अर्थमन्त्रीकाे दावी– अर्थतन्त्र सुधार्न गभर्नरले सरकारलाई सहयाेग गर्नुपर्छ, मलाई जस चाहिँदैन – Nepal Press

अर्थमन्त्रीकाे दावी– अर्थतन्त्र सुधार्न गभर्नरले सरकारलाई सहयाेग गर्नुपर्छ, मलाई जस चाहिँदैन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि अहिले देशकाे अर्थतन्त्र समस्या रहेको बताए भन्दै अब जसरी भएपनि सुधार गर्नुपर्नेमा जाेड दिएका छन्  । अर्थतन्त्रमा सुधार ल्याउन नेपाल राष्ट्र बैंकका गभर्नरले भूमिका खेल्नुपर्ने समेत उनले बताए ।

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री डा. महतले पटक पटक राष्ट्र बैंककाे नाम लिएका थिए ।

उनले भने, ‘अहिले देशको अर्थतन्त्र समस्यामा छ । निजी क्षेत्रको मनोबल वृद्धि गर्न आवश्यक रहेको छ । यसका लागि नेपाल राष्ट्र बैंकले पनि भूमिका खेल्नु पर्ने हुन्छ । हाम्राे राष्ट्र बैंकसँग पनि निरन्तर कुराकानी भइरहेको छ । राष्ट्र बैंकले सहयोग गरेमा सजिलै निजी क्षेत्रको मनोबल फर्काउन सकिन्छ । अहिले कुनै पार्टी वा अन्य कुरा भुलेर अर्थतन्त्र ट्रयाकमा ल्याउन आवश्यक छ । बरु त्यो जस मलाई चाहिदैन । अर्थतन्त्र लयमा ल्याएको जस राष्ट्र बैंकलाई पनि जान्छ ।’

अर्थमन्त्री डा. महतले पदभार ग्रहण गरेकै दिन राष्ट्र बैंकको नाम धेरै पटक उच्चारण गरेका थिए । सोही दिन गभर्नर महाप्रसाद अधिकारीसँग उनले छुट्टै छलफल पनि गरेका थिए ।

त्यसयता पनि पटक–पटक अर्थमन्त्री र गभर्नरकाे भेट भइसकेकाे छ । व्यवसायीहरुले राष्ट्र बैंकसँग जोडिएका धेरै समस्या सरकार समक्ष राख्दै आएका छन् । त्यसैले पनि अर्थमन्त्रीले गभर्नरसँग गहिराे समन्वय गर्नुपर्ने भएकाे हो ।

चुनावअघिका अर्थमन्त्री जनार्दन शर्माकाे गभर्नरसँग राम्राे सम्बन्ध थिएन । अहिले नेपाली कांग्रेसबाट अर्थमन्त्री बनेका महतले गर्भनरलाई हात लिएर अघि बढ्ने संकेत गरेका छन् ।

अहिले बैंकको ब्याजदर, तरलता (लगानीयोग्य रकम अभाव), बैंकको ऋणलगायतका विषय सडकमै छन् । यसलाई अर्थतन्त्र नकारात्मक बन्नुको एउटा कारण पनि मानिएको छ । राष्ट्र बैंक र अर्थ मन्त्रालयको समन्वयमा समस्या समाधान हुने भन्दै समन्वय मजबुत बनाउनुपर्ने सुझाव विज्ञहरुले दिइरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *