सचिवमा कृष्णहरि पुष्करको पुनरागमन चर्चा, मन्त्री महतमाथि आरजुको दबाब – Nepal Press

सचिवमा कृष्णहरि पुष्करको पुनरागमन चर्चा, मन्त्री महतमाथि आरजुको दबाब

काठमाडौं । अर्थ मन्त्रालयको नेतृत्व कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पाएसँगै नयाँ बजेट तर्जुमा गर्न अर्थ सचिव फेर्ने तयारी भएको छ । यद्यपि मन्त्रीले रोजेको व्यक्ति भने अर्थमा ल्याउन नसक्ने भएका छन् ।

डा.महतमाथि अर्थसचिव बनाउन शीर्ष तहबाट विभिन्न नाम सिफारिस भइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवासबाट कृष्णहरि पुष्करलाई अर्थमा फर्काउन दबाब बढेसँगै महतले चाहेर पनि बैकुण्ठ अर्याल अर्थको नेतृत्वमा नपुगी अवकाशमा जाने निश्चित भएको छ ।

अर्थमन्त्री निकट स्रोतले भन्यो, ‘अहिले भाउजू (आरजु राणा)बाट अर्थसचिवमा कृष्णहरि पुष्करलाई बनाउन दबाब छ । मन्त्रीले चाहिँ बजेट बनाउने बेला नयाँ ल्याउनुभन्दा हालकै सचिव तोयम रायाबाट काम लिन चाहन्छन् । राय कानूनभन्दा बाहिर गएर काम गर्न मान्दैनन् । उनीसँग अर्थमन्त्रीले सहज मानेका छन् । तर, माथिबाट पुष्करलाई नै अर्थसचिव बनाउन दबाब बढेको छ ।’

हाल सामान्य प्रशासनमा रहेका पुष्कर अमेरिका छन् । पुष्करले अमेरिका जानुअघि अर्थ सचिवको जिम्मेवारी दिए आफू सम्हाल्न तयार रहेको सन्देश सम्बन्धित ठाउँमा पठाएका थिए । मन्त्रीले वैकुण्ठ अर्याललाई अर्थ सचिव बनाएर काम गर्न चाहेका थिए । सञ्चार मन्त्रालयबाट प्रधानमन्त्रीको चाहनामा सरुवा भएका अर्याल अर्थकै क्याडर हुन् । तर, कांग्रेस शीर्ष नेतृत्व पुष्करको पक्षमा छ ।

सीसीटीभी फुटेज काण्डमा जनार्दन शर्माले राजीनामा दिने अवस्थासँगै मधु मरासिनीले अर्थबाट बिदा लिएपछि जनार्दन शर्माले पुष्करलाई ल्याएका थिए । एमाले उपाध्यक्ष विष्णु पौडेलको पालामा उनको सरुवा भएर तोयम राया अर्थमा आएका थिए ।

पुष्कर आरजु राणा र विमलेन्द्र निधिले विश्वास गरेका सचिव हुन् । यद्यपि कांग्रेसकै सांसदहरु भने पुष्करले माथिल्ला नेताबाहेक आफूहरुलाई भाउ नदिएको गुनासो गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *