सरकारले अर्को न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने, कांग्रेस र माओवादीका चुनावी एजेण्डा प्राथमिकतामा – Nepal Press

सरकारले अर्को न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने, कांग्रेस र माओवादीका चुनावी एजेण्डा प्राथमिकतामा

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।

उनले साना केही सुझावहरू आज बेलुकी ५ बजेसम्म दल र नेताहरूले दिनसक्ने जानकारी दिए ।

उनले भने ‘राजनीतिक दलहरूको बीचमा सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रूपमा सहमति भएको छ, सबै बीचमा । सानातिना सुझावहरु केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मुलभूतरूपमा सहमति भएको छ ।’

महासचिव गुरुङले आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि प्रष्ट्याए ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रमलाई सार्वजनिक गर्नुअघि गठबन्धनका शीर्ष नेताबाट अनुमोदन गराउन बिहीबार बिहान बालुवाटारमा बैठक बसेको थियो ।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको स्रोतको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर