बालकोट बैठक: टीआरसी विधेयकमा प्रचण्ड र देउवासँग एमालेले राख्यो यी शर्त (भिडिओ) – Nepal Press

बालकोट बैठक: टीआरसी विधेयकमा प्रचण्ड र देउवासँग एमालेले राख्यो यी शर्त (भिडिओ)

काठमाडौं । तीन दलका शीर्ष तहको बैठकमा नेकपा एमालेले टीआरसी विधेयक टुंग्याउन शर्त राखेको छ।

एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको तीन दलको शीर्ष तहको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको विषयमा आफूहरूले अडान राखेपछि संवैधानिक परिषद्को बैठक राख्ने सहमति भएको प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनले भने, ‘१५ महिनादेखि सर्वोच्च अदालत नेतृत्वविहीन छ। त्यो विषयमा सरकारले ध्यान दिनुपर्छ । अब यही बैठकको सहमतिअनुसार प्रधानमन्त्री अघि बढ्नुहुन्छ भन्ने विश्वास छ ।’
संसद सबैको भएकाले टीआरसी, विषयगत समितिलगायतको विषममा सहमतिमा अगाडि बढ्नुपर्नेमा बर्तौलाले जोड दिए ।

उनले भने, ‘सरकार उहाँहरूले जसरी आफ्नो बहुमतको आधारमा चलाउनुभएको छ । त्यो अलग कुरा हो । तर, सबैको हो । त्यसमा विषयगत समिति टुंग्याएर अघि बढ्नुपर्छ । एमालेले संसदमा प्राप्त गरेको हैसियतअनुसार विषयगत समितिमा भूमिका पाउनुपर्छ भन्ने कुरा राखेका छौं ।’

संविधान कार्यान्वयको विषयमा शीर्ष तहमा सहमति बनाएर अघि बढ्नुपर्ने उनले बताए । एमाले देश निर्माण, संविधान कार्यान्वयन र कानून निर्माणमा साथ दिने बर्तौलाको भनाई छ ।

टीआरसीमा एमालेले नमानेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘यो राष्ट्रको साझा विषय हो । हामी छिटो गर्नुपर्छ भन्ने मै छौं । तर, विधेयकमा रहेको कतिपय विषयमा हामीले बहस गर्नुपर्छ ।’

पीडितहरुलाई न्याय दिने कुरामा शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण हिस्सालाई छिटो टुग्याउनुपर्ने बताए ।

उनले भने, ‘पीडितलाई ध्यान दिनुपर्छ । सत्यको राम्रो अन्वेषण गर्नुपर्छ । पीडितहरुलाई राहतको सुविधा दिनुपर्छ ।’

न्याय निरुपणको विषयमा अन्तर्राष्ट्रिय जगतले पछि कुनै प्रश्न नउठाओस् भन्ने कुरामा एमाले सचेत रहेको भन्दै उनले टीआरसी विधेयकलाई विषयगत समितिमा लगेर टुंग्याउनुपर्ने बताए ।

बालकोट बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर