उपचुनाव : मौन अवधि लागू, के-के कुरामा बन्देज ? – Nepal Press

उपचुनाव : मौन अवधि लागू, के-के कुरामा बन्देज ?

काठमाडौं । आइतबार हुने उपचुनावअन्तर्गत गएको मध्यरातिदेखि मौन अवधि सुरू लागू भएको छ ।

बारा २, चितवन २ र तनहुँ १ मा उपचुनाव तोकिएको छ । मौन अवधि सुरू भएसँगै प्रचार प्रसारमा बन्देज लागेको छ ।

निर्वाचन आयोगका अनुसार यस अवधिमा राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् । सञ्चार माध्यमले पनि कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरू हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको आयोगले जनाएको छ । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानूनमा उल्लेख छ  ।

के के गर्न पाइँदैन ?

-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने ।

-मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

-एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

-अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर