गोकर्णेश्वरको पाँचदिने कान्तिभैरव जात्रा सम्पन्न – Nepal Press

गोकर्णेश्वरको पाँचदिने कान्तिभैरव जात्रा सम्पन्न

काठमाडौं । गोकर्णेश्वर नगर क्षेत्रको लिच्छवीकालदेखि चल्दै आएको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको कान्तिभैरव जात्रा सम्पन्न भएको छ ।

आइतबार वैशाख कृष्ण चतुर्दशी (आमाको मुख हेर्ने दिनदेखि वैशाख शुक्ल तृतीया (अर्र्थात अक्षय तृतीया) ५ दिन सम्म चल्ने जात्रा भैरव, कुमार र गणेशको मूर्तिलाई आकर्षकरूपमा सिङ्गारी तीनतले खटमा विराजमान गराई तीनवटा रथलाई धार्मिक विधिपूर्वक पूजा–आजागरि, बाजागाजा, गीत र नाचगानकासाथ टोल परिक्रमा गरी सम्पन्न गरिएको जनाइएको छ ।

जात्रामा वैशाख कृष्ण चतुर्दशीका दिन जात्रा क्षेत्रमा सरसफाई ध्वजापतकाले शहरलाई सिंगार गरी मध्यरातमा भैरव, गणेश र कुमारको तान्त्रिक विधिअनुसार पूजा गरी जात्रालाई जगाउने प्रचलन रहेको र तीनै देवताका रथलाई पुनः सिन्दूरजात्रा गरी गोकर्णेश्वरका विभिन्न क्षेत्रमा परिक्रमा गरिन्छ । औँसीका दिन साँझ डबलीको दायाँबायाँ श्रीगणेश र श्रीकुमार एवं बीचमा श्री भैरवको रथ बिसाएपछि क्रान्ति भैरव वैशाख शुक्ल प्रतिपदाका दिन पूजा गरेपछि मात्रै रथ उठाइने वडा अध्यक्ष जयराम महतले बताए ।

यसरी सुरु हुन्छ जात्रा

महतले भने, ‘आमाको मुख हेर्ने दिन कान्तिभैरवको रथ भैरवीको मन्दिरमा पुर्याइनुलाई भैरव आमाको मुख हेर्न आएको भन्ने धार्मिक जनविश्वास रहेको छ । रथ उठाएर महतटोल, किसिगाल, भैरवचौर, तालिञ्चोक, चौतारा र नयाँपाटीलगायतका स्थानमा पनि बलिसहित पूजा गरिन्छ। सिन्दूरजात्रा गर्दै रथलाई राजा मानदेवले बसाएको ऐतिहासिक गोकर्णदेशे अर्थात लाछीमा लगी राखिन्छ । श्रीगणेश र श्रीकुमारको रथ पनि त्यहाँ सिङ्गारेर राखिएको हुन्छ ।

त्यस्तै, चतुर्दशीका दिन बिहान गुठियारले तामाको सानो गणेश मूर्तिलाई ढक्कीमा राखी गुप्तिगणेशमा लगी राख्छन्। गुप्तिगणेशलाई दिनभर स्थानीयवासीले पूजा गर्दछन्। साँझमा गणेशको मूर्तिलाई परम्परागत बाजागाजासहित रथारोहण गरी गोकर्णेश्वरको ऐतिहासिक प्रमुख पुरानो बस्ती गोकर्ण देशेको बीचमा लगी बिसाइन्छ ।

त्यसैगरी ऐतिहासिक गोकर्ण देशेको भैरव मन्दिरबाट भैरवको मूर्ति निकालिन्छ। निकालिएको मूर्तिलाई गुठियारबाट बलि चढाइ पूजा गरिन्छ। स्वर्णमय झण्डा र गजुरसहितको सिंहासनलाई तीनपटक मन्दिरको परिक्रमा गराइन्छ। सिङ्गारिएको तीनतले रथमा भैरवको मूर्तिलाई आरोहण गराइ बाजा बजाई हर्षबढाइँ गरिन्छ र रथलाई गोकर्णेश्वर क्षेत्रका टोलटोलमा परिक्रमा गरिने प्रचलन रहेको छ ।’

भातको देवता अर्थात भाते द्यौलाई कान्ति भैरवको सौगात मानिन्छ । तीन स्थानमा व्रत बसेका तीन जना गुठियारले एक(एक पाथी भातको देवता बनाउँछन् । पाक्दापाक्तैको भातलाई झिकेर गुठियारले भातको मूर्ति बनाउनुपर्ने धार्मिक विधि छ । भातको अग्लो मूर्तिलाई दुईजनाले बोकेर तुलजा भवानीको मन्दिरमा लैजाने परम्परा रहेको छ ।

मन्दिरमा भातको देवता लिन जात्रालु रथसहित जाने गर्दछन् । रथलाई तुलजा भवानीको परिक्रमा गराएपछि भातको देवता बोकी जात्राको जमात उत्तरबाहिनीस्थित भैरवी मन्दिरतिर लाग्दछन्। जात्रामा बाजा बजाउने, रथ बोक्ने, चिराग बोक्ने, सुकुन्दा बोक्ने र भातको देवता बोक्नेलगायतका काममा जात्रालुको भीड लाग्ने गरेको छ ।

उत्तरबाहिनी कान्तिभैरव मन्दिर प्राङ्गणमा भाते देवतासहित भैरवको रथ पुर्याएपछि तीनपटक मन्दिर परिक्रमा गराइन्छ । रथलाई मन्दिरको ३२ पटक परिक्रमा गराएर मात्र बिसाउनुपर्ने धार्मिक विश्वास छ । रथ बिसाएपछि भैरवको प्रसाद लिन सहभागीबीचमा तछाडमछाड हुने गर्दछ । पहिलोपटक प्रसाद पाउने मानिस निकै भाग्यमानी हुने धार्मिक विश्वास छ ।

गोकर्णेश्वर नगरपालिका ४ बाट प्रतिपदाका दिन मध्याह्न सिङ्गो बाँसको पाँचवटा आँख्लामा पाँचथरी कपडाका ध्वजा बाँधी बाजागाजासहित श्रीभैरवको तान्त्रिक पूजा गरी बलि चढाइने प्रचलन छ । ध्वजा भएको बाँसको टुप्पाले रथको गजूरमा जुधाएर रथ उठाइ डठुलाछीमा लगिन्छ। यस दिन गोकर्णेश्वर नगरपालिकाका ऐतिहासिक १० गाउँका मानिस पूजा सामग्रीसहित आएर पूजा गर्दछन् । यसरी पूजा गरेपछि स्थानीयले आफन्त र नाता कुटुम्बलाई घरमा बोलाई भोज खुवाउने प्रचलन छ । वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ। वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीयाका दिन साँझ भैरवलाई मन्दिरभित्र प्रवेश गराएपछि ऐतिहासिक पाँचदिने जात्रा सम्पन्न हुने गर्दछ ।

जात्रा सञ्चालनका लागि लिच्छविकालदेखि गुठीको व्यवस्था गरिएकामा पनि हाल गुठी मासिएपछि नगरपालिकाले जात्राको खर्च व्यहोर्ने गरेको अध्यक्ष महतले बताए । जात्राका लागि सरोकार भएका निकायले छुट्याएको रकम कम हुँदा ऐतिहासिक महत्वको परम्परा धान्न मुस्किल परेको गुठियारको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *