अमेरिका पुगेकी प्रेमिकाको अर्कै केटासँगको गोप्य तस्विर भेटेपछि फेसबुक लाइभमा प्रेमीले दिए आत्महत्या गर्ने धम्की – Nepal Press

अमेरिका पुगेकी प्रेमिकाको अर्कै केटासँगको गोप्य तस्विर भेटेपछि फेसबुक लाइभमा प्रेमीले दिए आत्महत्या गर्ने धम्की

काठमाडौं । काठमाडौं प्रहरी परिसरको टोलीले चैतको तेस्रो साता मोरङका एक व्यक्तिलाई पक्राउ गर्‍यो । अमेरिकामा बस्दै आएकी एक युवतीले खबर गरेपछि उनका आफन्तले ती युवकविरुद्ध साइबर अपराधको जाहेरी दर्ता गरेका थिए ।

गणेश (गोपनीयताका लागि नाम परिवर्तन) ले आफ्नो फेसबुक अकाउन्टबाट गोप्य तस्विरहरु सार्वजनिक गरेको र फेसबुक लाइभमा आएर आत्महत्या गर्ने धम्की दिएको भन्दै गोमा (गोपनीयताका लागि नाम परिवर्तन)ले खबर गरेपछि उनका आफन्तले प्रहरीकहाँ उजुरी गरेका थिए । सोही कारण प्रहरीले गणेशलाई पक्राउ गरेको थियो ।

पीडितका आफन्तले प्रहरीकहाँ दिएको जाहेरीअनुसार गोमा र गणेशबीच केही समयअघिसम्म प्रेम सम्बन्ध रहे पनि छोरी अमेरिका गएपछि गोमालाई गणेशले डर धम्की देखाउने गरेको र भिडियो सार्वजनिक गरिदिन्छु भन्दै पैसा माग्ने गरेका थिए ।

पक्राउ परेका गणेशले अनुसन्धानका क्रममा गोमाले आफूलाई धोका दिएको र त्यसकै रिसमा हालका प्रेमीसँगको उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको बताएका छन् । आफूलाई गोमाले बेलाबखत आर्थिक सहयोग गर्ने गरेको भए पनि कहिल्यै उनीसँग ब्ल्याकमेलिङ नगरेको उनको दाबी छ ।

गणेशका अनुसार प्रेमिका डेढ वर्षअघि अमेरिका गएपछि उनी आफू पनि अमेरिका जाने प्रोसेस गर्दै थिए । आफूहरुबीच ६ वर्षदेखि प्रेम सम्बन्ध रहेको र सामाजिक सञ्जालका सम्पूर्ण पासवर्डहरु पनि आदानप्रदान रहेको उनले अनुसन्धानका क्रममा बताएका थिए ।

‘६ महिनाअघि मदेखि अलग हुन खोज्ने, नबोल्ने र झगडा गर्न खोज्ने गरेपछि मैले आत्महत्याको प्रयाससमेत गरेको थिएँ’, गणेशले बयानका क्रममा भनेका छन्, ‘गोमाले फेसबुकको पासवर्ड परिवर्तन गरेपछि मैले गुगल क्रोमबाट रिकभर गरेर हेर्दा एक युवकसँग भएको च्याटमा उनका गोप्य तस्विरहरु भेटें ।’

उनले गोमा र आफूबीच रहेको गोप्य भिडियो सार्वजनिक गर्ने धम्कीमात्र दिएको बताएका छन् । उनले फेसबुक लाइभमा आएर गोमा र आफूबीचको प्रेम सम्बन्धबारे बोलेको पनि स्वीकार गरेका छन् ।

काठमाडौं जिल्ला सरकारी वकिलले गणेशविरुद्ध एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबी लिएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *