आईपीएल खेलिरहेका क्रिकेटर पृथ्वी शामाथि यौनहिंसाको आरोप, सपनाले दिइन् उजुरी – Nepal Press

आईपीएल खेलिरहेका क्रिकेटर पृथ्वी शामाथि यौनहिंसाको आरोप, सपनाले दिइन् उजुरी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सहभागी भारतीय क्रिकेटर पृथ्वी शामाथि यौन हिंसाको आरोप लागेको छ । सोसल मिडिया इन्फ्लुयन्सर सपना गिलले उनीमाथि अन्धेरी मेजिस्ट्रेटमा उजुरी हालेकी छन् ।

गिल र उनका साथी आशिष सुरेन्द्र यादवले सार्वजनिक स्थानमा नै आफूमाथि यौनहिंसा र भौतिक आक्रमणसमेत गरेको सपनाको दावी छ । सपनाका अनुसार पृथ्वीले उनको वक्षस्थलमा हातले अँठ्याएर धकेलेका थिए । उनले आफूलाई ब्याटले समेत हिर्काएको बताएकी छन् ।

उजुरी दिने क्रममा सपनाले अस्पतालका कागजात पेश गरेको भारतीय सञ्चारमाध्यममा जनाइएको छ । साथमा उनले यौनहिंसा पुष्टि हुने महत्वपूर्ण डकुमेन्ट पनि पेश गरेको बताइएको छ । यसअघि यही केसमा सपना पक्राउ परेकी थिइन् । तर, अहिले उनले आफू पीडित भएको बताएकी छन् ।

सपनाका वकिल अली कासिफ खानले पृथ्वीविरुद्ध एफआइआर दायर गर्न नमानेको विषयमा एयरपोर्ट पुलिस स्टेसनका दुई अधिकारीमाथि पनि उजुरी दिइएको टाइम्स नाउलाई बताएका छन् ।

यसअघि गत फेबु्रअरी १६ मा ओसिवाराको प्रहरीले सोसल मिडिया इन्फ्लुयन्सर सपना गिललाई मुम्बईको एउटा नाइट क्लवमा पृथ्वी शामाथि आक्रमण गरेको आरोपमा पक्राउ गरेको थियो ।

सँगै सेल्फी खिच्न नमानेको भन्दै सपनाले आफूलाई आक्रमण गरेको दावी पृथ्वीले गरेका थिए । उनीहरुले सडकमा झगडा गरिरहेको भिडियो पनि सामािजक सञ्जालमा भाइरल भएको थियो । त्यसको चार दिनपछि प्रहरीले सपनालाई पक्राउ गरेको थियो । अदालतले उनीसहित चारजनालाई धरौटीमा छोडिदिएको हो ।

आफूमाथि दायर गरिएको एफआईआरमा विल्कुलै झूटो र कपोलकल्पित आरोप लगाइएको सपनाले दावी गरेकी छन् । पृथ्वीले नै आफूलाई ब्याटले हानेको उनको भनाइ छ ।

उनका वकिल अली कसिफ खान देसमुखले भने, ‘फाइभ स्टार होटलमा सपनाले पृथ्वी शालाई एउटा फ्यानको रुपमा भेटेर सेल्फीका लागि आग्रह गर्नुभएको थियो । पृथ्वी शाले रक्सी पिएका थिए र उनको हातमा ब्याट थियो । उनीहरु मस्तिको मुडमा थिए । सेल्फी खिच्न सपनाले आग्रह गर्नासाथ पृथ्वीले ब्याटले हानेका थिए । पछि उल्टै सपनाविरुद्ध प्रहरीमा एफआरआर हाल्न पुगे ।’

पृथ्वी शा भारतको राष्ट्रिय टिमबाट समेत खेलिसकेका ओपनिङ ब्याट्सम्यान हुन् । अहिले उनी दिल्ली क्यापिटल्सबाट आर्ईपीएल खेलिरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर