सरकार-खेलकुद परिषदका टकरावले राष्ट्रपति कप अनिश्चित, सदरमुकाम आएका ११ सय खेलाडी अन्यौलमा – Nepal Press

सरकार-खेलकुद परिषदका टकरावले राष्ट्रपति कप अनिश्चित, सदरमुकाम आएका ११ सय खेलाडी अन्यौलमा

रुपन्देही । लुम्बिनी प्रदेश खेलकुद परिषदले सरकारसँग समन्वय नै नगरी ११ गतेदेखि सुरु गर्न लागेको प्रदेशस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगितामा सहभागी हुन तयार भएका खेलाडीहरु अलपत्र परेका छन् ।

खेलकुद परिषदले सरकारले बिनियोजित बजेट एकाएक रोकिदिएर समस्यामा परेको दाबी गरेपनि प्रदेश सरकारले भने यसप्रकारको कुनै फाइल आएर नरोकिएको जनाएको छ ।

प्रतियोगितामा सहभागिताका लागि १२ वटै जिल्लाबाट छनौट भएका खे्लाडीहरु सदरमुकाम आएर बसेको तर आयोजकले आउनका लागि रोकेपछि अन्यौलमा परेको हो ।

प्रदेशका १२ वटै जिल्लाबाट खेलाडीहरु प्रतियोगिताका लागि बुटवल प्रस्थान गर्नै लाग्दा प्रदेश सरकारबाट एकाएक बजेट निकासा रोकिदिएको भन्दै खेलाडीहरुलाई जिल्लामै रोकिएको दावी परिषदको छ ।

कतिपय जिल्लाबाट झण्डासहित बसपार्कमा बस चढ्न पुगेका खेलाडीहरु बसपार्कमै अलपत्र परेका छन् । रोल्पास्थित विमलप्रसाद पोखरेलले सबै जिल्लामा खेलाडी तयार भएर सदरमुकाम आइपनि आयोजकले रोकेर खेलाडीमाथि अन्याय गरेको बताए ।

यसअघिको सरकारले गठन गरेको प्रदेश खेलकुद परिषदले अहिलेको सरकारलाई जानकारी नै नदिई कार्यक्रमको तयारी गरेर सरकारविरुद्ध अर्नगल प्रचार गरेको सरकारी पक्षको भनाइ छ । मुख्यमन्त्रीका निजी सचिव अमृत गिरीले राजनीतिक पूर्वाग्रह राखेर खेलकुद परिषदले सरकारलाई जानकारी नै नदिई तयारी गरेर सामाजिक सन्जालमा सरकार र मुख्यमन्त्रीविरुद्ध लेख्न लगाइएको बताए ।

‘भोलि मुख्यमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ, आज बजेट चाहियो भनेर हुन्छ ? यो मुख्यमन्त्रीविरुद्ध राजनीतिक स्टण्डबाहेक केही होइन, सरकारले कागजी प्रक्रिया जान्ने हो, कसैले सामाजिक सन्जालमा राखेका आधारमा बजेट दिँदै हिँड्ने होइनहोला नि, अन्तिम समयमा हतारमा कागजी प्रक्रिया पूरा नगरी बजेट पाइएन भनेर हुँदैन’, उनले भने ।

मुख्यमन्त्री लिला गिरीले सार्वजनिक रुपमै प्रक्रिया पूरा गरेका कामलाई नरोक्ने निर्देशन दिइसकेको तर परिषदले अनावश्यक विवादमा तान्न खोजेको उनको भनाइ छ ।

राष्ट्रपति कपका लागि प्रदेशबाट बिनियोजित २८ लाख र संघीय सरकारबाट सशर्त बिनियोजित २४ लाख रुपैयाँ रकम प्रतियोगिता सुरु हुने अघिल्लो दिन प्रदेश सरकारले निकासा रोकिदिएको प्रदेश खेलकुद परिषदले जनाएको छ ।

पालिका र जिल्लास्तरका सम्पूर्ण छनौट खेलहरु सम्पन्न भइसकेको र प्रदेशका लागि बन्द प्रशिक्षण पनि सकिएको अवस्थामा बजेटका कारण प्रतियोगिता अनिश्चित भएपछि खेलाडीहरुको भविष्य पनि अन्यौलमा परेको छ ।

प्रदेशभरका १ हजार ८० खेलाडी र १५० अफिसियलहरु बुटवलका लागि हिँडिसकेको अवस्थामा प्रतियोगिता हुने विषय नै अन्यौलमा पारिएको छ । समयमा बजेट निकासा नभएकोले पूर्वनिर्धारित समयमा खेदकुद गर्ननसकेको र यसबारे छलफल गर्न अहिले अर्थ मन्त्रालयमा पुगेको प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए ।

स्थानीय तह र जिल्लाको छनौट सकेर बन्द प्रशिक्षणसमेत सम्पन्न भइसक्दासम्म प्रदेश सरकारबाट बजेट निकासा नभएको सदस्य सचिव भट्टराईले बताए ।

सरकारका प्रवक्ता चेतनारायण आचार्यले भने सम्बन्धित मन्त्रालयबाट फाइल नै पेश नभएको प्रष्ट पारेका छन् । उनले बिनियोजित बजेटको निकासा रोक्ने सरकारको कुनै योजना नभएको बन्दै फाइल नै पेश नभएका कारण निकासा नभएको बताए ।

तर प्रदेश खेलकुद परिषदका सदस्य सचिव भट्टराईले भने सम्पन्न भइसकेका कार्यक्रमहरुको भुक्तानीका लागि आदेश पेश हुँदा पनि रोकिएको बताए ।

उनले गत चैत्र २८ गते नै सम्पन्न भइसकेका कार्यक्रमको भुक्तानी र प्रदेशस्तरीय राष्ट्रपति कपका लागि पेश्की सहित ९४ लाखको दायित्व सहितको बजेट माग गरि फाइल पेश गर्दा सम्पूर्ण बजेट रोक्का भएको बताए ।

खेलकुद पत्रकार मन्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले कुनै राजनीतिक आग्रहपूर्वाग्रहका आधारमा तयारी भएको खेलकुद कार्यक्रम रोक्न नहुने बताए । ‘लुम्बिनी प्रदेश हरेक खेलको उर्वर क्षेत्र हो, कुनै पूर्वाग्रहबाट यो क्षेत्रलाई विवादित बनाउनु हुँदैन’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर