पत्नी बलात्कार ठहरे न्यायाधीश गिरीलाई हुनसक्छ पाँच वर्ष जेल, न्याय परिषदले पनि छानबिन गर्दै – Nepal Press

पत्नी बलात्कार ठहरे न्यायाधीश गिरीलाई हुनसक्छ पाँच वर्ष जेल, न्याय परिषदले पनि छानबिन गर्दै

गिरीले दुईपटक कान्छी श्रीमतीको जबरजस्ती गर्भपतन गर्न लगाएपछि आफ्नो बन्ध्याकरण गरेको आरोप

काठमाडौं । न्यायपरिषदका न्यायधीश भुवन गिरी वैवाहिक बलात्कारको आरोपमा हिजो पक्राउ परे । काठमाडौंको गोंगबुबाट उनलाई पक्राउ गरेर कपिलवस्तु पठाइएको छ ।

गिरीमाथि उनकी कान्छी श्रीमती आरती रावलले जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार गरेको, कुटपिट गरेको, बन्धक बनाएकोलगायतका आरोपहरु उनले लगाएकी छन् । नेपालको कानूनले विवाह गरेकी श्रीमतीलाई पनि यदि निजको इच्छाविपरीत यौनसम्वन्ध राखेमा त्यसलाई बलात्कार मान्छ ।

नेपालमा वैवाहिक बलात्कारको कानून निर्माण गरिएको धेरै भएको छैन । २०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी अपराध संहिता ऐन–२०७४’ ले पहिलो पटक वैवाहिक बलात्कारमा सजायको व्यवस्था गरेको हो । सो ऐनको दफा २१९ को उपदफा ४ अनुसार वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुनेछ । तर, ऐनअनुसार पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको, पतिसँग अंश लिई छुट्टै बसेको, पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको अवस्थालाई ‘वैवाहिक सम्बन्ध कायम रहेको’ मानिँदैन ।

यस्तो अवस्थामा पीडितको निवेदन मागबमोजिम आवश्यक भएमा अदालतले पत्नीलाई निज बस्दै आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खाना लगाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न आदेश दिन सक्नेछ । पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन पनि सक्नेछ ।

दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पत्नीलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणका लागि आवश्यक व्यवस्था गर्न लगाउने सक्नेछ । पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाका लागि आवश्यक र उपयुक्त कुरा गर्न गराउन सक्नेछ ।

गिरी र रावलको सम्वन्धविच्छेदको मुद्दा पनि चलिरहेको छ । रावलले सो मुद्दा दायर भइसकेपछि पनि आफूलाई श्रीमानले जबरजस्ती सम्वन्ध राखेको बताएकी छन् । अस्तिको दिन पनि आफ्नै कोठामा आएर गिरीले रातभर बलात्कार गरेको उनको दाबी छ । यस विषयमा उनले छुट्टै जाहेरी दिँदैछिन् । यदि यो आरोप प्रमाणित भयो भने गिरीले अझै कठोर सजाय पाउनेछन् ।

गिरीले जेठी श्रीमतीलाई अंश दिए पनि औपचारिक सम्वन्धविच्छेद गरेका छैनन् । आरतीसँग उनले विवाह गरे पनि बच्चा जन्माएका छैनन् । श्रीमानको दबाबमा पटक-पटक आफूले गर्भपतन गराएको आरतीले बताएकी छन् । जेठी श्रीमतीपट्टिबाट गिरीका ४ जना सन्तान छन् । कान्छी श्रीमतीको गर्भपतन गराएपछि गिरीले आफ्नो स्थायी बन्ध्याकरण गरेका थिए । सन्तानको चाहना रहेकी रावलले श्रीमानले बन्ध्याकरण गरेको थाहा पाएपछि तनावमा परेकी थिइन् । आफूलाई यौनेच्छा पूर्तिको साधनमात्र बनाएको महसुस गरेपछि आरती श्रीमानविरुद्ध जाहेरी लिएर प्रहरीमा पुगेकी हुन् ।

गिरीले चाहिँ आरतीमाथि चोरीको मुद्दा लगाएर प्रहरीमा काउन्टर उजुरी दिएका छन् । आफ्नो घरबाट पैसा चोरेर भागेको भन्दै गिरीले दिएको उजुरीमाथि पनि प्रहरीले एकसाथ अनुसन्धान गरिरहेको छ ।

महान्यायाधिवक्ताको कार्यालयको तथ्यांकअनुसार जिल्ला सरकारी वकिल कार्यालयमा ४० वटा वैवाहिक बलात्कारका मुद्दा दर्ता भएकामा अहिलेसम्म ६ वटामा कसुर कायम भएको छ भने नौ वटामा आरोपितले सफाइ पाएका छन् । एउटा मुद्दा भने फिर्ता भएको छ । २०७८/०७९ को तथ्यांकअनुसार देशभरका अदालतमा वैवाहिक बलात्कारको २४ वटा मुद्दा फर्छ्याेट हुन बाँकी छन् ।

न्याय परिषदले पनि छानबिन गर्दै

प्रहरीले पक्राउ गरिसके पछि न्यायधीश गिरी पदबाट निलम्बित भइसकेका छैनन् । न्याय परिषद्का सहसचिव मानबहादुर कार्कीका अनुसार न्याय परिषदले गिरीमाथी छानबिन प्रक्रिया अघि बढाएको छ । परिषद्ले छानबिन गरिसकेपछि आवश्यक निर्णय लिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *