लुम्बिनीमा पुनः आफ्नै नेतृत्वमा सरकार बनाउन एमालेको कसरत – Nepal Press

लुम्बिनीमा पुनः आफ्नै नेतृत्वमा सरकार बनाउन एमालेको कसरत

प्रदेश प्रमुखलाई भेटेर कामचलाउ मुख्यमन्त्री गिरीले भने - धारा ३ अनुसार सरकार बनाउन आह्वान होस्

रुपन्देही । लुम्बिनी प्रदेशमा विश्वासको मत नपाएपछि बहुमतको सरकारबाट बाहिरिएको नेकपा एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार पुनः संसदीय दलका नेता लीला गिरी नेतृत्वमा सरकार बनाउने तयारी थालेको छ । विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न जिम्मेवारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ । यसअघि ८ दलका ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई धारा २ अनुसार सरकार बनाउन दावी पेश गरिसकेका छन् । एमाले दलका नेता रहेका कामचलाउ मुख्यमन्त्रीले धारा ३ अनुसार ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन आव्हान गर्न आग्रह गरिएको बताए ।

यसअघि एमाले संसदीय दलको बैठकले धारा ३ अनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताए । चौधरीले प्रदेश प्रमुख धारा ३ अनुसार जान नमिल्ने जिकिर गर्दे आफूहरूले राजीनामा नदिएकाले विश्वासको मत लिँदा फेल भएपनि ठूलो दलको हैसियतमा सरकार गठन प्रक्रियामा जाने सुविधा रहेको बताए । उनले भने, ‘संविधान अनुसार नै हामीले अर्को सरकार गठन गर्ने हो त्यसमा प्रदेश प्रमुख अर्को धारामा जान मिल्दैन ।’

एमालेले नयाँ सरकार गठन गरेर पुन एक महिनाभित्र विश्वासको मत लिन नसेकोको अवस्थामा मात्रै अर्को धारामा जानुपर्ने एमालेको दावी छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।

एमाले र राप्रपाबाहेक सबैले विपक्षमा मतदान गरेका थिए । लुम्बिनी प्रदेशसभाको उक्त मतको परिमाण पाएसँगै प्रदेश प्रमुखले गिरीलाई कामचलाउको जिम्मेवारी दिएका छन् ।

प्रदेश प्रमुख कार्यालयले अव नयाँ सरकार गठनका लागि कुन धारा अनुसार आव्हान गर्ने भन्ने खुलाएको छैन । प्रदेश प्रमुखको सचिवालयले प्रदेश प्रमुखले कानुनविद्हरुसँग छलफलमा रहेको जनाएको छ ।

लुम्बिनी प्रदेशमा एमालेको २९, नेपाली काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर