गुमनाम बादल ! माओवादी पृष्ठभूमिका नेताहरू के एमालेमा असन्तुष्ट छन् ? – Nepal Press

गुमनाम बादल ! माओवादी पृष्ठभूमिका नेताहरू के एमालेमा असन्तुष्ट छन् ?

काठमाडौं । नेकपा माओवादी केन्द्रमा हुँदा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि शक्तिशाली नेता मानिन्थे, रामबहादुर थापा बादल।

तर, एमाले र माओवादीबीच एकता भएर बनेको नेकपा भंग भएपछि एमाले रोजेका बादल अहिले राष्ट्रिय राजनीतिमा चर्चाको पात्र बन्न सकेका छैनन्, अर्थात् गुमनाम छन् ।

एमालेको १०औं महाधिवेशनबाट पार्टीमा तेस्रो वरियताको उपाध्यक्ष बनेका बादल अहिले पार्टीको बैठकमा उपस्थित हुनबाहेक अन्य सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
गत मंसिरमा भएको निर्वाचनमा पनि उनले उम्मेदवार बन्न अस्वीकार गरे । अहिले एमालेले देशव्यापी रुपमा मिसन ग्रासरुट अभियान चलाए पनि उनी कुनै कार्यक्रममा सहभागी भएका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अन्य शीर्ष नेताहरु पार्टीको कार्यक्रममा व्यस्त भए पनि उनलाई पार्टी नेताहरुको दौडधुपले छोएको छैन । चुनावमा पार्टीले दिएको टिकट अस्वीकार गरेका बादल एमालेको चुनावीसभामा पनि देखिएनन् ।

यद्यपि उनकी श्रीमती नैनकला थापा भने समानुपातिक सांसद बनेकी छन् । उनीमाथि श्रीमतीलाई सांसद बनाएको आरोप पनि लाग्यो ।

बादलसहित पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापालगायत नेताहरु एमालेमा छन् । महाधिवेशनबाट भट्ट र रायमाझीले सचिव र थापाले स्थायी कमिटीको जिम्मेवारी पाएका छन् । त्यसमध्ये ओलीले भट्टलाई च्यापेको देखिन्छ ।

भीम रावल आफूविरुद्ध लागेपछि सुदूरपश्चिममा पार्टीलाई बलियो बनाउन नै ओलीले भट्टलाई प्रदेश इञ्जार्जको जिम्मेवारी दिएको बताइन्छ । माओवादीमै हुँदादेखि नै भट्ट सुदूरपश्चिममा बलियो पकड राख्ने नेतामा पर्छन् ।

के एमालेमा असन्तुष्ट छन् पूर्वमाओवादीहरु ?

बादल र थापाबाहेक रायमाझी र भट्ट पछिल्लो समय पार्टीको कार्यक्रममा पनि सक्रिय देखिन्छन् । प्रतिनिधि सभामा पूर्व माओवादीबाट ९ जना नेताले टिकट पाएकोमा टोपवहादुर रायमाझी र ज्वाला कुमारी साह निर्वाचित भएका छन् । प्रदेशमा भने यो संख्या धेरै छ । टिकट पाएका प्रभु साहले आफ्नै समूह बनाएर स्वतन्त्र चुनाव लडे र जिते पनि ।

नेताहरुले पार्टीमा आफूहरुलाई उचित जिम्मेवारी नदिएको गुनासो आन्तरिक रुपमा राख्न थालेको चर्चा छ । जुन कुरा माओवादी पृष्ठभूमिका एमाले नेता मणि थापाको पछिल्लो अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

गतसाता उनले नेपाल प्रेससँग भनेका थिए, ‘माओवादी छाडेको पछुतो मलाई छैन । तर, हामी नयाँ एमाले बनाउन गएका हौं । मैले स्थायी समितिमा भनेको छु, पुरानो एमालेको भूत जाग्यो । केपी ओलीभन्दा डेमोक्रेट प्रचण्ड हुनुहुन्छ कुरा सुन्ने मामिलामा । तर, कार्यान्वयन गर्ने कुरा एउटै हो । प्रचण्डले कमसेकम सुन्छन्, केपी ओली कमरेड सुन्नुहुन्न ।’

अब आफूहरुको एमालेभित्रै रहेर संघर्ष गर्नेबाहेक अर्को विकल्प नभएको उनको बुझाइ छ । ‘म अहिले एमाले छोड्ने कुरामा छैन । हामी प्रचण्डसँग फर्किँदैनौं । समग्र समाजवादी केन्द्रको कुरा आयो भने एउटा कुरा भयो’, उनको भनाइ थियो ।

१२बुँदेहरूले जनयुद्धलाई विरोध गर्न नमिल्ने भन्दै नेकपाको दस्तावेजमा माओवादी जनयुद्धले गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको भनेकाले आफूहरुले एमाले नेतृत्व स्वीकारेको उनको भनाइ छ । नेकपा भंग भएताका ओलीले माओवादी नेताहरुलाई फकाउनकै लागि एमाले नै नेकपाको निरन्तरता भएको व्याख्या गरेका थिए ।

याे पनि पढ्नुस्: ‘जनयुद्ध’का कमाण्डरहरु बने एमालेका उम्मेदवार, पूर्वमाओवादी क-कसले पाए टिकट ? (सूचीसहित)

उनी अहिले प्रचण्डलाई आतङ्ककारी भने पनि माओवादीलाई भन्न नमिल्ने मत राख्छन् । तर, उनले अहिले एमालेमा पूर्वमाओवादी असन्तुष्ट नरहेको दाबी गर्छन् ।

उनले नेपाल प्रेससँग भने, ‘अहिले पूर्वमाओवादी नेताहरुबीच पार्टी नेतृत्वप्रति असन्तुष्टि छ जस्तो लाग्दैन । पार्टी नेतृत्वले आवश्यकताअनुसार जिम्मेवारी दिएको छ जस्तो लाग्छ ।’

गुमनाम बादल !

तर, एमालेमा पूर्वमाओवादी धारका नेताहरु गुमनाम नभएको बादल निकट एमाले केन्द्रीय सदस्य दावा तामाङ जिकिर गर्छन् ।

उनले भने, ‘अहिलेको समयमा कसैले गुमनाम बनाउँछु भनेर बनाउन सक्दैन । मेरै कुरा गर्ने हो भनेपछि म १५ वर्षअगाडि नै सांसद भएको मान्छे हुँ । त्यसैले सबैले आआफ्नो ठाउँमा भूमिका बनाएका हुन्छन् । कसैले चाहेर पनि कोही गुमनाम हुन सक्दैनन् ।’

आफूहरु पार्टीको गतिविधिमा अहिले पनि सक्रिय रहेको उनले सुनाए । उनले उपाध्यक्ष बादल पार्टीको बैठकमा सहभागी भइरहे पनि व्यक्तिगत इच्छाले नै धेरै सक्रिय नभएको हुनसक्ने उनको ठम्याइ छ । त्यसैले उनी गुमनाम भन्न रुचाउँदैनन् ।

नेता तामाङको भनाइप्रति स्थायी कमिटी सदस्य थापा पनि सहमत देखिन्छन् । उनी भन्छन्, ‘बादल कमरेड पहिलादेखि नै मिडिया र अन्त पनि धेरै सार्वजनिक नहुने स्वभावको हुनुहुन्छ । उहाँ पार्टीको काममा लागिराख्नुभएको जस्तो लाग्छ । पार्टी बैठकमा गइराख्नुभएकै छ ।’

अहिले एमालेले मिसन ग्रासरुट अभियान चलाइरहेको छ । पार्टीको बैठकमा बाहेक देखिनुहुन्न नि भन्ने प्रश्नमा उनले थपे, ‘उहाँ (बादल) सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यति धेरै रुचि पनि राख्नुहुन्न । पार्टीले दिएको जिम्मेवारी चाहिँ पुर्‍याउनुभएको होला । अहिले मिसन ग्रासरुटमा उहाँलाई जिम्मेवारी नदिएको भन्दा पनि लिन नचाहनुभएको होला । त्यसबारेमा मेरो कुरा भएको छैन ।’

‘माओवादी फर्कनौं’

त्यसो त माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आजैमात्र एमाले सचिव भट्टसँग भेटवार्ता गरे । आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड एमाले नेता भट्टको घरमै पुगेका थिए ।
प्रचण्डसँगको भेट पारिवारिकमात्रै भएकाले कुनै राजनीतिक छलफल नभएको नेता भट्टले बताए ।

प्रचण्डसँगको भेटपछि माओवादीमै फर्किनेबारे उनले भने, ‘त्यस विषयमा कुनै छलफल भएन, त्यो सम्भावना पनि छैन । हामीबीचको सम्बन्ध भनेको सामान्य होइन, ४० वर्षअघि देखि पारिवारिक सम्बन्ध छ, उहाँ यहाँ आउनु अस्वाभाविक होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर