वाणिज्य बैंकहरुमा थुप्रियो दुई खर्ब, नयाँ परियोजनामा छैन ऋणको माग – Nepal Press

वाणिज्य बैंकहरुमा थुप्रियो दुई खर्ब, नयाँ परियोजनामा छैन ऋणको माग

काठमाडौं । लामो समय तरलता (लगानीयोग्य रकम) अभाव झेलेका बैंकहरुसँग अहिले दुई खर्ब रुपैयाँ थुप्रिएको छ ।

बैंकर्स एसोसियसनका अध्यक्ष सुनिल केसीका अनुसार अहिले वाणिज्य बैंकहरुसँग करिब दुई खर्ब लगानीयोग्य रकम छ । अहिले बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८५ प्रतिशत छ । ९० प्रतिशतसम्मको सीडी रेसियोको सीमा रहेका बैंकहरु सोभन्दा तल रहनुलाई सहज मानिन्छ ।

एनएमबी बैंकका सीईओ एवं बैंकर्स संघका अध्यक्ष केसी भन्छन्, ‘वाणिज्य बैंकहरुकोे सीडी रेसियो ८५ प्रतिशत छ । यो भनेको १ खर्ब ७० अर्ब जति रकम लगानी गर्न सक्ने खालको छ भन्ने हो । तर, अब जुन जुन क्षेत्रले सहयोग गर्छ सेलेक्टिभ भएरमात्र लगानी गर्ने पक्षमा छौं ।’

यसअघि बैंकहरुले निर्माण क्षेत्र, साना तथा मझौला उद्योग, पोल्ट्री फार्मलगायतमा गरेको लगानी डिफल्ट हुने अवस्थामा पुगेको बैंकर्सहरु नै स्वीकार्छन् । यसले गर्दा बैंकहरुको खराब कर्जा झनै बढ्नेछ । यद्यपि केही समय डिफल्ट भए पनि ऋण नै नउठ्ने सम्भावना भने नरहेको केसी बताउँछन् ।

उनले भने, ‘बैंकहरुलाई एनपीएलमा दबाब छ । रियलस्टेटमा कित्ताकाट नहुँदा पनि समस्या परेको छ । तर, हामीले लगानी गरेको ऋणको ७० प्रतिशत धितो भएकाले ऋण नोक्सान नै हुने सम्भावना भने छैन । केही समय पर सरे पनि उठ्न चाहिं उठ्छ ।’

नयाँ परियोजनाको लागि ऋण माग्न आउन छाडेपछि अहिले बैंकहरुको लगानी विद्युतीय सवारीसाधन र घरजग्गातर्फ गइरहेको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बैंकमा अहिले नयाँँ परियोजनाबाट ऋणको माग नभएको बताउँछन् । ‘आर्थिक मन्दीका कारण कतिपय नयाँ व्यवसाय सुरु गर्न सकिरहेका छैनन् । कर्जाको ब्याजदर पनि अलि बढी नै छ’, खालिङ भन्छन्, ‘तर, क्रमिक रुपमा कम हुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

घरजग्गातर्फ बैंकहरुको ध्यान

सेलेक्टिभ क्षेत्रमा लगानी गर्छौं भन्ने बैंकहरुको अहिलेको सेलेक्सन रियलस्टेट बनेको छ । विशेषगरी केही बैंकहरुले घर कर्जा, आवास कर्जा, विशिष्ट सहज कर्जाका नामबाट ग्राहकहरुलाई सूचना नै जारी गरेर ऋण लिन बोलाइरहेका छन् । केही समय अघिमात्र एनएमबी बैंकले ११.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने योजना ल्याएको छ । एनएमबीले १५ वर्ष कुनै घटबढ नहुने गरी ११.९९ प्रतिशतमै घर कर्जा दिने जनाएको छ । यसअनुसार १५ वर्षका लागि ऋणीले स्थिर ब्याजदरमा घर कर्जा उपयोग गर्न सक्छन् ।

त्यस्तै मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाअन्र्तगत दुई करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरु कागजात पूरा गरेको तीन दिनमै दिने सूचना जारी गरेको छ । एभरेष्ट बैंकले पनि होमलोनको लागि स्किम ल्याएको छ ।

महालक्ष्मी विकास बैंकले नयाँ वर्षमा घर खरिद तथा निर्माण गर्न आवास कर्जा र उद्यम गर्न व्यवसायिक कर्जा योजना ल्याएको छ । बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यवसायिक कर्जा प्रवाह गर्ने जनाएको छ ।

नेपालमा घरजग्गाको लगानीलाई अनुत्पादक क्षेत्रको रुपमा वर्गीकरण गरिँदै आएको छ । तर, सेलेक्टिभ क्षेत्रमा लगानी गर्ने भनेका बैंकहरुले घरजग्गा नै रोजेका छन् ।

बाहिरी मुलुकमा होमलोनलाई अनुत्पादक नमान्ने गरेको बताउँदै एनएमबी बैंकका सीईओ केसी भन्छन्, ‘होमलोनकै विषयमा अमेरिका गएर हे¥यो भने एउटा इन्डिकेटरको रुपमा हेर्छ । हामीले घरकर्जा दियौं भने यो रियल स्टेट क्षेत्रमा मात्र हो भन्ने बुझ्नुहुँदैन । सिमेन्ट, डण्डी, त्योसँग सम्बन्धित रोजगार वृद्धिमा सहयोग गर्छ भनेरै होम लोन दिन थालेका हौं ।’

बैंकहरुले आगामी वर्ष कर्जाभन्दा बढी निक्षेप परिचालन गर्ने बताएका छन् । हालसम्म २१ वटा वाणिज्य बैंकमा संकलन भएको निक्षेप ४७ खर्ब ८४ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ४२ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको ऋण वाणिज्य बैंकहरुले प्रवाह गरेका छन् ।

समग्र बैंक तथा वित्तीय संस्थाको भने ५४ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । ४८ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *