स्टार एकेडेमीले जित्यो बलियो नेपाल कपको उपाधि – Nepal Press

स्टार एकेडेमीले जित्यो बलियो नेपाल कपको उपाधि

पोखरा । बलियो नेपाल कप अन्तर एकेडेमी टी २० क्रिकेट प्रतियोगिताको उपाधि स्टार क्रिकेट एकेडेमीले जितेको छ ।

पोखरा रंगशालामा सोमबार भएको फाइनल खेलमा कर्णाली एकेडेमीलाई ७ विकेटले पराजित गर्दै स्टार क्रिकेट एकेडेमीले उपाधि जितेको हो ।

उपाधि जितेको स्टार एकेडेमीले ट्रफिसहित ५० हजार र उपविजेता बनेको कर्णाली एकेडेमीले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।

७३ रनको लक्ष्य पछ्याएर ब्याटिङ सुरु गरेको स्टार एकेडेमीले ९ ओभर ५ बलमा ३ गुमाएर पूरा गर्यो । स्टारका लागि ओपनर अनमोलले सर्वाधिक २५ रन बनाए । कप्तान अमर मिश्रले २२ रन, विशालले ८ रन बनाउँदा अंकितले अविजित १५ रन बनाए । बलिङतर्फ कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ७२ रनमा समेटिएको थियो । कर्णालीका बिराट भण्डारीले सर्वाधिक १५ रन, रोशनले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरा अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ स्टारका लागि सुमित पराजुलीले सर्वाधिक ३ विकेट ल्याए । ४ ओभर बलिङ गरेको सुमितले १७ रन खर्चिंदै ३ विकेट लिन सफल भए । शुभम खनालले २, कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट ल्याए । फाइनल खेलको प्लेयर अफ द म्याच स्टार क्रिकेट एकेडेमीका सुमित बने ।

प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटर विराटसिंह भण्डारी, र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र घोषित भए । उनीहरुले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर