प्रचण्डलक्षित माधवको भनाई- हाम्रो दिलको धड्कन उस्तै ढंगले धड्किरहेको छ, एउटै पार्टी हुन सक्छौं (भिडिओ) – Nepal Press

प्रचण्डलक्षित माधवको भनाई- हाम्रो दिलको धड्कन उस्तै ढंगले धड्किरहेको छ, एउटै पार्टी हुन सक्छौं (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताएका छन् ।

अध्यक्ष नेपालले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच समाजवादी मोर्चा बनाएर अघि बढने दिशामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि पहल गरिरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै घोषणा गरेर अघि बढने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दै उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीहरुबीच एउटै पार्टी हुने पनि बताए ।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिष्ट शक्तिहरुको विकल्प नभएको उल्लेख गर्दै सबै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आग्रह गरे । सो अवसरमा उनले नेकपा मसाल, नेकपा संयुक्तलगायतका साना बाम राजनीतिक शक्तिहरुलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गरे ।

‘आज पनि कम्युनिष्ट पार्टी सानोसानो समूहमा विभाजित भएको देखिन्छ । यो राम्रो पक्ष हो कि नराम्रो पक्ष हो ? मलाई त कहिलेकाँही राम्रो पनि लाग्छ । किन राम्रो लाग्छ भने हिजो म टुँडिखेल गएको थिए । टुँडिखेलको फोटो मैले खिँचेको छु । त्यहाँ पनि मान्छेहरु ओइरिएका थिए । रातो झण्डा फहराईरहेका थिए । कम्युनिष्ट पार्टी जिन्दावाद भनिरहेका थिए । माक्र्सवाद लेनिनवादप्रति गौरवबोध गरिरहेका थिए । कमसेकम अलग्गै पार्टी भएपनि जनतामा चेतना जगाउने काम त गर्दै हुनुहुन्छ । कम्सेकम, बुर्जुवा पार्टी, प्रतिक्रियावादी पार्टीमा त जानु भएन’, नेपालले भने, ‘कम्युनिष्ट पार्ट मै त रहनु भयो । यसरी विभिन्न पार्टीहरु छन । यस्ता पार्टी हुनु राम्रो कुरा पनि हो । तर अर्को कुरा यो नराम्रो कुरा पनि हो । यो सानोसानो पसल थापेर अनि शक्ति विभाजित गरेर त्यसको फाईदा दक्षिणपन्थी शक्तिहरुले उठाउँछन् । यो दक्षिणपन्थी शक्तिहरुले फाइदा नउठाउन भन्नका लागि सबै कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिन सक्यो भने, एउटै शक्तिको रुपमा उभिन सक्यो भने, यी पाँच वटा औंलाहरु मुठ्ठीको रुपमा आउन सक्ने हो भने यो देशको राजनीतिमा, देशको परिवर्तनको अभियानमा अपरिहार्य रुपमा नेतृत्वदायी भूमिकामा उभिन सक्दछ ।’

जनताले कम्युनिष्ट पार्टीलाई पत्याएको, विश्वास गरेको भन्दै नेपालले त्यही पत्याएका कारणले आफूहरुले पटक पटक मुलुकको नेतृत्व गर्ने अवसर पनि पाएका दाबी गरे । उनले मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरुलाई अनुशरण गरेर अघि बढनुपर्ने प्रण गर्नुपर्ने बताए । जनताले २०७४ सालको चुनावमा आफूहरुलाई अवसर दिएको भन्दै त्यो अवसरलाई वास्तवमा सदुपयोग गर्न सकेको भए सबै एकै ठाउँमा गोलबन्ध हुने उनको भनाइ छ ।

‘ठूलो भनिएका तत्कालिन नेकपा एमाले, त्यसपछि नेकपा (माओवादी केन्द्र) यी दुई वटै पार्टी एकतावद्ध भईसकेको थियो । दुई वटै पार्टी एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भईसकेको थियो । त्यो पार्टी अगाडि बढिरहेको थियो । माओवादी केन्द्रसहितको नेकपालाई जनताले झण्डै दुई तिहाई मत दिएका थिए । त्यो अवसरलाई प्रयोग गर्न सकेको भए, सदूपयोग गर्न सकेको भए, सबैको सामूहिक बुद्धि, ज्ञान, क्षमतालाई राम्ररी परिचालित गर्न सकेको भए कम्युनिष्ट पार्टीले कहिल्यै पनि दोस्रो बन्नेअवस्था आउने थिएन’, उनले भने, ‘समाजमा परिवर्तनको अभियानले गति लिने थियो । हामीले आज समाजमा समस्या नै समस्या देखिराखेका छौं । शासन प्रणालीमा विकृति र विसंगति देखिरहेका छौं । भ्रष्टिकरणको प्रवृत्ति देखिरहेका छौं । गरिवी, अभाव र अनकौ किसिमका यातनाले पीडित भएका जनताको क्रन्दन सुनिरहेका छौं । ती सबै सुन्नुपर्ने अवस्था घटदैघटदै जाने थियो । सम्बोधन गर्दै जाने थियौं । र, यो देशलाई समाजवादको बाटोमा अघि बढाउन सक्ने थियौं ।’

तर, आफूहरुले त्यो अवसर गुमाएको नेपालले बताए । फेरी पनि हरेश खानुपर्ने आवश्यकता नभएको भन्दै उनले पार्टीले बाम–समाजवादी शक्तिहरुसँग सहकार्यको नीति अघि सारेको बताए ।

अझ अगाडि बढेर समाजवादी मोर्चा निर्माण गर्ने सोच पनि अगाडि सारेको नेपालले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी मोर्चा बनाउने विषयमा पहल गरेको भन्दै नेपालले धन्यवाद ज्ञापन गरे ।

छिट्टै समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गरेर आफूहरु प्रस्तुत हुन गइरहेको पनि अध्यक्ष नेपालले घोषणा गरे । त्यसका निम्ति अरु समूहहरुसँग पनि कुरा गर्दै जाने सहभागी हुन चाहनेहरुलाई समाजवादी मोर्चामा आवद्ध गरिने नेपालले बताए ।

‘अझै त्यो भन्दा अगाडि बढेर विचार पनि मिल्यो भने, नीति, सिद्धान्त पनि मिल्यो भने, राजनीतिक कार्यदिशा पनि मिल्यो भने, अनि हाम्रो संगठनात्मक सोचहरु पनि मिल्यो भने, हाम्रो कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी पनि हुन सक्छौं’, उनले भने, ‘किनभने हाम्रो दिलको धडकन उस्तैउस्तै ढंगले धडकीरहेको छ । कम्युनिष्टहरु मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना पनि रहेको छ । त्यो दिन पनि टाढा छैन । त्यसो हुनाले हामीले हरेश खानुपर्ने आवश्यक्ता छैन ।’

उनले कार्यक्रममा उपस्थित नेकपा मसालका नेताहरुलाई पनि एकताबारे सोच्नु आग्रह गरे ।

अध्यक्ष नेपालले जनतालाई आशा दिने शक्ति नेपालमा कम्युनिष्ट शक्ति मात्रै भएकाले उनीहरुबीच एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर