

गत निर्वाचनमा समानुपातिकतर्फ एमालेले १६ हजार ७८४ मत ल्याएको थियो । समानुपातिक मतलाई आधार मान्दा पनि अहिले एमालेको ५ हजार ८४८ मत रविलाई गएको देखिन्छ ।

यस्तै तनहुँमा पनि कांग्रेस र एमालेले आफ्नो मत जोगाउन नसकेको प्रस्ट देखिन्छ । रास्वपाका स्वर्णिम वाग्ले ३४ हजार ४८० मत ल्याएर विजयी भएका थिए । गत निर्वाचनमा रास्वपाका विकास सिग्देलले ६ हजार ३२ मत ल्याएका थिए ।

त्यसवेला समानुपातिकतर्फ रास्वपा १२ हजार ७७३ मत ल्याएर तेस्रो बनेको थियो । तर, अहिले भारी मतान्तरसहित रास्वपाले जीत निकाल्यो ।

रास्वपाले जित्दा ठूला दललाई झड्का लागेको छ । सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत ल्याए । गत निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल विजयी भएका थिए । उनले २५ हजार ३१८ मत ल्याएको भए पनि अहिले त्यो सबै भोट कांग्रेसको पोल्टामा जान सकेन ।

गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८ मत ल्याएको थियो । कांग्रेसले आफ्नो भोट जोगाए पनि माओवादी, नेकपा एससहित कुनै दलको भोट यहाँ पनि गठबन्धन उम्मेदवारले पाएको देखिएन ।

कांग्रेसले केही हदसम्म आफ्नो मत जोगाए पनि एमालेको भोट रास्वपाका उम्मेदवार वाग्लेलाई गएको देखिन्छ । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत पाए ।

मंसिरको निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९४३ मत ल्याएका थिए । तर, अहिले एमालेको ठूलो मत रास्वपालाई गएको देखिन्छ ।

समानुपातिकतर्फ एमालेले १६ हजार ६८३ मत ल्याएको थियो । तर, अहिले एमालेका उम्मेदवार खनालले एमालेको आधी भोटमात्रै पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर