टेनिस खेलाडी अभिषेकको उपलब्धि : विश्व वरीयता, अबकाे लक्ष्य- ग्रान्डस्लाम – Nepal Press

टेनिस खेलाडी अभिषेकको उपलब्धि : विश्व वरीयता, अबकाे लक्ष्य- ग्रान्डस्लाम

पोखरा । पोखरा महानगरपालिका-५, पर्स्याङका अभिषेक बास्तोला ८ वर्षको उमेरदेखि टेनिस खेल्थे । १७ वर्षअघि उनी बुवासँगै कोर्ट गएर टेनिस खेल्ने उनी देश विदेशमा गएर खेल्ने भएका छन् । सानै उमेरदेखिको मोह र मिहेनतले उनी अहिले विश्व टेनिस महासंघ (वर्ल्ड टेनिस फेडेरेसन)को विश्व वरीयतामा पहिलोपटक अटाउन सफल बनेका छन् ।

उनी विश्व वरीयतामा स्थान बनाउने पहिलो नेपाली टेनिस खेलाडी हुन् । हालसम्म १४ वटा देशमा गएर टेनिस प्रतियोगितामा सहभागी भइसकेका उनी टेनिसको विश्व वरीयताको १९९३ औं स्थानमा छन् । उनी हालसम्मकै उच्च वरीयता १७९० औं स्थानमा पुग्न सफल भएका थिए ।

टेनिस महँगोमध्येको एक खेल हो । नेपालमा यो खेलमा लगानी अरु खेलभन्दा निकै कम छ । अर्थात सरकारले यो खेललाई खासै महत्व दिएको देखिँदैन । उनी पारिवारिक सहयोगकै कारण यो उपलब्धि हासिल गरेको बताउँछन् । उनी भन्छन्, ‘पारिवारिक सहयोगकै कारण यो उपलब्धि हासिल गर्न सकें ।’

उनी कक्षा ९ पढ्न थाइल्यान्ड गएका थिए । त्यसपछि अमेरिकामा छात्रवृत्तिमा पढ्न गए । त्यहाँ पनि उनले नियमित टेनिस खेले । अमेरिकाको क्यालिफोर्नियाको सेन्ट मेरिज कलेजबाट स्नातक गरिसकेका छन् । अमेरिकामै अध्ययन गर्दै आइरहेका उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।

उनी अमेरिकामा आयोजित कलेजस्तरीय प्रतियोगितामा सबैभन्दा ठूलो एनसिएएको डिभिजन १ मा सहभागी भई माथिल्लोस्तरका टेनिस प्रतियोगिताका लागि छनोट पनि भएका छन् । ‘नेपालमै बसेर यो उपलब्धि हासिल हुने सम्भव थिएन, परिवारको महत्वपूर्ण भूमिका सहयोग र उत्साहसँगै हौसलाले यहाँसम्म पुगें,’ उनी भन्छन् ।

सन् २०१४ मा १४ वर्षकै उमेरमा अभिषेकले कोरियाको इन्चोनमा भएको १७ औं एसियन गेम्समा सहभागिता जनाएका थिए । चीनको नान्जिङमा दोस्रो युथ गेम्समा सहभागिता जनाएका अभिषेकले इन्डोनेसियामा आयोजित १८ औं एसियन गेम्समा नेपालको प्रतिनिधित्वसमेत गरिसकेका छन् ।

सन् २०१३ मा चीनमा अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन जुनियर सर्किटमा भाग लिएको अनुभव उनीसँग छ । यस्तै, कोरियाको इन्चोकमा १७औँ एसियन गेम्स, भारतको गुवाहटीमा १२औँ साउथ एसियन गेम्स, इन्डोनेसियाको जाकार्तामा सन् २०१८ मा १८ औँ एसियन गेम्स खेलेको अनुभव पनि उनीसँग छ ।

८ वर्षकै उमेरमा टेनिसप्रति लगाब बढाएका अभिषेकको सपनालाई बुवा अनुज बास्तोलाले पुरा गर्दै गए । बुवा अनुज आफैं पनि कास्की जिल्ला टेनिस संघमा आवद्ध मात्रै नभई टेनिस खेलाडीसमेत हुन् । बुबा अनुजले अभिभावकको नाताले छोराको उपलब्धिप्रति गर्व महसुस भएको बताउँछन् ।

‘अभिभावकको नाताले छोराको उपलब्धिप्रति गर्व छ, परिवारले वातावरण बनाइदियौं,’ उनले भने, ‘टेनिस संघसँगै राज्यले पनि खेलाडीलाई प्रवद्र्धन गर्नेतर्फ ध्यान दिनुपर्छ ।’

टेनिस नै आफ्नो जीवन भएको अभिषेक बताउँछन् । उनी भन्छन्, ‘टेनिसमा मेरो करियर सुरु भएको छ, टेनिस मेरा लागि जीवन हो । मलाई लाग्छ, यसैका लागि म जन्मिएँ, मैले ८ वर्षकै उमेरबाट टेनिस खेल्न सुरु गरेको हुँ । बुवालाई जिद्दी गरेर टेनिस खेल्नका लागि टेनिस कोर्टसम्म पुर्याउँथे ।’

टेनिसमा अहिलेको सफलता हासिल गर्नुको पछाडि थुप्रै चुनौती झेलेको उनी बताउँछन् । ‘चुनौती जित्नका लागि शारीरिक, मानसिक एवं प्राविधिक रूपमा प्रशिक्षित हुन जरुरी छ, यहाँ पुग्न सही व्यक्तिको सहयोगको खाँचो पर्छ,’ उनले भने ।

उनले अबको लक्ष्य ओलिम्पक गेम हो । त्यसपछिको लक्ष्य भने टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता ग्रान्ड स्लाम खेल्ने हो । ‘टेनिसमा अन्तिम लक्ष्य नै ग्रान्ड स्लाम हो, यो वर्ष ओलम्पिक खेल्ने चाहना छ,’ उनले भने, ‘त्यसपछि अर्काे वर्ष ग्रान्डस्लाम खेल्ने लक्ष्य छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर