उपनिर्वाचनमा धाँधलीको आशंका, सत्ताको दुरुपयोग भएको सरकारलाई समर्थन गर्ने दलहरुकै आरोप – Nepal Press

उपनिर्वाचनमा धाँधलीको आशंका, सत्ताको दुरुपयोग भएको सरकारलाई समर्थन गर्ने दलहरुकै आरोप

काठमाडौं । सत्ता गठबन्धनमै आबद्ध जनमत पार्टी र सरकारलाई समर्थन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार हुने उपनिर्वाचनमा सत्ताको दुरुपयोग र धाँधलीको आशंका गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले वक्तव्य नै निकालेर सरकारको तर्फबाट धाँधलीको शुरुआत भएको र बारा २ मा जसपा उम्मेदवार उपेन्द्र यादव जिताउन प्रहरी प्रशासन समेत प्रयोग भएको आरोप लगाएका छन् ।

राउतले केही मतदान केन्द्रको नामै उल्लेख गरे ती ठाउँमा कब्जा हुने निश्चित रहेको भन्दै पत्रकार गुहारेका छन् । राउतले सर्वदलीय बैठकमा जनमत पार्टीका कार्यकर्तामाथि कुटपीट हुँदा समेत प्रहरी प्रशासनले उल्टै गठबन्धनकै पक्ष लिएको आरोप लगाएका छन् ।

बाराकै पत्रकार सन्जय तिवारीले उपनिर्वाचनको सन्दर्भमा प्रहरी प्रशासन एकपक्षीय भएको टिप्पणी गरेका छन् । उनले प्रतिवाद गर्नेहरुलाई देख लेंगे भन्दै धम्की दिइएको बताउँदै निष्पक्ष निर्वाचनको सम्भावना कम हुँदै गएको बताएका छन् ।

उता सरकारलाई नै समर्थन गरिरहेको रास्वपाले पनि निर्वाचनको निष्पक्षमाथि प्रश्न उठाएको छ । विशेषगरी तनहुँ १ का बुथ कब्जादेखि फर्जी मतदानसम्मका विगतका हर्कत यसपटक पनि दोहोरिन सक्ने भन्दै अनुगमनकर्तालाई सबै मतदान केन्द्रमा पुग्न आग्रह गरेको छ ।

एसपीको कमाण्ड खोसेर एसएसपी खटाइएको तथा बाहिरी व्यक्तिहरुलाई ग्रामिण क्षेत्रमा भित्र्याइएको भन्दै निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको सो पार्टीका तनहुँ जिल्ला सचिव सुर्यमणी पौडेलले बताएका छन् ।

यता प्रमुख विपक्षी दल नेकपा एमालेले निर्वाचनमा सत्ताका दुरुपयोग भइरहेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर