सरस्वतीनगर हत्याकाण्ड- शंकास्पद व्यक्तिको पहिचान, अनुसन्धान निष्कर्षनजिक – Nepal Press

सरस्वतीनगर हत्याकाण्ड- शंकास्पद व्यक्तिको पहिचान, अनुसन्धान निष्कर्षनजिक

काठमाडौं । चावहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका नीरा पाण्डे आचार्यको हत्यामा संलग्न एक आशंकित व्यक्तिको तस्बिर फेला परेको प्रहरीले जनाएको छ ।

‘अध्ययनका क्रममा घटनामा संलग्नताका केही आधारसहित एक व्यक्तिको हुलिया खुलेको छ । तर, ती व्यक्ति को हुन् ? एक्लै वा समूहमा थिए ? हतियार व्यवस्थापनको अवस्था के हो ? जस्ता विषयहरु यकिन भएको छैन । ‘हामी गहिरोसँग अध्ययन गरिरहेका छौं’, प्रहरी स्रोतले भन्यो ।

घटनाको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उनले बताए । सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुले इन्स्पेक्टर राजन लामा नेतृत्वको टोली परिचालन गरेको छ ।

याे पनि पढ्नुस्: सरस्वतीनगर हत्याकाण्ड: बिहान आमाको काख मागिन्, दिउँसो चक्कुले घोचेर मारियो

परिसरका एसएसपी दानबहादुर कार्कीले विभिन्न किसिमबाट प्राप्त भएका सूचनाका आधारमा अनुसन्धान भइरहेको बताए ।

‘घटनाको अनुसन्धान गर्ने अपराध महाशाखासहित स्थानीय प्रहरी वृत्त, प्रभागहरुसँग समन्वय गरेर हामी छिट्टै घटनाको कारण सार्वजनिक गर्ने छौं’, उनले भने ।

घटनास्थलमा सिसिटिभी रेकर्ड नभएको, सडकमा जडित सिसिटिभीले घटनास्थलका दृश्य नदेखाएका कारण घटनाको अनुसन्धान जटिल भएको कार्की बताउँछन् । ‘अनुसन्धानमा अलमल छैन, हामी सही ट्र्याकमा छौं’, कार्कीले भने ‘हामी केही दिनभित्रै अनुसन्धानको निश्कर्षमा पुग्दैछौं ।’

७ वैशाखमा सरस्वतीनगरस्थित निरु भाडा पसलमा सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या भएको थियो । घटना भइरँहदा कसैले पनि त्यसबारे जानकारी पाएनन् ।

अपराह्न ३ बजे स्थानीय एक महिला उक्त पसलमा पुगेपछि पाण्डेलाई रगताम्य भई ढलेको अवस्थामा फेला पारेकी थिइन् । त्रिवि शिक्षण अस्पतालले सोही दिन उनलाई मृत घोषणा गरेको थियो ।

 

प्रतिक्रिया

One thought on “सरस्वतीनगर हत्याकाण्ड- शंकास्पद व्यक्तिको पहिचान, अनुसन्धान निष्कर्षनजिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *