गुजरातमाथि केकेआरको अविश्वसनीय जीत, रिंकुले हाने अन्तिम ओभरमा लगातार ५ छक्का – Nepal Press

गुजरातमाथि केकेआरको अविश्वसनीय जीत, रिंकुले हाने अन्तिम ओभरमा लगातार ५ छक्का

खेर गयो रसिद खानको ह्याट्रिक

काठमाडौं । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्समाथि अविश्वसनीय जीत हासिल गरेको छ । अन्तिम ओभरमा २९ रन चाहिएको अवस्थामा केकेआरका रिंकु सिंहले लगातार ५ छक्का प्रहार गर्दै टीमलाई जिताए ।

पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले २०५ रनको लक्ष्य दिएको थियो । रसिद खानले १६औं ओभरमा ह्याटि«क लिएपछि खेल केकेआरको पकडमा गएको थियो । अन्तिम ओभरको खेलअघि केकेआरसँग ३ विकेटमात्र हातमा थिए भने २९ रन जीतका लागि चाहिएको थियो ।

खेल हातबाट फुत्किसकेको ठानिएको बेला रिंकु सिंहले चमत्कारिक ब्याटिङ गरे । पहिलो ओभरमा उमेश यादवले एक रन लिएपछि रिंकु स्ट्राइकमा आएका थिए । गुजरातका नयाँ बलर एस दयालमाथि उनले कठोर आक्रमण गरे । दोस्रोदेखि अन्तिम बलसम्म लगातार छक्का वर्षाउँदै रिंकुले टीमलाई ३ विकेटको जीत दिलाएका छन् ।

यता गुजरातका रसिद खानले लिएको शानदार ह्याट्रिक खेर गएको छ । खेलको १६ औं ओभरमा रसिद आफ्नो अन्तिम ओभरको बलिङ गर्न आएका थिए । त्यतिबेलासम्म खेल सन्तुलनमा थियो ।

कोलकोतालाई २४ बलमा ५० रन चाहिएको र ६ विकेट हातमा रहेको अवस्थामा बलिङमा आएका रसिदले एक ओभरमै खेलको दिशा बदलिदिएका थिए ।

१६.१ ओभरका एन्ड्रे रसेल रसिदलाई ठूलो सट हान्ने चक्करमा क्याच आउट भए । सुरुमा अम्पायरले नटआउट दिएपछि बलरले रिभ्यू गर्दा रसेलले विकेट गुमाएका थिए ।

लगत्तैको बलमा वेस्ट इन्डियन ब्याट्सम्यान सुनिल नारिन रसिदको शिकार भए । उनी पनि रसिदलाई आक्रमण गर्ने चक्करमा पहिलो बलमै पेभिलियन फर्किए । तेस्रो बलमा रसिदले सार्दुल ठाकुरलाई एलबिडब्लु धरापमा पार्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

आईपीएलमा रसिदको यो पहिलो ह्याट्रिक हो । तर, उनको ह्याट्रिक गुजरातलाई जिताउन पर्याप्त भएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर