इच्छाकामनाः एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि, अन्यत्र मतको सुनामी ल्याउने संकेत – Nepal Press

इच्छाकामनाः एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि, अन्यत्र मतको सुनामी ल्याउने संकेत

काठमाडौं । यसपाली चितवन २ को उपनिर्वाचनमा कसले जित्ला भन्दा पनि रवि लामिछानेको भोट घट्ला कि बढ्ला भन्ने चासो धेरै थियो । उनको जितमा भने कसैलाई शंका थिएन ।

अन्य दलहरुले चाहीँ चितवनको माहोल पहिलेजस्तै छैन भनिरहेका थिए । उनीहरुको दावी थियो– रविको लोकप्रियता धराशयी भइसकेको छ । यसपाली नतिजा उल्टिन्छ ।

आज इच्छाकामना गाउँपालिकाबाट सुरु भएको मतगणनाको प्रारम्भिक रुझानले भने त्यस्तो संकेत गर्दैन । यो त्यही गाउँपालिका हो, जहाँ गत मंसिरमा भएको चुनावमा एमालेले प्रभूत्व जमाएको थियो । तर, अहिलेको गणनामा रविले सुरुमै अग्रता कायम गरेका छन् ।

ग्रामिण इलाकाहरु भएको इच्छाकामनामा ७ वटा वडाहरु छन् ।  तिनीहरुमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले कुल ३ हजार ६ सय २३ भोट ल्याएका थिए । दोस्रो स्थामा रहेको कांग्रेसका उमेश श्रेष्ठ थिए । उनले ल्याएको मत थियो ३ हजार २१६ । रवि दुई हजार ९ सय ७५ मतका साथ तेस्रो स्थानमा थिए ।

इच्छाकामना गाउँपालिकाबाट बाहिरिनासाथ रविले आफ्नो भोट ह्वात्तै बढाए । शहरी क्षेत्रहरुमा उनको एकलौटी बर्चश्व देखिएको थियो । अन्ततः देशमै सर्वाधिक मतान्तरले उनी विजयी भए ।

अहिले इच्छाकामनाको रुझान हेर्दा पहिलेभन्दा पनि धेरै मत ल्याउने सम्भावनालाई नकार्न सकिन्न । अहिलेसम्म यस गाउँपालिकाका ६ वटा वडाहरुको गणना सकिएको छ । अघिल्लो निर्वाचनमा रविले १ नम्बर वडाबाट ८७ भोट ल्याएका थिए । तर, अहिले सो वडामा उनलाई ३१९ भोट प्राप्त भएको छ । यसैबाट आँकलन गर्न सकिन्छ, कि रविले कसरी भोट सोहोर्दैछन् ।

उपचुनावमा इच्छाकामना गाउँपालिकामा कुल ९ हजार ४४४ मत खसेको थियो । त्यसमध्ये ५ वटा वडाको गणना भइसकेको छ भने वडा नम्बर ६ को गणना जारी छ । जसमा रवि निकट प्रतिस्पर्धी एमालेका रामप्रसाद न्यौपानेभन्दा झण्डै १६ सय मतले अगाडि छन् । रविले ३ हजार ६०२ भोट ल्याउँदा रामप्रसादको २१२३ भोट आएको छ । कांग्रेसका जितनारायण श्रेष्ठ १४९४ मतसहित तेस्रो स्थानमा छन् ।

इच्छाकामनामा रविलाई आएको भोट देखेर प्रतिस्पर्धीहरु आत्तिएका छन् । अन्य पालिकाहरुमा प्रवेशसँगै रविको एकछत्र हुने त्राश बढेको छ ।
एक स्थानीय पत्रकार भन्छन्, ‘अघिल्लो चुनावभन्दा भोट बढ्ने निश्चित देखियो ।’

आखिर किन बढ्यो त घन्टीलाई भोट ? ती पत्रकारको भनाइमा रविलाई अन्य राजनीतिक दल र मिडियाले समेत घेराबन्दीमा पारेको भन्दै जनतामा सहानुभूति बढेको छ । ‘चुनावका मुखमा उत्पन्न गरिएका विभिन्न विवादहरुले रविलाई फाइदा भएको देखिन्छ,’ उनी भन्छन्, ‘जनतामा नकारात्मक पब्लिसिटी भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर