महिलाले गर्दैछन् १० जिल्लाको प्रशासनिक कमाण्ड, सीडीओ र सहायक सीडीओमा एकैपटक १७ जना – Nepal Press

महिलाले गर्दैछन् १० जिल्लाको प्रशासनिक कमाण्ड, सीडीओ र सहायक सीडीओमा एकैपटक १७ जना

काठमाडौं । पछिल्लो समय जिल्लाको प्रशासनिक कमाण्ड सम्हाल्ने महिलाको संख्या बढ्न थालेको छ । सम्भवत: पहिलोपटक सबैभन्दा बढी १० जिल्लामा महिलाले सीडीओको जिम्मेवारी सम्हालेका छन् । प्रमुख जिल्ला अधिकारी (सीडीओको जिम्मेवारी पाएका छन् । १० जिल्लाको प्रशासनीक नेतृत्व सम्हाल्ने सम्भव त महिला सीडीओको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

गृहमन्त्रालयका अनुसार ५ जिल्लामा सहसचिव र ५ जिल्लामा उपसचिव सरहका महिला सीडीओ खटाइएको छ । सहसचिवसरहका महिला सीडीओमा सुनसरीमा हुमकला पाण्डे, रामेछापमा अनिता निरौला, बागलुङमा रोशनीकुमारी श्रेष्ठ, सिन्धुलीमा सुनिता नेपाल र डोटीमा कल्पना श्रेष्ठ छन् । उपसचिवसरहकामा ताप्लेजुङमा गोमादेवी चेम्जोङ, ओखलढुंगामा प्रदर्शनी कुमारी, अर्घाखाँचीमा मीना अर्याल, मनाङमा सुप्रभा ढुंगेल र दार्चुलामा किरण जोशीले कमाण्ड गरेका छन् ।

८ जिल्लाले पहिलोपटक महिला सीडीओ पाएका छन् । गत माघ १८ गते चेम्जोङ ताप्लेजुङको सीडीओ बनेर पुगेकी हुन् । २०२५ सालयता ५४ वर्षको अवधिमा ४७ जना सीडीओ आइसक्दा गोमा पहिलो महिला सीडीओ बनेर जिल्ला पुगेकी हुन् । उनी यसअघि भोजपुर र सिन्धुपाल्चोकको सीडीओ भइसकेकी छन् । यि दुई जिल्लामा पनि उनी महिला सीडीओ बन्ने पहिलो व्यक्ति नै हुन् ।

मनाङले पनि पहिलोपटक महिला सीडीओ पाएको छ । मनाङमा सुभद्रा ढुंगेल गत माघ १२ मा सीडीओ बनेर गएकी हुन् ।

४८ वटा सीडीओ फेरिसकेको सुनसरीले पनि पहिलोपटक महिला सीडीओको रूपमा हुमकला पाण्डेलाई पाएको छ । पाण्डे यसअघि भक्तपुर र काभ्रेपलाञ्चोकमा पनि सीडीओ थिइन् ।

सिन्धुलीले पनि पहिलो पटक महिला सीडीओ पाएको छ । त्यहाँ माघ १६ गतेदेखि सीडीओका रूपमा सुनिता नेपाल कार्यरत छन् । सुनिता ४७औँ प्रजिअको रूपमा सिन्धुली पुगेकी हुन् । उनी यसअघि प्यूठानमा पहिलो महिला सीडीओ बनेर गएकी थिइन् ।

सहसचिव रोशनी श्रेष्ठ बागलुङको सीडीओका रूपमा कार्यरत छिन् ।

त्यस्तै, अर्घाखाँचीमा मीना अर्याल, डोटीमा कल्पना श्रेष्ठ पनि जिल्लाका पहिलो महिला सीडीओ बनेर जिम्मेवारी सम्हाल्न पुगेका छन् ।

गत माघ ११ गते ओखलढुंगामा सीडीओ बनेकी प्रदर्शनी कुमारी तेस्रो महिला प्रमुख जिल्ला अधिकारी बनेकी हुन् । उनी मधेसी समुदायबाट पहिलो महिला सीडीओ पनि हुन् ।

दार्चुलामा पनि किरण जोशी पहिलो महिला सिडियो बनेकी छन् ।

चैत १६ गते मात्रै रामेछापमा सीडीओे बनेकी अनिता निरौला रामेछाममा महिला सीडीओ बन्ने तेस्रो व्यक्ति हुन् । यहाँ यसअघि लीलाकुमारी केसी र रुद्रादेवी शर्माले सीडीओको जिम्मेवारी सम्हालेका थिए ।

ओखलढुंगाका सीडीओ र सहायक सीडीओ दुवैजना महिला

ओखलढुंगामा दोस्रो पटक प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) महिलाले सम्हालिरहेका छन् । हाल त्यहाँ उपसचिवद्वय प्रदर्शनी कुमारी सीडीओ र सन्ध्या सिग्देल सहायक सीडीओ छन् । कुमारीलाई गृह मन्त्रालयले गत माघ ११ गतेदेखि प्रजिअको जिम्मेवारी दिएको हो । सिग्देल करिब १ वर्षदेखि सहायक सीडीओ छिन् ।

७ जिल्लामा महिला सहायक सीडीओ

गृह मन्त्रालयका अनुसार ७ जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी महिला कार्यरत रहेका छन् । जसमा काठमाडौंमा उपसचिव सरहका ३ जना सहायक प्रमुख जिल्ला अधिकारी रहेकोमा एक जना महिला देवी पाण्डे सहायक प्रमुख जिल्ला अधिकारी छन् । कार्यालयको प्रशासन शाखा प्रमुखसमेत रहेकी पाण्डे सूचना अधिकारीको जिम्मेवारीमा छिन् । दाङमा एक जना सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी रहेकोमा सावित्रा पुन: उक्त जिम्मेवारीमा छन् । स्याङजामा उपसचिव नमिता रेग्मी छिन् ।

सोलुखुम्बुमा सीता अधिकारी, बझाङमा सत्यकुमारी जोशी, जुम्लामा प्रमिला रिजालले सहायक सीडीओको जिम्मेवारी सम्हालेकी छन् ।

४७ मा पहिलोपटक महिला सीडीओ बनेकी थिइन् उषा नेपाल

प्रमुख जिल्ला अधिकारीमा महिलाको प्रतिनिधित्व निकै कम छ । तर, ३२ वर्षअघि नै महिला सीडीओ उषा नेपाल बनिसकेकी थिइन् । बहुदलपछि २०४७ साल फागुन ५ गतेदेखि २०४८ मंसिर ३ गतेसम्म उनी ८ महिना मुलुकभरसहित भक्तपुरको पहिलो महिला सीडीओ बनेकी थिइन् । सीडीओमा महिलाको प्रतिनिधित्व भएको यो पहिलो पटक थियो । उनी ललितपुर, पर्सा, बाँके, सोलुखुम्बु र मुस्ताङ जिल्लासमेतको सीडीओ भइन् । निजामती सेवाबाट सेवा निवृत्तपछि उनी निर्वाचन आयोगको आयुक्तसमेत भएकी थिइन । नेपाल २०६३ कात्तिक २३ गतेदेखि २०६५ माघ १६ गतेसम्म निर्वाचन आयुक्त थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर