चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले भने- गठबन्धन दल विशाल नदी, रास्वपा खहरे खोला – Nepal Press

चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले भने- गठबन्धन दल विशाल नदी, रास्वपा खहरे खोला

चितवन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टै सम्पन्न गरिने बताएका छन् ।

चितवनको निर्वाचन क्षेत्र नं २ को चुनावीसभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपिल गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अघिल्लो पटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ । संयोगले यसपटक पनि म नै प्रधानमन्त्री छु । यो कार्यकालमा औद्योगिक ग्राम निर्माणको काम सम्पन्न गर्छौं ।’

उनले खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गर्न चितवनवासीलाई आग्रहसमेत गरे ।

‘कहिलेकाहीं खहरे खोला पनि उर्लिएर आउँछ । त्यो छिट्टै सुक्छ । तर, नदी सदाबहार हुन्छ । केही समयदेखि यता चितवनमा खहरे भेल आएको छ । तर, अहिले विस्तारै सुक्दैछ । मतदाताहरू लयमा फर्किंदैछन्’, उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी जस्ता पार्टीहरू विशाल नदी हुन् । यिनीहरू सदाबहार रूपमा अगाडि बढ्छन् ।’

जीतनारायण श्रेष्ठ चितवन २ का लागि सबैभन्दा योग्य उम्मेदवार भएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘चितवनलाई राम्रोसँग बुझेको, यहाँका जनतासँग भिजेको उम्मेदवार उहाँ नै हो । उहाँ कांग्रेसको मात्र नभएर गठबन्धनको साझा उम्मेदवार हो । जीतनारायणलाई जिताएर पठाउनुस्, चितवनको विकासमा महत्त्वपूर्ण सहयोग गर्छौं ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन बनेको दोहोर्‍याउँदै उनले गठबन्धन गरेरै लोकतन्त्र र संविधानविरोधी शक्तिलाई हराएको जिकिर गरे ।

‘संसद विघटन गर्ने प्रवृत्तिलाई सडकबाट पराजित गर्‍यौं । त्यसकै आधारमा अहिलेको गठबन्धन बनेको हो । सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएर गठबन्धन सरकार अगाडि बढिरहेको छ’, उनले भने ।

सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन २ को विकासका निम्ति जीतनारायण श्रेष्ठ सबैभन्दा योग्य उम्मेदवार भएको भन्दै अत्यधिक मतले विजयी गराउन चितवनवासीलाई अपील गरे ।

कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइराला, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर