प्रचण्ड सरकारका सय दिन : ३४ थान मन्त्री उत्पादन, १७ भए भूतपूर्व – Nepal Press

प्रचण्ड सरकारका सय दिन : ३४ थान मन्त्री उत्पादन, १७ भए भूतपूर्व

क्याबिनेट अझै अपूरो

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सोमबार १०० दिने कामको फेहरिस्त सार्वजनिक गरेको छ । सय दिनमा दुई गठबन्धन बनेको प्रचण्ड सरकारले सरकारका काम सार्वजनिक गर्न कुनै औपचारिक कार्यक्रम गरेन, मिडियालाई ३७ बुँदासहितको सूची पठायो ।

१०० दिनको अवधिमा प्रधानमन्त्रीसहित ३४ जना मन्त्री बन्दा १७ जनाले राजीनामा दिइसकेका छन् ।

एमाले नेतृत्वको सातदलीय गठबन्धनबाट पुस ११ गते प्रधानमन्त्री बनेका प्रचण्डले सुरूमा ८ सदस्यीय मन्त्रिमण्डल बनाएकोमा माघ ३ मा एमाले, रास्वपा र राप्रपाकालाई थप्दै मन्त्रिपरिषद्लाई २३ सदस्यीय पुर्‍याएका थिए ।

कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि प्रचण्डले चैत १७ मा एक राज्यमन्त्रीसहित १७ सदस्यीय क्याबिनेट बनाएका छन् ।

योबीचमा एमाले, रास्वपा, राप्रपा र जनमत गरी चार दल सरकारबाट बाहिरिए ।

एमाले उपाध्यक्ष विष्णु पौडेल ६४ दिन उपप्रधान एवम् अर्थमन्त्री बनेका छन् । पुस ११ मा प्रधानमन्त्रीसँगै शपथ लिएका उनले फागुन १६ गते एमालेले सरकारलाई दिएको समर्थन फिर्तापछि राजीनामा दिए । एमालेबाटै ज्वालाकुमारी साह ६४ दिन मन्त्री बनिन् । पुस ११ मै नियुक्त भएकी उनी २२ दिन विनाविभागीय र पछि कृषि तथा पशुपन्छी विकासमन्त्री भइन् । एमालेकै दामोदर भण्डारी, राजेन्द्रकुमार राई पनि २२ दिन विना विभागीय भएर ४२ दिन मन्त्रालयको जिम्मेवारी सम्हालेर मन्त्रीको सूचीमा नाम लेखाए ।

एमालेकै विमला राई पौड्यालले परराष्ट्रमन्त्रीका रूपमा र भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएर ४२ दिन काम गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा एक राज्यमन्त्रीसहित ४ जना सरकारमा गएका थिए । माघ ३ मा नियुक्त भएका उनीहरूले ४१ दिनपछि मागुन १४ मा राजीनामा दिए । राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, विक्रम पाण्डे शहरी विकास मन्त्री, ध्रुवबहादुर प्रधान कानून र दीपकबहादुर सिंह ऊर्जाराज्यमन्त्री बनेका थिए ।

यता जनमत पार्टीबाट पुस ११ मा मन्त्री बनेका अब्दुल खान ले पनि नयाँ गठबन्धनको मन्त्रिपरिषद् विस्तारकै दिन चैत १७ मा राजीनामा दिए । २२ दिन विनाविभागीय मन्त्री बनेका उनले ७४ दिन खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

एमाले नेतृत्वको गठबन्धनमा रवि लामिछानेको नेतृत्वमा सरकारमा गएको रास्वपाका ४ मन्त्री पनि यो सय दिनकै बीचमा बाहिरिए । उपप्रधानसहित तथा गृहमन्त्रालयमा गएका रवि नागरिकता विवादसम्बन्धी मुद्दामा दोषी ठहरिएसँगै सांसद र मन्त्रीबाट बाहिरिनुपर्‍यो । उनी ३२ दिनमा मन्त्रीबाट बाहिरिएका थिए । पछि सत्ता समीकरण फेरिएपछि रास्वपाका अन्य तीनजनाले राजीनामा बुझाए । सरकारमाथिको समर्थन भने रास्वपाले कायमै राखेको छ ।

रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री, डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री बनेका थिए । माघ ३ गते मन्त्रीमा नियुक्त भएका उनीहरू २० दिन मन्त्री बनेर मन्त्रालयको पूर्वमन्त्रीको सूचीमा अटाएका छन् ।

प्रचण्डले पुस ११ मा नारायणकाजी श्रेष्ठलाई उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नियुक्त गरेका थिए । चैत १७ गते मन्त्रिपरिषद् विस्तार गर्दा श्रेष्ठलाई गृहमा सारिएको छ । अहिले माओवादीबाट शक्ति बस्नेत ऊर्जा, रेखा शर्मा सञ्चार, सुदन किराँती संस्कृतिमन्त्री पर्यटन तथा नागरिक उडड्यनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुशिला श्रीपाईली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका छन् ।

१७ गतेकै मन्त्रिपरिषद् विस्तारबाट कांग्रेसका ४ जना थपिएका छन् । जसमा पुर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, डा. प्रकाशशरण महत अर्थ, सीता गुरुङ शहरी विकास र रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री छन् ।

सत्तारुढ घटक नेकपा एसबाट डा. बेदुराम भुसाल र प्रकाश ज्वाला पहिलोपटक सिंहदरबार छिरेका छन् । भुसाल कृषि र ज्वाला भौतिक पूर्वाधारमन्त्री छन् ।

जसपाबाट अशोक राई शिक्षा, लोसपाबाट शरदसिंह भण्डारी श्रम, नेपाल समाजवादी पार्टीबाट महिन्द्रराय यादव महिला, बालबालिका तथा ज्येष्ठ साथै नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर