देशका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता, उपचार सेवामा ८० प्रतिशत छुट – Nepal Press

देशका ४४ अस्पतालसँग सामाजिक सुरक्षा कोषको सम्झौता, उपचार सेवामा ८० प्रतिशत छुट

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि देशका ४४ वटा अस्पतालसँग सम्झौता गरेको छ । योगदानकर्ताले उपचारपछि कार्यालयसम्म पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशका ४४ अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको हो ।

सम्झौता भएका अस्पतालमा योगदानकर्ताले उपचार गर्दा लागेको रकमको २० प्रतिशतमात्र बुझाए पुग्नेछ । अनलाइन सेवा सञ्चालन भएका अस्पतालबाट कोषले उपलब्ध गराएका औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गतका स्वास्थ्य सुविधा लिँदा योगदानकर्ताले पछि दाबी गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन् ।

नियमित योगदान गर्ने योगदानकर्ताले बागमती प्रदेशका सबैभन्दा बढी २०, गण्डकी, कोशी र मधेशका ९/९, लुम्बिनीका ४ र गण्डकी प्रदेशका २ वटा गरी कोषको प्रणालीसँग जोडिएका ४४ अस्पतालबाट स्वासथ्य सुविधा पाउन सक्नेछन् ।

२०७९ फागुन १ गतेभन्दा यता देशका विभिन्न १५ वटा स्थानमा अनलाइन सम्झौता भएका ४४ अस्पतालबाट मात्र औषधोपचारबापतको सुविधा भुक्तानी हुनेछ । त्यसबाहेकका स्थानमा जुनसुकै अस्पतालमा उपचार गर्दा कोषको कार्यालयमा आवश्यक कागजात बुझाएर दाबी गर्नुपर्नेछ । अस्पतालको आबद्धतालाई संख्यात्मक र गुणात्मक रुपमा बढाउँदै लैजाने कोषका सहप्रवक्ता रोहित रेग्मीले जानकारी दिए ।

यी हुन् सम्झौता भएका अस्पताल

१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा
२. बी एन्ड सी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– बिर्तामोड, झापा
३. पशुपति मोडेल हस्पिटल– इटहरी, सुनसरी
४. हाम्रो अस्पताल– विराटनगर, मोरङ
५. विराट मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल– टंकिसिनुवारी, विराटनगर
६. नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल– विराटनगर, मोरङ
७. मोरङ सहकारी अस्पताल– सोमबारे हाट, विराटनगर, मोरङ
८. ओखलढुंगा सामुदायिक अस्पताल– ओखलढुंगा
९. रामलाल गोल्छा आँखा अस्पताल– विराटनगर, मोरङ
१०. नेशनल मेडिकल कलेज– वीरगञ्ज, पर्सा
११. वीरगञ्ज हेल्थ केयर अस्पताल– वीरगञ्ज, पर्सा
१२. गण्डक अस्पताल– वीरगञ्ज, पर्सा
१३. स्पर्स अस्पताल– वीरगञ्ज, पर्सा
१४. किरण आँखा अस्पताल– वीरगञ्ज, पर्सा
१५. नमुना सामुदायिक अस्पताल– हरिवन, सर्लाही
१६. जानकी हेल्थ केयर– जनकपुर, धनुषा
१७. छिन्नमस्ता अस्पताल– राजविराज, सप्तरी
१८. शुभ स्वस्तिक अस्पताल– बर्दिबास, महोत्तरी
१९. वीर अस्पताल– काठमाडौं
२०. त्रिवि शिक्षण अस्पताल– महाराजगञ्ज, काठमाडौं
२१. मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल– स्वयम्भू, काठमाडौं
२२. हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल– चाबहिल, काठमाडौं
२३. काठमाडौं मेडिकल कलेज (केएमसी)– सिनामंगल, काठमाडौं
२४. ने.अ.सं. नेपाल अर्थोपेडिक अस्पताल– जोरपाटी, काठमाडौं
२५. तिलगंगा आँखा अस्पताल– तिलगंगा, काठमाडौं
२६. दृष्टि आई केयर– कलंकी, काठमाडौं
२७. एभरेस्ट अस्पताल– नयाँ बानेश्वर, काठमाडौं
२८. होप अस्पताल– सिनामंगल, काठमाडौं
२९. शंकरापुर अस्पताल– गोकर्णेश्वर, काठमाडौं
३०. पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल– सोह्रखुट्टे, काठमाडौं
३१. फ्रन्टलाइन हस्पिटल– पुरानो बानेश्वर, काठमाडौं
३२. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)– ललितपुर
३३. शिर मेमोरियल अस्पताल– बनेपा, काभ्रे
३४. कलेज अफ मेडिकल साइन्सेस– भरतपुर, चितवन
३५. चितवन मेडिकल कलेज टिचिङ हस्पिटल– भरतपुर, चितवन
३६. मकवानपुर सहकारी अस्पताल– हेटौंडा, मकवानपुर
३७. चुरेहिल अस्पताल– हेटौंडा, मकवानपुर
३८. काठमाडौं क्यान्सर सेन्टर– ताथली, भक्तपुर
३९. चरक मेमोरियल अस्पताल– पोखरा, कास्की
४०. ग्यालेक्सी अस्पताल– पोखरा, कास्की
४१. लर्डबुद्ध एजुकेसनल एकडेमी (नेपालगञ्ज मेडिकल कलेज)– कोहलपुर, बाँके
४२. लर्डबुद्ध एजुकेसनल एकेडेमी (नेपालगञ्ज मेडिकल कलेज)– नेपालगञ्ज, बाँके
४३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स– भैरहवा, रुपन्देही
४४. गौतमबुद्ध मुटु अस्पताल– बुटवल, रुपन्देही

कोषबाट के के पाइन्छन् सुविधा ?

कोषले योगदानकर्ता वा योगदानकर्ताको पति या पत्नीको हरेक आर्थिक वर्षमा एक लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्नेछ । सुरक्षित मातृत्व सेवाअन्तर्गत योगदानकर्ता वा योगदानकर्ताको पत्नी सुत्केरी भएमा एक महिनाको न्यूनतम पारिश्रमिक १५ हजार बराबरको शिशु स्याहार खर्च र तीन महिनासम्मको शिशुको उपचार खर्च कोषले व्यहोर्नेछ । महिला योगदानकर्ता सुत्केरी भएको अवस्थामा आधारभूत पारिश्रमिकको ६० प्रतिशतका दरले बढीमा ३८ दिनसम्मको प्रसूति बिदाबापतको रकम उपलब्ध गराइनेछ ।

योगदानकर्ता बिरामी भई अस्पताल भर्ना भए उपचार गराउँदा वा चिकित्सकको सिफारिसमा बेड रेस्टमा बस्दा वार्षिक अधिकतम १३ हप्तासम्मको बिदाबापतको रकम उपलब्ध गराइनेछ । १० लाख रुपैयाँसम्मको घातक रोगको उपचार खर्च कोषले व्यहोर्नेछ ।

कामको सिलसिलामा भएको दुर्घटना र व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च कोषले सबै व्यहोर्नेछ । अन्य दुर्घटनाको हकमा वार्षिक सात लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने व्यवस्था छ । कामको सिलसिलामा हुने दुर्घटनाको कारण योगदानकर्ता अशक्त भएमा स्थायी पूर्ण असक्षमता भए पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन उपलब्ध गराइनेछ भने अस्थायी पूर्ण असक्षमता भए काममा नफर्किउञ्जेलसम्मका लागि पारिश्रमिकको मासिक ६० प्रतिशत उपलब्ध गराइनेछ ।

स्थायी आंशिक असक्षमता भए असक्षमताको प्रतिशतका आधारमा पारिश्रमिकको ६० प्रतिशत रकमलाई शत प्रतिशत मानेर आजीवन उपलब्ध गराइने व्यवस्था छ ।

योगदाकर्ताको मृत्यु भएमा पेन्सन सुविधा

योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा उसको पति या पत्नीले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको सम्पूर्ण रकम प्रतिफलसहित फिर्ता हुने व्यवस्था छ । योगदाकर्ताको जुनसुकै कारणबाट मृत्यु भएमा निजको पति या पत्नीले पारिश्रमिकको मासिक ६० प्रतिशत आजीवन पेन्सन दिलाइने व्यवस्था छ ।

मृतक योगदानकर्ताका बालबच्चा दुई जनासम्मले पारिश्रमिकको ४० प्रतिशत रकम १८ वर्ष उमेर नपुग्दासम्म मासिक रुपमा पाउनेछन् । बच्चाको अध्ययन निरन्तर भए २१ वर्षको हुँदासम्म पाउने तर शारीरिक वा मानसिक रुपमा असक्षम सन्ततिको हकमा उमेर हद लागू नहुने वा आजीवन पाउनेछन् । अविवाहित योगदानकर्ताको हकमा निजको आश्रित बाबु या आमाले आजीवन पेन्सन सुविधा पाउनेछन् ।

त्यस्तै योगदानकर्ताको अन्तिम संस्कार खर्चबापत एकमुष्ठ २५ हजार आश्रित परिवारलाई उपलब्ध गराइनेछ ।

पेन्सन नरोजे प्रतिफलसहित उपलब्ध गराइने

वृद्धावस्था सुरक्षा योजनाको निवृत्तिभरण योजनाअन्तर्गत योगदानकर्ताको उमेर ६० वर्ष पुगेपछि यस योजनामा जम्मा भएको प्रतिफलसहितको रकमलाई १६० ले भाग गरी आउने रकम मासिक रुपमा आजीवन निवृत्तिभरण उपलब्ध गराइनेछ । निवृत्तिभरण लिन सुरु गरेको १८० महिना नपुग्दै मृत्यु भएमा उसको पति वा पत्नीले ५० प्रतिशत रकम आजीवन निवृत्तिभरणबापत पाउनेछन् । अवकास सुविधा योजनाअन्तर्गत अन्य अवकास कोषमा भएको रकम हस्तान्तरण भई आएमा यसै योजनामा जम्मा हुनेछ ।

योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गर्न चाहेमा रकम जम्मा गर्न सक्नेछ । सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणाभन्दा बढी रकम निवृत्तिभरण सुविधा योजनामा जम्मा हुने भएमा बढी भए जति रकम अवकास सुविधा योजनामा जम्मा गर्न सकिनेछ । रोजगारीको अन्त्य हुँदा वा अवकास हुँदा यस योजनामा जम्मा भएको रकम प्रतिफलसहित उपलब्ध गराइनेछ ।

योगदानकर्तालाई यस योजनाको रकमबाट जम्मा गरेको ३ वर्ष अर्थात ३६ महिना पूरा भएपछि अधिकतम ८० प्रतिशतसम्म सापटी सुविधा उपलब्ध गराइनेछ । कोषमा योगदान गर्ने योगदानकर्तालाई सामाजिक सुरक्षा कर छुट दिने व्यवस्था गरिएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *