माओवादीका प्रभावशाली नेता एवं मन्त्रीको विवादित टाइगर प्यालेस होटलसँग के छ कनेक्सन ? – Nepal Press

माओवादीका प्रभावशाली नेता एवं मन्त्रीको विवादित टाइगर प्यालेस होटलसँग के छ कनेक्सन ?

रुपन्देही । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका नेताहरु रुपन्देही आउँदा समान्य होटलमा बस्न रुचाउँदैनन् । आयोजकले अन्यत्र व्यवस्था गरे पनि उनीहरु यहाँ रहेको फाइभ स्टार होटल टाइगर प्यालेसमै पुग्छन् ।

सार्वजनिक जग्गा कब्जा गरेको विषयमा अदालतले छाड्न निर्देशन दिएपछि अहिले टाइगर प्यालेस विवादमा छ । प्यालेसभित्रको क्यासिनो पनि चलेको छैन । अष्ट्रेलियन ग्रुपले सञ्चालन गरेको यो होटल नेपाली लगानीकर्ताले किन्न खोजे पनि विवादका कारण उनीहरु सफल हुन सकेका छैनन् ।

यस्तो अवस्थामा सरकारका प्रभावशाली मन्त्रीहरु रुपन्देही आउँदा किन यसमै रात बिताउन पुग्छन् भन्ने विषयले चर्चा पाउन थालेको छ । अवैधानिक काम रोक्ने जिम्मेवारी पाएका गृहमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र सञ्चारमन्त्री रेखा शर्मा केही दिनको अन्तरमा यहाँ आउँदा यही बसेका छन् ।

उनीहरुलाई जुन कार्यक्रममा यहाँ बोलाइएको थियो, त्यसको आयोजकले भने उनीहरुलाई अन्यत्र बसाइको व्यवस्थापन गरेको थियो । तर उनीहरुले टाइगर प्यालेस नै रोज्नुलाई स्थानीय व्यवसायीले शंकाको दृष्टिले हेरेका छन् ।

चैत १६ गते पत्रकार महासंघले लुम्बिनीमा सञ्चार सम्मेलनको आयोजना गरेको थियो । सञ्चारमन्त्री रेखा शर्मा प्रमुख अतिथिको रुपमा आइन् । आयोजकले लुम्बिनीमै रहेको होटलमा उनलाई बसाइको व्यवस्थापन गरेको थियो । तर अन्तिम समयमा सञ्चारमन्त्री शर्मा त्यहाँ बसिनन् र टाइगर प्यालेसमा पुगिन् ।

दुरीका हिसाबले त्यो कार्यक्रमस्थलबाट पनि टाढा थियो र टाइगर प्यालेस वरिपरि अन्य कुनै कार्यक्रम पनि थिएन । त्यो कार्यक्रमको संयोजन गरेका पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का भन्छन्, ‘हामीले सञ्चारमन्त्रीलाई लुम्बिनीकै होटलमा बस्ने गरी बुक गरेका थियौं, अन्तिम समयमा उहाँ टाइगर प्यालेज जाने कुरा भयो । यद्यपि त्यो खर्च हामीले तिर्नुपरेन । खै कसरी कहाँबाट मिलाउनुभयो थाहा भएन ।’

सोमबार नारायणगढबाट रुपन्देही आएका उपप्रधान तथा गृहमन्त्री पनि टाइगर प्यालेसमै बस्न पुगे । उनीसँगै आएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासहित सबैलाई ड्रिमल्याण्ड होटलमा बस्ने व्यवस्था मन्त्रालयले गरेको थियो । तर, उनी आफ्नो टीम लिएर टाइगर प्यालेसमा पुगे । माओवादी रुपन्देहीका धेरै नेताहरुलाई उनी कहाँ बसेको सूचना नभए पनि नेता हकिकुल्ला खाँले श्रेष्ठ टाइगर प्यालेसमा बसेको बताए ।

भौतिक मन्त्रालयको कार्यक्रमअनुसार नारायणगढ-बुटवल सडक खण्ड, सिद्धबाबा सुरुङमार्ग अवलोकन तथा साँझ विभिन्न क्षेत्रका आयोजनामा भएको ढिलाइका विषयमा ड्रिमल्याण्डमा अबेरसम्म कार्यक्रम भए पनि त्यो सकाएर उनी टाइगर प्यालेस पुगेका थिए ।

माओवादी रुपन्देहीका एक नेताले भने, ‘हामीले नेताहरु सामान्य होटलमा बसून्, विवादित होटलमा नबसून् भन्ने हो । खै ! कसले कसरी पुर्‍याउँछ थाहा भएन । सर्वहाराको पार्टी भन्ने अनि साना होटलमा रात बिताउन पनि नसक्ने हुन थाले । मन्त्रीमात्र होइन, पार्टीका अन्य ठूला नेताहरु आउँदा पनि त्यतै बस्न थालेका छन् आजभोलि ।’

विवादमा रहेको होटलमा माओवादी निकटका केही व्यवसायी मिलेर मन्त्री तथा शीर्ष नेताहरुलाई प्रभावमा पार्न खोजेको आशंका स्थानीयले गरेका छन् ।

के हो टाइगर प्यालेसको विवाद ?

हङकङमा मुख्यालय रहेको सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको यो होटलले सरकारी जग्गा हड्पेको अदालतबाटै प्रमाणित भएको छ । नेपाली बैंकको करिब साढे दुई अर्ब रूपैयाँसहित ५ अर्ब लगानी रहेको यस होटलका विदेशी लगानीकर्ता सरकारी जग्गासमेत बेचेर नेपालबाट बाहिरिन खोजेको पाइएपछि विवाद बढेको हो ।

माघ ४ मा जिल्ला अदालत रूपन्देहीले रिसोर्टले मिचेको सार्वजनिक जग्गा खाली गर्न आदेश दिए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । जिल्ला अदालत रूपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकोले खाली गर्न भन्दै स्थानीयले दिएको निवेदनउपर वादी दाबी पुग्ने आदेश गरेको थियो ।

उक्त रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले मुद्दा दायर गरेका थिए । लुम्बिनी नलकुप जल उपभोक्ता समितितर्फबाट समितिका अध्यक्ष थानेश्वर घिमिरेले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए ।

अदालतको उक्त आदेशसँगै सरकारी जग्गामा बनेका सबै संरचना भत्काउनुपर्ने हुन्छ । अदालतको आदेशसँगै रिसोर्टमा प्राइम बैंकले लगानी गरेको २ अर्ब ५० करोड संकटमा परेको छ । अदालतमा मुद्दा दायर भएकै बखत प्राइम बैंकले २ अर्ब ५० करोड रुपैयाँ रिसोर्टमा लगानी गरेपछि बैंकसमेत विवादमा आएको थियो । अदालतको आदेशसँगै बैंकले गरेको लगानी डुब्ने खतरा देखिएको छ ।

२०७४ सालदेखि रिसोर्ट सञ्चालनमा आएको हो । १५ बिगा क्षेत्रफलमा फैलिएको रिसोर्टले सरकारी र सार्वजनिक जग्गा मिचेर विभिन्न संरचना बनाएको छ । जसमा क्यासिनो, सभाहल, स्वीमिङ पुल, रेष्टुरेण्टसमेत छन् । हेरिटेज कम्पनीसँग होटल खरिदको सबै प्रक्रिया मिलाएको भुसाल ग्रुपले अन्तिम समयमा विवाद सल्टाउन नसकेपछि रोकिएको छ ।

प्रतिक्रिया

One thought on “माओवादीका प्रभावशाली नेता एवं मन्त्रीको विवादित टाइगर प्यालेस होटलसँग के छ कनेक्सन ?

  1. विदेशबाट लगानी ल्याएको हो कि नेपालबाट जनयुद्वमा लुटेर विदेश लगेको पैसा लगानी भनेर ल्याएको हो । छानविन गर पत्तालागिहाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर