अनि विघटन गरियो एमाले डडेल्धुरा जिल्ला कमिटी – Nepal Press

अनि विघटन गरियो एमाले डडेल्धुरा जिल्ला कमिटी

कांग्रेस उम्मेदवारलाई जिताउन लागेको र प्रधानमन्त्रीसँग साँठगाँठ गरेको आरोप

कैलाली । चैत १९ गते नेकपा एमाले डडेल्धुराका अध्यक्ष प्रकाश साउदलाई एमाले प्रदेश कमिटीले चार आरोप लगाउँदै स्पष्टीकरण सोध्यो । कांग्रेस उम्मेदवारलाई जिताउन लागेको र प्रधानमन्त्रीसँग साँठगाँठ गरेको आरोपसहित सोधिएको स्पष्टीकरणको जवाफ अध्यक्ष साउदले १५ दिनसम्म दिएनन् ।

उनीमाथि लगाइएका चार आरोप यस्ता थिएः

१. पार्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंमा केन्द्रीय नेतृत्वसँगको छलफलको निचोडसमेत लिएर विपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद र प्रदेशसभा सदस्यमा उम्मेदवार गोविन्दराज बोहरासित बसेर पार्टीका उम्मेदवार हराउने षडयन्त्र गरेको ।

२. पार्टीको प्रदेश अध्यक्षबाट टिकट लिएर डडेल्धुरा पुगी विपक्षी पार्टीसँग मिलेर नेपाली कांग्रेस बीपीसँग भएको सम्झौता तोड्ने र प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा गोविन्दराज बोहरालाई सहयोग पुग्ने गरी स्वतन्त्र उम्मेदवार तारा जोशीलाई उम्मेदवार बनाउने र आफ्नो उम्मेदवार गजेन्द्र शाहीलाई हराउने गरी षडयन्त्र गरेको ।

३. निर्वाचनको समय जिल्ला छाड्दा पार्टीको जिल्ला इन्चार्जलाई जानकारी नदिई र उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी नदिई कार्तिक १ गते काठमाडौं गई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारको प्रधानमन्त्री निवासमा बसेर नेकपा एमालेका उम्मेदवार हराउने र आफू प्रधानमन्त्रीले घोषणा गरेको मेडिकल कलेज व्यवस्थापनमा जिम्मेवारी लिने सम्झौता गरेको ।

४. २०७९ फागुन ५ गतेदेखि पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा डडेल्धुरा जिल्लामा भएका कुनै पनि कार्यक्रममा सहभागी नभएको र अभियानभरि सक्रिय नभएको तथा पार्टीको माथिल्लो कमिटीको निर्णय नमानेको ।

यी चार बुँदामा प्रदेश कमिटी सचिव धर्मराज पाठकले अध्यक्ष साउदलाई स्पष्टीकरण सोधेका थिए ।

स्पष्टीकरणको अन्तिममा लेखिएको थियो, ‘उपरोक्त विषयमा तपाईंलाई कारबाही गर्न नपर्ने कुनै मनासिब कारण भए पत्र प्राप्त भएको मितिले सात दिनभित्र पार्टी प्रदेश कमिटीलाई स्पष्टीकरण दिन निर्देशन गरिन्छ ।’

सात दिन समय दिएर स्पष्टीकरण सोधेको १५ दिनसम्म कुनै जवाफ नआएपछि वैशाख ३ गते सोही कमिटीका सचिव गजेन्द्र शाहीलाई संयोजकको जिम्मेवारी दिँदै प्रदेश कमिटीले साउदले नेतृत्व गरेको जिल्ला कमिटी विघटन ग¥यो ।

‘उहाँले पार्टी नीतिविपरीत गतिविधि गर्नुभएको पाइयो’, प्रदेश सचिव पाठकले भने, ‘पार्टीको विधानअनुसार त्यो कमिटीलाई विघटन गरेर नयाँ जिम्मेवारी दिइएको छ ।’

२०७८ पुस २५ गते साउद डडेल्धुरा पार्टी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । सोही कमिटीमा सर्वसम्मत सचिवको जिम्मेवारी पाएका शाहीलाई अहिले पार्टी प्रदेश कमिटीले संयोजकको जिम्मेवारी दिएको हो । उनलाई असार मसान्तभित्रै विशेष जिल्ला अधिवेशन सम्पन्न गर्नसमेत निर्देशन दिइएको छ ।

यस विषयमा बुझ्न खोज्दा विघटित जिल्ला कमिटी अध्यक्ष साउदको फोन उठेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर