उच्च तहमा २३४ जना कर्मचारीको दरबन्दी रिक्त, सहसचिव दरबन्दीभन्दा बढी – Nepal Press

उच्च तहमा २३४ जना कर्मचारीको दरबन्दी रिक्त, सहसचिव दरबन्दीभन्दा बढी

काठमाडौं । नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवदेखि राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतसम्म २३४ जना कर्मचारीको दरबन्दी रिक्त रहेको पाइएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले यस्तो जानकारी गराएका हुन् ।

मन्त्री मोदीका अनुसार राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा ७४ जनाको दरबन्दी रहेकोमा ७० जनाको पदपूर्ति भएको र ४ जनाको दरबन्दी रिक्त रहेको छ । रापत्रांकित प्रथम श्रेणी अर्थात सहसचिवमा भने २९१ जनाको दरबन्दी रहेकोमा ३०६ जना कार्यरत छन् । दरबन्दीभन्दा बढी रहेका १५ जना सहसचिव चालू आर्थिक वर्षमा नै अनिवार्य अवकाशमा जाने मन्त्री मोदीले संसदलाई जानकारी गराए ।

यस्तै राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवमा ९५३ जनाको दरबन्दी रहेकोमा ९०९ जनामात्रै कार्यरत छन् । मन्त्री मोदीका अनुसार उपसचिवमा ४४ जनाको पद रिक्त छ । राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृतमा २ हजार ३८३ जनाको दरबन्दी रहेकोमा २ हजार २१२ कार्यरत छन् । जसअनुसार १७१ शाखा अधिकृतको पद रिक्त रहेको मन्त्री मोदीले जानकारी दिए ।

पाँच उपमहानगरपालिका निमित्तको भरमा

मन्त्री मोदीका अनुसार ६ वटा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी सहसचिवको रहेकोमा ६ वटैमा सहसचिव कार्यरत छन् । तर, ११ वटा उपमहानगरपालिकामध्ये पाँच वटा उपमहानगरपालिकामा भने निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्थात उपसचिवको भरमा चलिरहेका छन् । बाँकी ६ वटा उपमहानगरपालिमा भने दरबन्दीअनुसारकै सहसचिव प्रमुख प्रशासकीय अधिकृत छन् ।

१३ नगरपालिका र १६ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

मन्त्री मोदीले २७६ नगरपालिकामध्ये १९५ वटामा स्वीकृत दरबन्दीअनुसार उपसचिव नै प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेको जानकारी दिए । ३२ वटा नगरपालिकामा दरबन्दीभन्दा एक तहमुनिका शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत छन् । ३६ नगरपालिकामा प्रशासनबाहेक अन्य सेवाका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । १३ नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको मन्त्री मोदीले जानकारी दिए ।

४६० मा गाउँपालिकामध्ये ३६५ वटामा स्वीकृत दरबन्दीअनुसार शाखा अधिकृत नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । ८९ गाउँपालिकामा प्रशासन सेवाबाहेक अन्य सेवाका प्रमुख प्रशासकीय अधिकृत छन् । १६ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

१५ स्थानीय तहले फिर्ता पठाए प्रमुख प्रशासकीय अधिकृत

माघ ४ गतेपछि रिक्त रहेका २४१ स्थानीय तहमध्ये ६० वटा तहले प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाएको मन्त्री मोदीले जानकारी दिए । उनका अनुसार यस अवधिमा ११ नगरपालिका र ४ वटा गाउँपालिकाले सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठाएका छन् ।

कतिपय कर्मचारी विभिन्न आयोजनामा काजमा, अध्ययन बिदामा, दीर्घरोघी, निलम्बनमा परेको पनि मन्त्री मोदीले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *