चितवन २ मा भोटको सुनामीसहित रविले बनाए यी तीन कीर्तिमान – Nepal Press

चितवन २ मा भोटको सुनामीसहित रविले बनाए यी तीन कीर्तिमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६ महिनाभित्र दोस्रोपटक जनअनुमोदित भएका छन् । चितवनमा भएको उपचुनावमा उनले आज हासिल गरेको जित नेपालको चुनावी इतिहासमै कीर्तिमानी रहेको छ ।

सर्वोच्च अदालतको फैसलाबाट सांसद पद गुमाएपछि रवि दोस्रोपटक यस क्षेत्रमा उम्मेदवार बनेका थिए । मंसिर ४ को चुनावमा देशभरमै ठूलो अन्तरालको जित हात पारेका रविले उपचुनावमा के गर्लान् भन्ने सर्वत्र चासो थियो । विपक्षीहरुले अहिलेको माहोल पहिलेजस्तो नभएको दाबी गरिरहेका थिए ।

तर, भोटको सुनामीसहित रविले पहिलेभन्दा पनि ठूलो जित हात पारेका छन् । मुलतः वर्तमान संसदीय चुनावका सबै ठूला रेकर्डहरु उनले आफ्नो नाममा पारे । यो ६ महिनामा उनको लोकप्रियता खस्किनुको साटो झनै चुलिएको देखियो, जबकी यसबीचमा उनलाई अनेकन विवादमा मुछ्ने प्रयास भएको थियो ।

रविले यसपालिको चुनावमा कायम गरेका मुख्य तीन रेकर्ड यस्ता छन्ः

१. सबैभन्दा धेरै मतान्तर

रवि लामिछानेले निकटतम प्रतिस्पर्धी जितनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतान्तरका साथ हराए । लामिछानेले ५४ हजार १७६ मत ल्याउँदा श्रेष्ठ ११२१४ भोटमा रोकिएका छन् ।

गत चुनावमा सर्वाधिक मतान्तरले जितेका लामिछानेले यो चुनावमा आफ्नै रेकर्ड तोडेका हुन् । मंसिर ४ मा रविले ४९ हजार ३ सय भोट ल्याउँदा कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५४ मत ल्याएका थिए । प्रमुख प्रतिस्पर्धी श्रेष्ठसँग उनको मतान्तर ३४ हजार ३१२ थियो ।

लामिछानेले कायम गरेको मतान्तर सम्भवतः नेपालको चुनावी इतिहासमै सबैभन्दा ठूलो हो । १० वटा दलको समर्थन प्राप्त कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई समेत उनले निरिह बनाइदिए ।

२. सबैभन्दा धेरै मत पाउने उम्मेदवार

मंसिर ४ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा ५२ हजार ३९१ भोट ल्याउँदै सर्वाधिक मतको रेकर्ड राखेका थिए । अहिलेको उपचुनावमा लामिछानेले ओलीले बनाएको सर्वाधिक मतको रेकर्ड तोडेका छन् । उनले ५४ हजार १७५ मत पाए ।

तर, रविको यो मत २०७४ को चुनावमा ओलीले पाएको मतभन्दा भने थोरै हो । २०७४ को चुनावमा ओलीले ५७ हजार १३९ मत पाएका थिए । त्यो चुनावमा सबैभन्दा धेरै मत ओलीकै आएको थियो ।
ओलीको मत पनि नेपालको चुनावी इतिहासमा सबैभन्दा धेरै भने होइन । २०३८ साल वैशाखमा भएको राष्ट्रिय पञ्चायतको चुनावमा नानीमैया दाहालले ६५ हजार बढी मत कटाएकी थिइन् । २०३८ जेठ २ गतेको गोरखापत्रको समाचारमा उल्लेख गरिएको मतसंख्याअनुसार नानीमैया दाहालको मत ६५ हजार ७७७ मत आएको थियो । त्यस्तै राष्ट्रिय पञ्चायतको चुनावमा हेमबहादुर मल्लले ९३ हजार २७० भोट ल्याएका थिए ।

३. सबैभन्दा ठूलो अनुपात

आम निर्वाचन २०७९ र यस उपनिर्वाचनमा खसेको मतमध्ये सबैभन्दा ठूलो अनुपातमा रविलाई मत सोहोरिएको छ । उनले ६९ प्रतिशतभन्दा बढी मत ल्याउन सफल भए । यस आम निर्वाचनमा यो कुनै पनि उम्मेदवारले पाएको सबैभन्दा धेरै प्रतिशत मत हो ।

नेपालको चुनावी इतिहासमा सर्वाधिक मत प्रतिशत भने डा. बाबुराम भट्टराईको नाममा छ । २०६४ सालको संविधानसभा चुनावमा उनले खसेको मतको ८३ प्रतिशत कटाएका थिए । उक्त चुनावमा भट्टराईले ४६ हजार २ सय ७२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चन्द्रप्रसाद न्यौपानेले ६ हजार १ सय ४३ मत ल्यएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर